सबैभन्दा राम्रो गठबन्धन हाम्रै हो : बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन् । सोमवार गठबन्धनले आयोजना गरेको वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।
उनले गठबन्धनको मुख्य एजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरुलाई स्वरोजगार प्रदान गर्नु रहेको बताए । उनले गठबन्धनले देशमा छिटो विकास र समृद्धिको चाहनालाई पूरा गर्ने प्रतिवद्धतासमेत जनाए । अध्यक्ष भट्टराईले नेपालको सन्दर्भमा नेपालले आफ्नै मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै बजार र राज्यको सन्तुलित भूमिका भएको मिश्रित प्रकारको विकासको मोडेल आवश्यक रहेको बताए ।
उनले भने, ‘हाम्रो प्रतिवद्धता भनेको संस्थाहरुलाई बलियो बनाएर देशमा सुशासन प्रदान गर्ने हो । भ्रष्टाचार अन्त्य गर्ने हो । सबैभन्दा ठूलो कुरा अहिलेका युवाहरूमा बेरोजगारी छ, विदेश पलायनका जुन समस्या छन्, छिटो विकास र समृद्धिको जुन हाम्रो चाहना छ । त्यसको निम्ति पनि गठबन्धन दलको बीचमा विकासको नीति सम्बन्धी मोटामोटी समझदारी भएन भने काम गर्न सकिँदैन । त्यसैले यो गठबन्धनले नेपालको सन्दर्भमा हामीले आफ्नै मौलिक विकासको मोडेल विकास गर्नुपर्छ । न त उदारवादी लोकतन्त्रको ढंगले अघि जानसक्छौँ, न हिजोको जस्तो एउटा प्रणालीले अपनाए जस्तो सबै राज्यले मात्रै नियन्त्रण गर्ने अर्थतन्त्रको पक्षमा जानसक्छौँ । बजार र राज्यको सन्तुलित भुमिका भएको मिश्रित प्रकारको विकासको मोडेल हाम्रो देशको आवश्यक्ता हो ।’
उनले वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएको पनि दाबी गरे । उनले अहिलेको गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भन्ने गरेको भन्दै अहिलेको गठबन्धन नै सबैभन्दा पवित्र गठबन्धन भएको दाबी गरे ।
उनले भने, ‘वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएका छौँ । कतिपयले भन्ने गर्छन्, यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो । विचार विहीन ढंगले राजावादी, पृथकतावादी, आफूलाई वामपन्थी भनेर चर उग्रवादको नारा दिएर राष्ट्रिय समाजवादको फासीवादीको प्रवद्र्धन गर्ने शक्तिहरु त्यो गठबन्धन अपवित्र गठबन्धन हो ।’
अध्यक्ष भट्टराईले विगतका तीता मीठा कुरा बिर्सिएर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए । उनले देशको विकासका लागि भविष्यमुखी बनेर काम गर्न आवश्यक रहेको जिकिर गरे । उनले लोकतन्त्र भनेको भद्रगोल हुँदै, अस्तव्यस्त हुँदै अघि बढ्ने प्रक्रिया रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी