एक नम्बर प्रदेश राजधानीको सम्भाव्यता
एक नम्बर प्रदेशको राजधानी इटहरीलाई केन्द्र बनाएर गर्दा यस प्रदेशका १४ जिल्लाका जनताका लागि पायक पर्ने विज्ञसमूहको ठहर देखिन्छ । इटहरीलाई केन्द्र बनाउँदा पूर्वमा बेलबारी, उत्तरमा धरान, पश्चिममा इनरुवा, बराह, चतरा क्षेत्र र दक्षिणमा टङ्की, विराटनगर सम्मको पेरिफेरि बुझिन्छ ।
नागरिक समाज इटहरी (२०६२–०६३) का अध्यक्ष कमलेश शर्मा पौडेल नेतृत्वको कार्यसमितिको संयोजनमा आयोजित नागरिक भेलाले इटहरी नगरपालिकाका अध्यक्ष, मेयर द्वारिकलाल चौधरीको संयोजकत्वमा यस क्षेत्रका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरू समेत रहेको राजधानी सरोकार समाज, इटहरी गठन गरेको छ । समितिद्वारा भूगोलविद् उमानाथ रिजालसहित छ जनाले तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा प्रदेशको राजधानी इटहरी रहेको तथ्याङ्कपरक तथा सन्दर्भ सामग्रीसहितको विश्लेषणात्मक निष्कर्ष निकालेको देखिन्छ । तालिका र नक्सासहित आठ पृष्ठमा लिखित प्रस्ताव पत्रमा १० उपशीर्षकको यो अध्ययन प्रतिवेदन सातवटै प्रदेशको राजधानी निरूपणको आधार हुने देखिन्छ ।
अध्ययन प्रतिवेदमा प्रदेशको राजधानी त्यस क्षेत्रका १४ जिल्लाका जनसमुदायलाई सबै हिसाबले पायक पर्ने भन्दै विकास निर्माणका साधनको सहज उपलब्धता, सेवा सुविधाको सहज विस्तार र वितरण गर्न उपयुक्त हुने, आर्थिक सामाजिक, सांस्कृतिक एवं राजनीतिक गतिविधिको सघन अन्तः सम्बन्ध इटहरीमा अत्यन्त सहज हुने हुनाले यही स्थान राजधानीको केन्द्र हुनुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी प्रस्तावमा प्रदेशको राजधानी भौगोलिक एवं पर्यावरणीय दृष्टिले अनुकूल, भविष्यमा राजधानीलाई विकास र विस्तार गर्नका लागि अनुकूल जग्गा जमिनको पर्याप्त उपलब्धता हुनसक्ने, शिक्षा स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवश्यकताहरू समेत भएको वा हुन सक्ने केन्द्रको खास परिधिसम्ममा राजधानी छनोट गर्नु आवश्यक हुन्छ भनिएको छ ।
रा
जधानी छनोटका लागि भूगोल र जनसङ्ख्याको सन्तुलित केन्द्र टुङ्गो लगाउन यो “प्रचलित न्यूनतम योगको यात्रा दूरी”को महत्वपूर्ण बैज्ञानिक विधि प्रयोग गरिएको छ । त्यसका लागि आधारभूत तथ्याङ्क प्रदेशका चौध जिल्लाको जनसङ्ख्या र जिल्ला सदरमुकामसम्म जोडिएका सडक यातायात मार्गको दूरी लिइएको छ, देखिन्छ । प्रदेश नम्बर एकको हकमा हाल प्रदेश राजधानीका लागि प्रस्तावित एवं चर्चित केन्द्रहरू : धनकुटा, धरान, इटहरी एवं विराटनगरसम्म प्रत्येक जिल्ला सदमुकामबाट जोडिएका वा निकट भविष्यमा जोडिने कम दूरीका सडक मार्गको लम्बाइको मापन गरिएको छ । जिल्लाहरूको जनसङ्ख्यालाई गन्तव्य अर्थात् प्रस्तावित राजधानीसम्मको दूरीले गुणन गरी योग निकाले पछि न्यूनतम यात्रा दूरीको योग रहेको प्रस्तावित केन्द्रहरूमध्ये कुन केन्द्र कम यात्रा दूरीको हुन आउछ भन्ने देखाउँछ । प्राविधिक सूत्रका रूपमा m=edij ×pi अर्थात : . m . केन्द्र, dij= आउने जिल्लाबाट पुग्ने केन्द्रको दुरी र pi= आउने जिल्लाको जनसङ्ख्या हो । यो विधिले देखाउने केन्द्र भौगोलिक र तथ्याङ्कीय भाषामा जनसङ्ख्याको median centre भनिन्छ ।
प्रदेशका जिल्लाहरूको जनसङ्ख्या र चर्चित/प्रस्तावित राजधानी केन्द्रसम्मको जिल्ला सदरमुकामबाट हुने सडक सञ्जाल न्यूनतम दूरीका सडक मार्गको दूरीसँग गरिएको गणनाको योग ले के देखाइरहेको छ भने प्रदेशका १४ जिल्लामा बसोबास गरिरहेका सम्पूर्ण जनसङ्ख्याले सडक मार्ग भएर यात्रा गर्दा इटहरीका लागि ४३२६६०००, धरानका लागि ४८४६७९०००, विराटनगरका लागि ४९०४१७००० र धनकुटाको लागि ६२९५६८००० किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।
अतः हालको सडक सञ्जाल र जनसङ्ख्याको वितरणको सन्तुलित केन्द्र अर्थात् आकर्षण केन्द्र प्रस्तावित केन्द्रमध्ये इटहरी उपमहानगरपालिकामा रहेको प्रष्ट हुन्छ । इटहरीबाट पूर्वमा बेलबारी तथा पश्चिममा झुम्कालाई प्रस्तावित केन्द्र मानेर हिसाब गणना गर्ने हो भने पनि इटहरी आउँँदाको न्यूनतम योगको दूरीभन्दा केही तलमाथिको तथ्य आउने सहज अनुमान गर्न सकिन्छ । अतः इटहरीलाई हालकै इटहरी मात्र होइन, बृहत्तर इटहरीको सम्भावित संरचनाको अवधारणासहित लेटाङ, बेलवारी, दुहवी, इनरुवा, रामधुनी, बराह क्षेत्र तथा धरानसम्मको वृत्तक्षेत्रभित्र राजधानी निर्धारण गर्न उपयुक्त देखिन्छ ।
यो गणनाले सबै जिल्लाका जनतालाई पाइक पर्ने स्थानको वास्तविकता स्पष्ट हुने विज्ञसमूहको ठहर देखिन्छ । प्रदेश राजधानी स्थलको ऐतिहासिक राजनीतिक पृष्ठभूमि र सुरक्षा विषयसित जोडेर विज्ञसमूहले इटहरी क्षेत्रको महत्वलाई उजागर गरेको छ । महाभारतकालीन विराट राज्य, हरँैचा, गैसार जस्ता मिथक किंवदन्तीहरूदेखि विजयपुर धनपाल थान कोच प्रदेशको इतिहास जोडिएको यो क्षेत्रमा सेन राज्यअन्तर्गत सुरक्षित स्थान विजयपुर राजधानीको समिप र मध्य भागमा इटहरी रहेको बताउँछ । यसैको सिरानमा वा उत्तरमा हिमालसम्म माझ किराँत वा लिम्बुवान संस्कृति विस्तारित रहेको प्रतिवेदनमा उल्लेख छ ।
पुराना ऐतिहासिक केन्द्र या त भारतीय सीमा नजिक छन् या त साँगुरा पहाडी धरातलमा रहेका साना गाउँ र सहरका अवस्थामा रहेका छन् ।
यसले आधुनिक निर्माण विकासका आवश्यकता एवं आकाङ्क्षालाई धान्न सक्तैन । सहरीकरण र भवन निर्माण ज्यादै खर्चिलो र साँगुरो हुन्छ, पहाड खार्नु वा सम्याउनुपर्ने हुनाले पर्यावरण सन्तुलनमै असर पर्ने हुन्छ । अतः इटहरी क्षेत्रमा विकास विस्तारका असीमित सम्भावनाहरूको उच्चतम उपभोग गर्न सकिन्छ । यहाँ प्राकृतिक प्रकोपजन्य सम्भावित समस्याको पनि न्यूनीकरण गर्न सकिन्छ । अन्तर्राष्ट्रिय सीमाभन्दा टाढा राष्ट्रिय सुरक्षा संयन्त्रहरूको निकट पहँुचको क्षेत्र र बाढी पहिरो जस्ता जोखिम न्यून रहने हुँदा इटहरी क्षेत्र राजधानी छनोटमा पर्नु स्वाभाविक हुने प्रतिवेदनमा उल्लेख गरिएको देखिन्छ ।
पूर्वको १ नं. प्रदेशको राजधानीका लागि प्रस्तावित एवं चर्चित स्थानहरूमा आवश्यक पूर्वाधारहरूको पूर्ण संरचना छैन । भएका पूर्वाधारहरू स्थानीय स्तरको आवश्यकता पूरा गर्न पनि सक्षम छैनन् । त्यसैले प्रस्तावित प्रदेश राजधानीको स्थलमा नयाँ पूर्वाधार संरचना निर्माण गर्नैपर्ने हुन्छ । सडक सञ्जालको राम्रो विकास भएको, आधुनिक संरचनाहरू सेवा सुविधाहरू, सार्वजनिक स्थल, भवन खेलकुदका मैदान स्टेडियम आदिको संरचना कायम भए वा हुने अवस्थाको क्षेत्रमा प्रदेश राजधानी कायम गर्नुपर्ने अवस्थामा महाभारत पर्वत शृङ्खलाको दक्षिणमा रहेका मैदानी फाँटमा अवस्थित इटहरी क्षेत्र नै उपयुक्त हुने अध्ययन प्रतिवेदनको निष्कर्ष देखिन्छ । विषम धरातलीय क्षेत्रमा प्रदेश राजधानी चयन गर्दा प्राकृतिक र पर्यावरणीय असन्तुलन उत्पन्न गराउँछ । प्रकृति मैत्री विकासका संरचना निर्माण गरेर राजधानी सहरको व्यवस्था गर्न पहाडमा भन्दा समदूरीको तराईका फाँटको इटहरी क्षेत्र उपयुक्त हुने देखिन्छ ।
राजधानी भनेको केवल राजनीतिक एवं प्रशासनिक गतिविधिको केन्द्र मात्र नभएर आर्थिक सामाजिक कृयाकलापहरू जोडिँदै सघन रूपमा विकास र विस्तार हुँदै जाने हुँदा तदनुकूलको स्थान छनौट गर्नु बुद्धिमानी हुन्छ । सडक यातायातको सुविधाले गर्दा पूर्वी पहाडतर्फ मात्र छैन, काठमाडौँ तथा पश्चिम तर्फका अन्य जिल्लाहरूमा पनि व्यापारिक सामानको सहज आपूर्ति इटहरीबाट हुन्छ ।
क्षेत्रीय व्यापारको प्रतिस्पर्धामा नेतृत्वको तीव्र विकासले इटहरी क्षेत्रका लागि असीम सम्भावना देखाउँछ । औद्योगिक विकास, व्यावसायिक सेवा सुविधा, कृषिको आधुनिकीकरणमा पनि पूर्वी तराई अब्बल रही आएको छ । मोरङ सुनसरी औद्योगिक करिडोर विकसित र आधुनिक सडक सञ्जालको विकासमा पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण कोशी राजमार्गको स्तर उन्नतिले ठूलो योगदान पुर्याउने छ । उत्तर–दक्षिण शाखा मार्ग समानान्तर विकासमा छन् । बैङ्क तथा वित्तीय संस्थाहरूको सघन विकास भएको यो क्षेत्रमा व्यावसायिक आधुनिकीकरणमा तीव्रता आइरहेको छ । अरुण करिडोर मार्फत् किमाथांका नाकाबाट सडक यातायत खुलेको अवस्थामा चीन–नेपाल–भारत तथा बङ्गलादेशसम्मको अन्तर्राष्ट्रिय व्यापारिक ट्रान्जिटको रूपमा सुनसरी मोरङको उत्तरी समथर क्षेत्र विकसित हुने प्रवल सम्भावना देखिएको छ । यस्तो क्षेत्रले नै प्रदेशको प्रशासनिक र राजनीतिक केन्द्र र राजधानीलाई आकर्षण गर्ने कुरा अध्ययनमा उल्लेख गरिएको छ ।
विराटनगर, धरान तथा धनकुटा धेरैअघिदेखि पूर्वका शैक्षिक केन्द्रका रूपमा रहेका भए पनि हाल आएर इटहरी र सुन्दरहरैचा (सुकुना– गछिया)ले पनि शैक्षिक केन्द्रको स्वरूप ग्रहण गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय यसै क्षेत्रमा अवस्थित छ । सांस्कृतिक विविधता पनि यो क्षेत्रमा व्यापक छ । वराह क्षेत्र, चतरा, रामधुनी, पिण्डश्वर, राजारानी, बुढासुब्बा जस्ता पवित्र एवं प्रसिद्ध तीर्थस्थलहरूले धार्मिक पर्यटनलाई समेत उजागर गरिरहेका छन् ।
थारु, धिमाल, राजवंशी, सन्थाल जस्ता जनजातिका परम्परागत धार्मिक थान (स्थान) मेला पर्वहरूको पनि आफ्नै सांस्कृतिक महत्व छ । कोशीटप्पु वन्यजन्तु आरक्ष, बर्जुताल, ताल तदैया, हसिना, बेतौना, राजारानी जस्ता सीमसार क्षेत्रहरू समशीतोष्ण हावापानीको महाभारत पर्वत शृङ्खलामा अवस्थित भेडेटार, साँगुरी गडी, उदाउँदो सूर्य हेर्ने धजे, जेफाले मिक्लाजुङ जस्ता पर्यटकीय स्थल भ्रमणका लागि पनि यातायातको राम्रो व्यवस्था भएकाले राजधानीको अवस्थितिलाई आकर्षण गर्छ । चारकोसे झाडीमा जङ्गल सफारी, क्षेत्रीय रङ्गशाला, प्रशस्त होटल व्यवसाय आदिले थप पर्यटकीय एवं मनोरञ्जन केन्द्रको महत्व दर्शाउँछन् । प्रादेशिक राजधानीको अवस्थित बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक विविधताले सम्पन्न क्षेत्रमा निर्धारण गरियो भने सबै खाले सांस्कृतिक समुदायहरू बीच अन्तर सम्बन्ध अन्तरनिर्भरताको प्रकृया अघि बढ्ने छ, यसले राष्ट्रिय सांस्कृतिक एकीकरणको प्रकृयामा गति दिनेछ ।
वृहत्तर मेधासिटीको सम्भावना पनि काठमाडाँै पछि पूर्वी तराईको इटहरीमा देखिन्छ । इटहरीलाई केन्द्रविन्दु राखेर हाललाई बीस किलो मिटरको दूरी परिधिमा पूर्व–पश्चिम, उत्तर दक्षिण–बेलबारी, दुहवी, इनरुवा, रामधुनी, वराह र धरानसम्मको वृत्तमा वृहत्तर मेघासिटीको आकाङ्क्षा, परिकल्पना र आवश्यकतालाई आगामी १०–२० वर्षसम्ममा साकार पार्ने सकिने प्रबल सम्भावना देखिन्छ । इटहरी केन्द्रित वृहत् महानगर एउटा सपना वा परिकल्पना मात्र नभएर १५, २० वर्षदेखिको आर्थिक, सामाजिक र सहरी विकासको गतिशीलताले भविष्यको सम्भावना प्रक्षेपण गरिरहेछ । यो पूर्व क्षेत्रकै ज्ञान सभ्यता र समृद्धिको प्रतीक बन्ने छ । इटहरी क्षेत्रमा हिमाल, पहाड र तराई मधेसका जनसमुदाय बीच गहिरो अन्तरसम्बन्ध र निर्भरता अन्यत्र भन्दा बेग्लै क्षेत्रीय वा प्रादेशिक विशेषताका रूपमा विकसित भएका छन् ।
पहाडबाट बसाइँ सराइको गन्तव्य पनि पूर्वी तराईका जिल्लामा नै रहेको छ । यस्तो अन्तर सम्बन्धको मुख्य कडी विगतमा विराटनगर धरान, भद्रपुर जस्ता केन्द्र थिए भने हालको विकास क्रमले इटहरी दमक र विर्तामोड जस्ता उदीयमान सहरहरू प्रमुख कडी बनेका छन् । राजनीति र विकास आन्दोलनका गतिविधि पनि त्यस्तै केन्द्रहरू मार्फत् दूरदराजसम्म प्रसारित हुन्छन् । यस्तो केन्द्र मध्ये सबैलाई पायक पर्ने क्षेत्रमा–इटहरी केन्द्रित क्षेत्रमा प्रादेशिक राजधानीको ठहर उपयुक्त हुने विज्ञसमूहको राय रहेको छ । पहाडमा साँगुरा नदीबँेसी र उपत्यका छन् । त्यहाँ बृहत् सहरीकरणका लागि स्थान अभाव हुन्छ । हाल जनस्तरमा प्रस्तावित र चर्चामा रहेको केन्द्र धनकुटामा विस्तार गर्ने स्थानको अभाव र न्यूनतम यात्रादूरी योगको गणनामा समेत धनकुटा पछिपरेको देखिन्छ । त्यहाँ पानीको आपूर्तिको पनि ठूलो समस्या छ । धरानमा पनि विस्तार गर्नका लागि उपयुक्त जमिनको अभावका साथै पानीको आपूर्तिमा समस्या रहेको छ । विराटनगर भारतीय सीमासँग जोडिएको केन्द्र भएकाले खुला सीमाका कारण असुरक्षाको सम्भावना हुनका साथै न्यूनतम यात्रा दूरीको योग गणनाले प्रादेशिक राजधानी तोक्न उपयुक्त देखिँदैन ।
(राजधानी सरोकार समाज, इटहरीले विज्ञहरूको सहयोगमा तयार पारेको अध्ययन प्रतिवेदनको सारसङ्क्षेप हो । यसमा उमानाथ रिजाल, केशव दाहाल, डम्बर खतिवडा, मोहन तिमसिना, दिलकुमार बन, रामप्रसाद चौलागाईंलगायत हुनुहुन्छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले भन्यो– हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो
-
कृषि विकास रणनीति परिमार्जनबारे छलफल, किसानमैत्री रणनीति हुनुपर्नेमा जोड
-
सरकार जनताप्रति जिम्मेवार छ : प्रधानमन्त्री
-
निजगढ विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब खर्च
-
कर्णाली डेभलपमेन्ट बैंकले निम्त्याएको प्रश्न– नेपालका बैंक तथा वित्तीय संस्थाको रिपोर्टिङ सही छ ?
-
अवैध उत्खननको आरोपमा खानी मुद्दा खेप्दै पाल्पा सिमेन्ट