शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर–२ : विरोध खतिवडासामु आफैले बनाएको एमालेको गढ भत्काउनुपर्ने चुनौती

एमालेको विरासत जोगाउन जित्नैपर्ने दबाबमा बर्तौला
सोमबार, ०७ कात्तिक २०७९, १२ : ०३
सोमबार, ०७ कात्तिक २०७९

प्रतिनिधिसभा अन्तर्गत मकवानपुरको २ वटा चुनावी क्षेत्रमा ‘ब्याक टु ब्याक’ जित्दै आएको एमालेले सिङ्गो मकवानपुरलाई आफ्नो गढ मान्ने गरेको छ । त्यसमाथि पनि मकवानपुर–२ मा आफ्नो बढी प्रभाव रहेको एमाले नेता–कार्यकर्ता बताउँछन् । हुन पनि यो क्षेत्रमा २०४८ पछिका हरेक चुनावमा एमाले अजेय रहँदै आएको छ ।

सो क्षेत्रमा एमालेलाई स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता हुन् विरोध खतिवडा । खतिवडाले सो क्षेत्रबाट एमालेलाई ४ पटकसम्म चुनाव जिताइसकेका छन् । चुनावी खेलाडीका चिनिने खतिवडासामु आगामी निर्वाचन भने पहिलेजस्तो सहज छैन ।

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य रहेका खतिवडासँग अहिले बलियो दल छैन । कमजोर संगठन भएको दलबाट उनी उम्मेदवार बनेका छन् । यद्यपि उनलाई सत्ता गठबन्धनको साथ छ ।

पूर्व सहकर्मीसँगको लडाइँ खतिवडाका लागि अर्को मुख्य चुनौती हो । वर्षौं आफ्नो मेहनत र योगदानले बलियो तुल्याएको पार्टीविरुद्ध नै अहिले जित निकाल्नु उनका लागि चुनौतीपूर्ण मानिएको छ । सो क्षेत्रमा एमालेबाट महेश बर्तौला उम्मेदवार छन् । एमाले बागमती प्रदेश कमिटीको उपसचिव रहेका बर्तौलाको संसदीय निर्वाचनमा पहिलो प्रतिस्पर्धा हो ।

यस्तो छ विगतको इतिहास

मकवानपुर–२ का आधिकांश क्षेत्र ग्रामीण भेगमा पर्दछ । तामाङ समुदायको बाहुल्यता रहेको यो क्षेत्रले रुपचन्द्र विष्ट ‘रुदाने’ को इतिहास बोकेको छ ।

‘थाहा’ अभियानका प्रणेता रुदाने (अर्थात् रुपचन्द्र–दामन–नेपाल) ले सोही निर्वाचन क्षेत्र अन्तर्गत पर्ने थाहा नगरपालिकामा राजनीति गर्थे । जनमुखी नेताका रुपमा परिचित रुपचन्द्रले २०२९÷०३० सालतिरबाट दामन क्षेत्रमा थाहा आन्दोलन सुरु गरेका थिए । रुपचन्द्रले छोडेको छापकै कारण हालसम्म पनि सो क्षेत्रमा कम्युनिस्टको राम्रो पकड कायम भएको हो ।

२०४८ को आमनिर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आमनिर्वाचनमा जिल्लामा ३ वटा निर्वाचन क्षेत्र थिए । जसमध्ये साविकका २ र ३ नम्बर क्षेत्र मिलाएर हालको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बनाइएको हो ।

संघीय निर्वाचनमा मकवानापुर–२ मा गैरकम्युनिस्ट उम्मेदवारले अहिलेसम्म जितेका छैनन् । यस क्षेत्रमा अहिलेसम्म एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूले मात्रै जितेको इतिहास छ ।

२०४८ को आम निर्वाचनमा सो क्षेत्र अन्तर्गत पर्ने मकवानपुर–२ मा कांग्रेसका उम्मेदवारलाई हराउँदै एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडाले चुनाव जितेका थिए भने मकवानपुर–३ मा एमालेबाटै हिरण्यलाल श्रेष्ठ विजयी भएका थिए ।

२०५१ मा भएको मध्यावधि निर्वाचनमा मकवानपुर–२ मा खतिवडा र मकवानपुर–३ मा श्रेष्ठ नै विजयी भए । २०५६ को आम निर्वाचनमा मकवानपुर–२ मा पुनः खतिवडा विजयी भए भने मकवानपुर–३ मा विरबहादुर लामा निर्वाचित भएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा भने जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भए । सो निर्वाचनमा मकवानपुरमा चार निर्वाचन क्षेत्र कायम गरिएको थियो । तत्कालीन २ र ४ नम्बर क्षेत्र हालको मकवानपुर–२ भित्र पर्दछ । २०६४ मा २ नम्बर क्षेत्रबाट प्रेमबहादुर पुलामी र ४ नम्बर क्षेत्रबाट कुमारी मोक्तान विजयी भएका थिए । २०७० को निर्वाचनमा मकवानपुर–२ बाट एमालेका सुभाषचन्द्र ठकुरी र मकवानपुर–४ बाट एमालेका राजाराम स्याङ्तान निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचनमा मकवानपुरमा २ क्षेत्र कायम भए । जसमध्ये मकवानपुर–२ मा एमालेबाट विरोध खतिवडा पुनः विजयी भए । २०७४ को निर्वाचनमा खतिवडाले कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’लाई ११ हजार ९ सय ६३ मतान्तरले पराजित गरेका थिए । खतिवडाले ४४ हजार ७ सय ४४ मत प्राप्त गर्दा डिनाको पोल्टामा ३२ हजार ६ सय ८१ मत परेको थियो ।

आफैले बनाएको एमालेको गढ भत्काउनुपर्ने चुनौती

उम्मेदवारी दिएका हरेक निर्वाचनमा अजेय रहँदै आएका विरोध खतिवडा यस पटक तुलनात्मक रुपमा कमजोर दलबाट उम्मेदवार बनेका छन् । उनको पार्टीको संगठित मत ५ हजार पनि नरहेको अवस्थामा सत्ता गठबन्धनका दलहरुको सहायताबाट खतिवडा पाँचौं जितको खोजीमा छन् ।

सो क्षेत्रबाट ४ पटक एमालेलाई जिताएका खतिवडासामु आफैले खडा गरेको एमालेको विरासत ढाल्नुपर्ने चुनौती छ । पार्टी विभाजनपछि पनि सो क्षेत्रमा एमालेको शक्ति त्यति कमजोर छैन ।

एमालेबाट उम्मेदवार बनेका बर्तौला नेकपा एकीकृत समाजवादीका खतिवडाको शिष्य मानिन्छन् । बर्तौलाको राजनीतिक जीवन खतिवडाकै छत्रछायाँमा विकास भएको हो ।

मकवानपुर–१ का मतदाता रहेका खतिवडा र मकवानपुर–२ का बर्तौला एक आपसका सहयोगी पनि थिए । विगतमा विद्यार्थी राजनीतिमा खतिवडाले बर्तौलालाई सघाउँथे भने आम निर्वाचनमा बर्तौलाले खतिवडालाई सघाउँथे ।

विरासत जोगाउन जित्नै पर्ने दबाबमा बर्तौला

उता एमालेका उम्मेदवार बर्तौला पनि जित्नैपर्ने दबाबमा छन् । बर्तौैलामाथि एमालेको विरासत जोगाउनुपर्ने चुनौती छ । २०४८ पछिका निर्वाचनमा सो क्षेत्रमा एमालेले एक पटकमात्र हार व्यहोरेको छ । २०६४ मा जिल्लाका सबै क्षेत्रमा माओवादी केन्द्रले जित्दा सो क्षेत्रमा पनि एमालेका उम्मेदवार पराजित भए ।

आफ्नो राजनीतिक गुरुविरुद्ध चुनाव लड्न मैदानमा होमिएका उनलाई एमाले कार्यकर्ता, युवा र विद्यार्थीहरुको मत आउने अपेक्षा गरिएको छ । त्यसैलाई नै उनले आफ्नो चुनाव जित्ने आधार मानेका छन् ।

कांग्रेस र माओवादीभित्रको रुष्ट मत खतिवडालाई नखस्ने र सो मत ‘होल्ड’ हुँदा आफूले सहज रुपमा जित्ने उनको हिसाब छ । आफू चुनावमा परीक्षण नभएको उम्मेदवार रहेको र सो क्षेत्रको स्थानीयवासी पनि भएकाले केही सहानुभूति मत प्राप्त हुने उनको अनुमान छ ।

बदलिदो अंकगणित

विगतमा मकवानपुर–२ मा सबैभन्दा ठूलो शक्तिको रुपमा एमाले, कांग्रेस र माओवादी केन्द्र रहेकोमा हाल सो अवस्थामा परिवर्तन आएको छ । पार्टी विभाजनपछि यो क्षेत्रमा एमालेको जनाधार केही कमजोर भएको छ भने कांग्रेसको जनाधार बढेको छ । माओवादी केन्द्रको भने सुधारोन्मुख देखिन्छ ।

मकवानपुर–२ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका ४ वटा वडा (१, ३, ११ र १९), मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडाहरु (५, ६, ७ र ८), मनहरी गाउँपालिकाका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिका पर्दछन् ।

२०७४ को निर्वाचनमा सो क्षेत्रको अधिकांश पालिकामा एमालेले नेतृत्व लिएको थियो । सो समयमा मनहरी, कैलाश, इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी र हेटौंडा एमालेको आधार इलाकाको रुपमा थियो । २०७४ माओवादी केन्द्रको थाहा नगरपालिका र कांग्रेसको राक्सिराङ गाउँपालिका राम्रो जनमत थियो ।

हाल सो जनमतमा निकै फेरबदल आएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा सबैभन्दा ठुलो शक्ति कांग्रेस बनेको छ भने एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी चौथो स्थानमा छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम अनुसार स्थानीय मकवानपुर–२ मा पर्ने मनहरी, राक्सिराङ, कैलाश, मकवानपुरगढी गाउँपालिकाको प्रमुखमा कांग्रेसले जितेको छ भने एमालेले भीमफेदी र इन्द्रसरोवरमा जितेको छ ।

माओवादी केन्द्रले थाहा नगरपालिका र एकीकृत समाजवादीले हेटौंडा उपमहानपालिकामा नेतृत्व लिएको छ ।

सो क्षेत्रको कुल ६२ वडामध्ये गत स्थानीय निर्वाचनबाट १९ वटा वडाको नेतृत्व एमालेले लिएको छ । अन्य ४३ वटा वडाका अध्यक्ष सत्ता गठबन्धनका दलहरुले लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप