शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘रियल रिफ्रेसर’ हुन् कुकुर, जसले तपाईंलाई तुरुन्तै खुसी दिन सक्छन्

आइतबार, २६ कात्तिक २०८०, ०९ : ००
आइतबार, २६ कात्तिक २०८०

कुुकुर किन पाल्ने ? जवाफ विभिन्न आउन सक्छन्– कुकुर पाल्नु मेरो सोख हो, घरको सुरक्षाका लागि पालेको हुँ । कुकुर पाल्नु ‘कल्चर’ र ‘प्यासन’ हो । कतिले कुकुर पाल्नुलाई फेसनको रूपमा पनि लिएका छन् । फेसन निश्चित समयका लागि आउँछ र जान्छ । तर, कुकुर पौराणिक कालदेखि मानिसको मित्र रहेको छ । 

माउन्ट एभरेस्ट केनल क्लबका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरेश शाह भने कुकुर मानिसका लागि ‘रियल रिफ्रेसर’ (साँचो अर्थमा मस्तिष्कलाई ताजा बनाउने) भएको बताउँछन् । ‘धेरैको भनाइ रहन्छ– सेक्युरिटी र सोखका लागि कुकुर पाल्ने हो । यति मात्र होइन, कुकुरबाट मानिसले तुरुन्तै ‘रिफ्रेसमेन्ट’ (पुनर्ताजगी) प्राप्त गर्न सक्छन्,’ शाह भन्छन्, ‘साँझमा आफ्नो घरको कुकुरसँग खेल्ने व्यक्तिको दिनभरिको थकान हट्छ, ऊ रिफ्रेस हुन्छ । जुन रिफ्रेसमेन्ट संसारभरिका थुप्रै कुराले ल्याउन सक्दैन । एकपटक कोकले विज्ञापन ल्याएको थियो– रियल रिफ्रेसर भनेर । पेट्सचाहिँ रियल रिफ्रेसर हुन् ।’

समाजको विकास भएसँगै ऊर्जा प्राप्तिकै लागि कुकुर पाल्ने संस्कृति विस्तार भएको उनी बताउँछन् । घरपालुवा जनावरमध्ये कुकुर नै किन चर्चित छ त ? शाह भन्छन्, ‘अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने, मानिसले अजिङ्गर लगायत विभिन्न जीव पाल्न थालिसकेका छन् । तर, ती कुकुर जति चर्चित किन छैनन् भने, उनीहरूबाट कुकुरको जति ‘टु वे कम्युनिकेसन’ (दोहोरो संवाद) र ‘इमोसनल अट्याचमेन्ट’ (भावनात्मक लगाव) को अपेक्षा गर्न सकिँदैन ।’ 

उनका अनुसार, कुकुरसँग खेल्दा क्षणिक आनन्द मिल्छ, जो स्थायी त होइन, यद्यपि केही बेर खुसी र सुखी हुन चाहनेका लागि यो धेरै हो । यही महत्त्व बुझेर हाम्रा पितापुर्खाले कुकुर तिहारको परम्परा चलाएको हुन सक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘कुकुर महाभारत कालदेखि मानिसको मित्र भएकाले र यमराजको द्वारपाल कुकुर हो भनेर पनि यमपञ्चकमा कुकुरलाई पुज्ने गरिएको हो ।’ 

नेपालमा कुकुर बजार

नेपालको बजारमा धेरै (ब्रिड) प्रजातिका कुकुर पाइन्छन्– बक्सर, ककर स्पाइनल, पग, रिट्रिभर, ल्हासा एप्सो, जर्मन सेफर्ड, जापानिज स्पित्ज, ल्याब्रडोर, गोल्डेल रेट्रिभर (ड्रागी) आदि । बक्सरको बजार मूल्य २० देखि ३० हजार रुपैयाँ छ । यस्तै, ककर स्पाइनलको १६–२० हजार रुपैयाँ, पगको १८–२२ हजार रुपैयाँ, ल्याब्रडोरको १८–२५ हजार रुपैयाँ र ल्हासा एप्सोको १५–२५ हजार रुपैयाँसम्म पर्छ । ‘ब्रिड क्वालिटीअनुसारको मूल्य हुन्छ,’ शाह भन्छन्, ‘प्योर ब्रिडभित्र पनि कुकुरको क्वालिटी हुन्छ ।’

दुर्लभ प्रजाति

शाहका अनुसार, कुकुरको केही प्रजाति ‘रेयर ब्रिड’ (दुर्लभ प्रजाति)मा पर्छन्, सोही अनुसार मूल्य तोकिएका छन् । फ्रेन्च बुलडग, जसको बजार मूल्य ४५–७५ हजार रुपैयाँ पर्छ । यस्तै, हस्की दुई प्रकारका छन्– नीला आँखा हुने र साधारण आँखा हुने । (बजार मूल्य ४०–४५ हजार रुपैयाँ) । नीला आँखा हुने हस्की महँगो कुकुरमा पर्छ, जसको बजार मूल्य ५५–८० हजार रुपैयाँ छ । साधारण आँखा हुने हस्कीलाई ४०–४५ हजार रुपैयाँमा किन्न सकिन्छ ।

यीसँगै रटवेलर (बजार मूल्यः  ४०–५० हजार रुपैयाँ), सेन्ट बर्नार्ड (बजार मूल्य : ४०–७० हजार रुपैयाँ), ग्रेट डेन प्रजातिका कुकुर ‘रेयर ब्रिड’मा पर्छन् । पछिल्लो समय सानो शरीरको सिजो (बजार मूल्य ४५–५० हजार रुपैयाँ) निकै प्रचलित भइरहेको छ । सानो प्रजातिमा पोमेरेनियन (बजार मूल्य : ५०–५५ हजार रुपैयाँ), चिहुआहुवा (बजार मूल्य : ४०–४५ हजार रुपैयाँ) पर्छन् भने फ्रेन्च बुलडग, पग आदि मध्यम आकारमा पर्छन् । ठूलो शरीरको कुकुरमा ग्रेट डेनको बजार मूल्य : ५०–७५ हजार रुपैयाँ छ । 

कस्तो कुकुर पाल्ने ?

नेपालमा परिवारका सदस्यमध्ये कसैलाई मनपरेको कुकुर, अरुको घरमा देखेको कुकुर, फिल्म वा टिभीमा देखेको कुकुरको प्रजाति पाल्ने प्रचलन पनि देखिन्छ । शाह भने कुकुर पाल्नुअघि उसको लिभिङ स्टाइल, प्रजाति, वासस्थानमा ध्यान दिनुपर्ने बताउँछन् । ‘कुकुर पाल्नु भनेको आगामी १०–१२ वर्षका लागि परिवारमा नयाँ सदस्य थप्नु हो । यस्तो सदस्य, जसलाई हामी हाम्रो बेडरुमसम्म एक्सेस दिन्छौँ,’ शाह भन्छन्, ‘त्यसैले कुकुर किन्दा सानो वा ठूलो प्रजातिमा पहिले नै स्पष्ट हुनुपर्छ । पछि कुकुर हुर्केर ठूलो हुँदा उसलाई घरको कम्पाउन्ड लगायत स्पेस सानो हुन सक्छ, किनभने उसलाई खेल्नका लागि फराकिलो ठाउँ चाहिरहेको हुन्छ ।’  

शाहका अनुसार, कुकुर किन्नुअघि ठूलो, सानो र मझौला प्रजातिमा पनि स्पष्ट हुनुपर्छ । त्यस्तै, जसले कुकुर पाल्ने हो, उसले आफ्नो जीवनशैली हेरेर कुकुर किन्नुपर्ने हुन्छ । ‘यदि तपाईंंको घरका सबै सदस्य कामका लागि बाहिर निस्कनुपर्छ । कुकुरलाई कसैले समय दिन सक्नुहुन्न भने तपाईंले कुकुर नपाल्नु नै बेस हुन्छ,’ उनी भन्छन्, ‘कुकुरलाई पनि बच्चालाई जत्तिकै हेरविचार आवश्यक हुन्छ । सुरुको दुई वर्ष तपाईंले आफ्नो बच्चालाई कति केयर गर्नुहुन्छ, त्यही केयर कुकुरलाई गर्नुपर्छ । त्यसपछि अलिकति कम समय दिए पनि ऊप्रतिको माया घटाउनुहुँदैन । कुकुरको बच्चालाई लिएर तपाईं कतै जाँदै हुनुहुन्छ भने आफ्नो नयाँ जिम्मेवारी थपिएको सम्झनुपर्छ । यस्तो गर्नु भएन भने त्यो कुकुरले तपाईंका लागि स्नेहपूर्वक पुच्छर हल्लाउँदैन । यसका लागि तपाईंले उसलाई माया र हेरचाह गर्नैपर्छ ।’

कुकुर खुला किताब र काँचो माटोजस्तो भएको शाह बताउँछन् । कुकुरलाई जस्तो बनाउन चाह्यो, त्यस्तै बनाउन सकिन्छ, त्यसका लागि हेरचाह आवश्यक हुन्छ ।  

कुकुरको व्यापार बढ्दो 

कुकुरपालकले कुकुरबाट अन्ततः पाउने भनेकै खुसी र सुख हो । त्यसैले कुकुर अहिले सबै वर्गका मानिसको रोजाइ बनेको छ । पछिल्लो समय नेपालमा निम्न मध्यमवर्गदेखि मध्यम र उच्च वर्गले कुकुर पाल्न थालेको शाह बताउँछन् । नेपालमा सबैभन्दा पहिले कुकुरको व्यवसाय आफूले थालेको दाबी गर्ने शाह भन्छन्, ‘२५ वर्षअघि र आजको दिनसम्म आइपुग्दा प्रतिवर्ष लगभग २०–३० प्रतिशतको दरले कुकुरको व्यापार बढिरहेको छ । यसैबाट पुष्टि हुन्छ, नेपालमा सबै वर्गले कुकुर पाल्नुहुन्छ भन्ने ।’ 

अहिले कुकुरका बारेमा एउटा नारा प्रचलित छ– ‘डन्ट ब्रिड द डग, एडप्ट द डग’ । अर्थात्, कुकुरको प्रजाति नहेर, संरक्षण गर । यो नारा यतिखेर संसारभरि चलिरहेको छ । ‘यसमा दुईवटा कुरा छन् । पहिलो, ब्रिडले के दिन्छ र ननब्रिड डगले के दिन्छ भनेर छुट्ट्याउनुपर्छ,’ शाह भन्छन्, ‘ननब्रिड कुकुर हुर्किसकेपछि हामीले सोचेजस्तो नहुन पनि सक्छ ।’

ब्रिड नै पालेर होस्, पहिले कुकुरलाई माया गर्ने जमात तयार गर्नुपर्ने उनी बताउँछन् । अहिले ‘कुकुरलाई ब्रिड नगर्नुहोस्, अन्य कुकुर पाल्नुहोस्’ भन्ने धेरैले पहिले ब्रिड कुकुर पालेरै सबै कुकुरलाई माया गर्न सिकेको उनको भनाइ छ । 

उनका अनुसार, नेपालमा कुकुर पाल्ने धेरै अवस्थाका मानिस छन् । एउटा यस्तो जमात पनि छ, जसका छोराछोरी विदेशमा बस्छन्, घरमा साथीका लागि उनीहरुले कुकुर पालिरहेका छन् । कति छोराछोरीले विदेशबाटै नेपालका केनल क्लबसँग सम्पर्क गरेर आमाबुबाका लागि कुकुर उपहारसमेत दिने गर्छन् । 

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप