बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरो पीडितले नयाँ घर पाए

मङ्गलबार, ०८ कात्तिक २०७९, १० : ०५
मङ्गलबार, ०८ कात्तिक २०७९

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ अर्खले गाउँका पहिरो पीडितले  नयाँ घर पाएका छन् । दुई वर्षदेखि विस्थापित यहाँका १८ घरपरिवार कोही आफन्तको सहारा र कोही त्रिपाल मुनि कष्टकर जीवन बिताउँदै आएका थिए ।  

उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण गरिएको  गाउँपालिकाले जनाएको छ ।  गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ तथा बाहुनडाँडामा एक घर निर्माण गरिएको छ ।  ०७७ सालमा अर्खले गाउँमा पहिरो आएपछि सिंगो गाउँ नै विस्थापित भएको थियो। घर नहुँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरू यसपालिको तिहार  नयाँ घरमा मनाउन पाउने भएपछि हर्षित छन् ।

गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ । उक्त रकममध्ये जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख बजेट छुट्याइएको थियो ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप