सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भः लक्ष्मी जयन्ती

के देवकोटा साँच्चै नास्तिक थिए त ?

सोमबार, ०७ कात्तिक २०७९, १० : ३७
सोमबार, ०७ कात्तिक २०७९

महाकवि लक्ष्मीप्रसाद देवकोटाका लेखरचनाहरु तात्कालीन समाजमा चलिआएका परम्परालाई चुनौती दिने खालका थिए । उनी पुरातनवादी समाजलाई झक्झकाउन चाहन्थे । त्यसको झल्को आफ्ना रचनाहरुमा दिएका छन् । त्यसैले कतिपयले उनको गहिरो भावनालाई नबुझीकनै नास्तिक भनी आरोप लगाउने गरेका हुन् भन्ने यस पंक्तिकारको बुझाइ छ । यस लेखमा यसैबारे थप चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।

सरल रुपमा भन्दा ईश्वर मान्नेलाई आस्तिकवादी र ईश्वर नमान्नेलाई नास्तिकवादी भन्ने गरिन्छ । वास्तवमा पूर्वीय दर्शनमा आस्तिक र नास्तिकको वेग्लै परिभाषा दिइएको छ । पूर्वीय दर्शनमा छ प्रकारका आस्तिकवादी र छ प्रकारका नास्तिकवादी गरी जम्मा १२ प्रकारका दर्शनहरु विद्यमान रहेको मानिन्छ । नास्तिकवादी षड्दर्शनमा वौध्दमार्ग अन्तर्गतका चार प्रकारका दर्शनहरु सौत्रान्तिकयोगाचार, माध्यमक र वैभेषिक तथा जैन र चार्वाक दर्शन पछ्र्रन् ।

त्यस्तै आस्तिकवादी षड्दर्शनमा सांख्य (कपिल ऋषि प्रतिपादित)न्याय (गौतम ऋषि प्रतिपादित), वैशेषिक (कणाद ऋषि), योगसूत्र (पतन्जली)उत्तरमिमांसा वा वेदान्त (वादरायण) र पूर्वमिमांसा (जैमिनी) रहेको छ । यहाँ वौध्द आदि ६ प्रकारका दर्शनलाई नास्तिकवादी भन्नुमा अरु कुनै कारण नभै तिनले वेदलाई अन्तिम प्रमाण नमान्नुले हो बुझ्नु पर्छ ।

जहाँसम्म देवकोटाका रचनाहरुको प्रश्न छ, उनले न त ईश्वरको अस्तित्वमाथि प्रश्न उठाएको देखिन्छ, न त वेदका वाक्यहरुप्रति अनादर नै । देवकोटाले मुनामदनमा मुनाको मृत्युको प्रसंगमा एक गीत रचेका छन्ः

ईश्वर तैंले रचेर फेरि कसरी विगारिस्...? । यो वाक्य ईश्वरप्रति अनादर नभई मदनको माध्यमद्वारा आफ्नो दुःख वा आक्रोश मात्र पोखिएको हो ।​ श्रीमद्भागवतमा एउटा रोचक प्रसंग उल्लेख छ । हस्तिनापुरका राजा युधिस्थिरको राजसुय यज्ञका अवसरमा भगवान् श्रीकृष्णले आतिथ्य ग्रहण गरिरहँदा उनको निन्दा गर्ने शिशुपाललाई भगवान्ले आखिरमा मृत्युदण्ड त दिनुहुन्छ तर उनको आत्मालाई मुक्त पनि गरिदिनुहुन्छ ।

यसबारे युधिस्थिरले नारदसंग किन भगवान्ले आफ्नो निन्दा गर्ने व्यक्तिलाई पनि मुक्त गरिदिनुभयो भन्ने प्रश्न गर्दा नारद भन्छन्, ईश्वरलाई भक्तले सुदृढ वैरभावद्वारा, वैरहीन भक्तिभावले, भयले वा स्नेहले वा कामनाले जसरी पनि आफ्नो मन पूर्ण रुपमा लगाइदिन्छ भने भगवान्ले त्यसको कल्याण गर्नुहुन्छ । किनभने भगवान्को निम्ति ती विभिन्न भावहरुबीच कुनै भेद छैन ।

अब, देवकोटाको बहुचर्चित गीत “कुन मन्दिरमा जान्छौ यात्री” बारे चर्चा गरौं ।

देवकोटाले लेखेका छन्ः

कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ?

कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो ?

हाडहरुका सुन्दर खम्वा मांसपेशीको दिवार

मस्तिष्कको त्यो सुनको छानो इन्द्रियहरुको द्वार

नसा नदीका तरल तरंग मन्दिर आफू अपार ।

यसमा शरीरलाई नै मन्दिरको रुपमा लिइएको छ, जुन वेदान्त दर्शनमा उल्लिखित शरीर र आत्माको सम्बन्धसंग पूरै मेल खान्छ । वेदान्तअनुसार शरीर आत्माको घर हो । वेदान्त दर्शनअनुसार शरीरमा बस्नेलाई शरीरी भनिन्छ । आत्मालाई नै परमात्माको स्वरुप मान्ने वेदान्तले शरीरलाई मन्दिर मान्दछ, जसमा शरीरी बस्तछ ।

आठौं शताब्दिमा जन्मेका विद्वान् शंकराचार्य, जो अद्वैत वेदान्तका प्रवर्तक मानिन्छन्, उनले वादरायण रचित वेदान्तसूत्रमाथि एक प्रसिध्द भाष्य लेखेका छन्, जसको नाम शरीरिक भाष्य छ । यहाँ आत्मालाई नै शरीर भनिएको हो  ।

त्यस्तै अर्को प्रसंगमा शंकराचार्य रचित भजगोविन्दम् स्तोत्रमा उल्लिखित एक श्लोकबारे चर्चा गरौं, जसमा भनिएको छः

गुरुचरणाम्बुजनिर्भरभक्त संसारादचिराद्भव मुक्तः

सेन्द्रियमानस नियमादेवं द्रक्ष्यास निजहृदयस्थं देवम् ।

अर्थात्, भवसागरबाट तुरुन्त मुक्त हुन चाहने भक्तले गुरुचरणको सेवा गरी इन्द्रियहरुलाई संयमित पारेमा उसले आफ्नै हृदयमा ईश्वर दर्शन गर्दछ । अर्थात् ईश्वर खोज्न बाहिर कतै मन्दिरमा जानै पर्दैन ।

यहाँनेर देवकोटा रचित प्रश्नोत्तर कविताको एक अंश उद्धृत गर्नु मनासिव होला । त्यसमा देवकोटा लेख्छन्ः

देखिन्छ ईश कुन मन्दिरमा पसेर ?

त्यो हाँस्छ शुध्द मन आसनमा बसेर ।

अर्थात्, ईश्वरको दर्शन गर्न कुनै मन्दिरमा गैरहनै पर्दैन । मनलाई शुध्द र प्रफुल्ल बनाएर आसनमा बसेर ध्यान लगाए पुग्छ । यसप्रकार कविता लेखेर देवकोटाले मन्दिरको विरोध गरेका हैनन् । तर उनले मन्दिरमा घण्टौं लाइन लागेर ईश्वरका ठेकेदारहरुको हातबाट उनको दर्शन गर्नु जरुरी छैन भन्ने वेदान्तका वाक्यलाई स्मरण गराएका मात्र हुन् ।

देवकोटाका रचनाहरु मानवतावादी तथा अग्रगामी विचारका छन्, जसले पूर्वीय दर्शनले देखाएको मार्गलाई अरु प्रकाशित पार्ने काम गरेको छ । तिनमा पूर्वीय दर्शनसंग कुनै अन्तविरोध छैन । हाम्रो पूर्वीय दर्शन कति मानवतावादी, शान्तिवादी र अग्रगामी छ भन्ने कुरा भागवतको निम्न श्लोकबाट स्पष्ट हुन्छः

अहं सर्वेषु भूतेषु भूतात्मावस्थितः सदा ।

तमवज्ञाय मां मत्र्यः कुरुतेऽर्चाविडम्वनम् ।। (भागवत ३.२९.२२)

अर्थात्, (भगवान भन्नुहुन्छ) म आत्मरुपले सबै जीवहरुमा अवस्थित छु, त्यसैले जसले सवै भौतिक पदार्थ तथा प्राणिहरुमास्थित म परमात्मालाई अनादर गरी केवल प्रतिमामा मात्रै मलाई पूजा गर्छ, त्यो. ढोंगी हो ।

त्यस्तै भागवतकै अर्को श्लोकमा भनिएको छः

यावन्न वेद स्वहृदि सर्वभूतेष्ववस्थितम् । (भागवत ३.२९.२५)

अर्थात् (भगवान् भन्नुहुन्छ) मानिसले तबसम्म मात्र म ईश्वरको बाहिरी प्रतिमालाई पूजा गर्नु, जबसम्म उसलाई आफ्नो हृदयमा र सम्पूर्ण प्राणीहरुमा अवस्थित परमात्माको अनुभव हुँदैन ।

देवकोटाका कविताका हरफहरु यस्तै प्रकारका वेदान्तका ज्ञानले भरिपूर्ण छन् ।

प्रश्नोत्तर कवितामा उल्लिखित देवकोटाका निम्न विचारले उनको पूर्वीय दर्शनको ज्ञान केवल सतही मात्र नभै निकै गहिरो र उचाइले युक्त छ भन्ने निश्कर्षमा पुग्न कठिन छैनः

के हो अहो त्यो सुरदेव पान ?

सच्चा कमाइ गरी खानु भनेर जान ।

वेद, उपनिषद्ले हामीलाई नचाहिने कामवास्नाको पछि नलाग, कामना पूर्तिमात्र गर्नेतिर नलाग, आफ्नो न्यूनतम आवश्यकता मात्र पूर्ति गर र बचेको समाजमा सबैलाई वितरण गर भन्ने शिक्षा दिन्छ । अरुको लुटेर, ठगेर, चोरेर खाएको चीज अस्थायी हुन्छ । त्यसले कसैको कल्याण गर्दैन । आफ्नो सच्चा कमाइमा आधारित बस्तुमात्र उपभोग गर्नु भन्ने शिक्षा हामीलाई पूर्वीय दर्शनले दिन्छ ।

त्यस्तै देवकोटा लेख्छन्ः

खोज्छन् सुख भनी सुख त्यो कहाँ छ ?

आफू मिटाई अरुलाई दिनु जहाँ छ ।

मानिसले त्यसवखत आफूलाई सबैभन्दा सुखी र आनन्दी भनी महशुस गर्छ, जुनवखत उसले अरु कमजोर, असहायलाई मद्दत गर्न सक्छ र जव उसले कुनै अर्को भोको पेटसंग आफ्नो आधा रोटी बाँडेर खान्छ । अरुलाई थिचोमिचो गर्नुमा हैन, आफू मेटिएर अरुलाई सुख दिनुमा नै वास्तविक सुख मिल्छ भन्ने पूर्वीय दर्शनका भावनाहरुले नै देवकोटाका रचनाहरु ओतप्रोत भएको हामी पाउँछौं ।

देवकोटा यदि नास्तिक भएका भए उनले सीताहरण, रावण–जटायु युध्द जस्ता धार्मिक कथामा आधारित खण्डकाव्यको रचना गर्ने थिएनन् होला । त्यस्तै उनले वाल कवितामा लेखेको निम्न हरफले पनि उनमा रहेको धार्मिक भावना छचल्कन्छः नटिप्नु हेर कोपिला, नच्यात्नु पाप लाग्दछ ।

हाम्रा पूर्वीय दर्शका ग्रन्थहरुमा यस्तै मानवतावादी तथा यथार्थवादी विचार तथा दृष्टिकोणले नै ओतप्रोत भएको पाइन्छ, जसमा देवकोटा राम्ररी भिजेका छन् ।

उनका गहन तर परोक्ष विचारहरु पाठकहरुले नबुझेपछि उनी जीवनयात्राको अन्तिम घडीमा त्यसलाई यसप्रकार स्पष्टसंग अभिव्यक्त गर्न वाध्य हुन्छन्ः

आखिर श्रीकृष्ण रहेछ एक,

न भक्ति भो ज्ञान, न भो विवेक ।

कतिपय अबुझ मानिसहरुले देवकोटाले आफ्नो जीवनको अन्त्यतिर आफ्नो दृष्टिकोण बदलेर नास्तिकबाट आस्तिक भएको आरोप लगाएका छन् ।

वास्तवमा देवकोटा कहिल्यै नास्तिक थिएनन् । उनी प्रकृतिवादी जरुर थिए, शान्तिकामी पनि थिए उनी । रुढीवादी ग्रस्त विचारधाराका पनि उनी कट्टर विरोधी थिए । तर उनी अधार्मिक वा अनिश्वरवादी कदापि थिएनन् भन्ने कुरा उनले सुस्तरी श्वास फेर भन्ने एक निवन्धमा आफूले जीवनमा ६ पल्ट मासु छाडेको कुरा उल्लेख गरेबाट पनि स्पष्ट हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिरीषवल्लभ प्रधान
शिरीषवल्लभ प्रधान
लेखकबाट थप