गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला
फूल खेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी रु तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् । वडा अध्यक्ष रवीन्द्र सापकोटाले तिहारअघि मात्रै रु तीन करोड बराबरको माला बिक्री भइसकेको जानकारी दिए ।
गतवर्ष मात्रै तीन हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यसवर्ष भने पाँच हजार माला बिक्री गर्ने बताइन् । नगरकोटीले एक रोपनीमा फूल खेती गरिरहेकी छन् । किसानले माला प्रतिगोटा रु २५ देखि ३५ मा बिक्री गर्छन् । अर्का किसान पवित्रा बस्नेतले यसवर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन् । एक रोपनी जग्गामा फूलखेती गरिरहेकी उनी यसवर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छिन् ।
गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भटमाससँगै मखमली फूलको रोप्दै आएका छन् । “मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो साताबाट टिप्न शुरु हुन्छ”, किसान मेनुका नगरकोटीले भनिन् ।
स्थानीय बासिन्दाले मात्रै नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरु पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ । सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत् यहाँका फूलखेती गर्ने किसानलाई यसवर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका बासिन्दा आकर्षित भएका हुन् ।
चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई पनि माला गाँस्न र बजारमा लैजान भ्याइनभ्याइ छ । फूल खेतीको पुर्ख्यौली पेशा अंगालेका किसान श्याम बनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ भइरहेको बताए ।
विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी स्थानीय शोभा बालाले यहाँ दुई आना जग्गामा फूल खेती गर्नेले पनि एउटा मौसममा ३० हजार कमाउने गरेको बताइन् । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या