शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कुकुरले कसरी पत्ता लगाउँछ अपराधी ?

जघन्य अपराध अनुसन्धानमा तालिमप्राप्त कुकुर
सोमबार, ०७ कात्तिक २०७९, ०९ : ३२
सोमबार, ०७ कात्तिक २०७९

दाङको तुल्सीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको शव असोज ३० मा भेटियो । प्रहरीले सो घटना अनुसन्धानमा ‘जम्बो’ नामक कुकुरको सहयोग लियो । 

कोहलपुरस्थित कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखाबाट जर्मन सेफर्ड जातको जम्बोलाई घटनास्थलमा लैजाँदा उसले दुईवटा कुरा सङ्केत गर्‍यो । ट्रयाकर डग ‘जम्बो’लाई घटनास्थलमा प्राप्त सबुद प्लास्टिकको डोरी सुँघाएर छाड्दा कुकुर घटनास्थलबाट पूर्वतर्फ लम्कियो । 

‘जम्बो’ कुखुरा पाल्ने गोठ हुँदै एक सय मिटर अगाडिसम्म पुग्यो । पर्सिपल्ट १ कार्तिकमा घटनास्थलमा भेटिएको मोबाइल सुँघाएर छाड्दा त्यहाँबाट सय मिटर उत्तर पश्चिमतर्फ ट्रयाक लिँदै शव गाडिएको ठाउँमा पुग्यो । कुकुरले गरेको सो दुईवटा सङ्केतले घटना अनुसन्धानमा निकै सहज भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।  

प्रहरीले जघन्य अपराध अनुसन्धान, विष्फोटक पदार्थ र लागु औषधको अनुसन्धानमा कुकुर प्रयोग गर्दै आएको छ  । महाराजगञ्जमा २०३२ मा ‘डग सेक्सन’को स्थापना गरेर अनुसन्धानमा कुकुर प्रयोग गर्न थालिएको बताउँछिन् नेपाल प्रहरी केनाईन महाशाखा प्रमुख एसएसपी डा. देउती गुरुङ । 

प्रहरीले २०२६ मा केही अधिकृतलाई मलेसियामा कुकुर परिचालनसम्बन्धी तालिम लिन पठाएको थियो । अहिले प्रहरीसँग ७ प्रजातिका ९० भन्दा धेरै कुकुर छन् । जर्मन सेफर्ड, बेल्जियन सेफर्ड, ल्यावराडोर, विगल, डच सेफर्ड र गोल्डन रिट्रिगर जातका कुकुरलाई प्रहरीले अनुसन्धानमा प्रयोग गरिरहेको छ । 

​सात प्रदेश, ४ वटा विमानस्थल र महाराजगञ्जमा सहित १२ युनिटमा कुकुर छन् । महाराजगञ्जस्थित केनाईन महाशाखामा ४१ वटा कुकुर छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर एयरपोर्ट, लुम्बिनी एयरपोर्ट र विराटनगर एयरपोर्टमा डग शाखा छ । विमानस्थलमा राखिएको कुकुरलाई लागुऔषध र विष्फोटक पदार्थ अनुसन्धानमा परिचालन गरिने बताउँछिन् एसएसपी गुरुङ । 

बेल्जियन सेफर्डः अनुसन्धानमा ‘अब्बल’ 

अनुसन्धानमा खटिने कुकुरमध्ये प्रहरीसँग १२ वटा बेल्जियन सेफर्ड जातका कुकुर छन् । बेल्जियन सेफर्ड अनुसन्धानमा अब्बल मानिन्छ । बेल्जियनले ट्रयाक लिने र विष्फोटक पदार्थबारे अनुसन्धान गर्छ । सो कुकुरको बजार मूल्य ६ लाख छ । ‘बेल्जियन सेफर्ड जातको कुकुर छरितो हुन्छ,’ एसएसपी डा. गुरुङ भन्छिन्, ‘यो कुकुरले छिटो काम गर्छ ।’ 

ब्लड हाउण्ड जातको ट्रयाकर डग नेपालको वातावरण अनुकूल नभएपछि प्रहरीले हाल बेल्जियन सेफर्डको सङ्ख्या बढाएको छ । 

२०७७ ताका प्रहरीले जघन्य अपराधमा ब्लड हाउण्ड जातको ‘जोजो’ कुकुरलाई प्रयोग गर्दै आएको थियो । ‘गोंगबु हत्याकाण्ड’ भनेर चर्चित कृष्णबहादुर बोहराको हत्या अनुसन्धान गरेको ‘जोजो’ अहिले छैन । जोजोको मृत्यु भएको डा. गुरुङले बताइन् ।

त्यसबेला जोजोले शव भन्दा निकै पर फालिएको बोहराको टाउको भेट्टाएको थियो । जोजोलाई प्रहरीले करिब ६ वर्ष अनुसन्धानमा परिचालन गरेको थियो । 

ब्लड हाउण्ड अमेरिकाको ह्वाईट हाउसको सुरक्षामा पनि प्रयोग हुन्छ । दक्षिण एसियाली मुलुकमा सुरक्षा निकायले अपराध अनुसन्धानमा प्रयोग गर्छन् ।

ब्लड हाउण्ड जातको कुकुर हाम्रो वातवरणमा अनुकूल नभएको प्रहरीको निष्कर्ष छ । ‘ब्लण्ड हाउण्ड यहाँको वातावरणमा सुट गनरेको हुनाले बचाउनै सकिएन,’ डा. गुरुङ भन्छिन्,‘बेल्जियनलाई रोग पनि कम लाग्छ । हिमाल र तराई सबैतिरको वातावरण उसलाई अनुकूल छ ।’ 

‘बेल्जियन सेफर्ड कम्तिमा ८ वर्षसम्म बाँच्छ’ डा. देउतीले भनिन् । 

कुकुरले कसरी पत्ता लगाउँछ ? 

घटनास्थलमा आरोपीले कुनै न कुनै सबुत छाड्छन् । सो सबुतलाई आधार मानेर कुकुरलाई अनुसन्धानमा परिचालन गरिन्छ । ‘आरोपी हिँड्दा पाइलामा खसेको डेथ सेल्सबाट पनि कुकुरले पत्ता लगाउँछ,’ डा. देउती गुरुङ भन्छिन्, ‘सबुत सुँघेर कुकुर अपराधी गएको ठाउँसम्म ट्रयाक लिन्छ, त्यसबाट अनुसन्धान अधिकृतलाई आरोपीसम्म पुग्न सहज हुन्छ ।’ 

मानिसमा भन्दा कुकुरमा सुँघ्ने क्षमता ५० गुणा बढी हुन्छ । तर, सवारी साधन प्रयोग गरेर आरोपी भागेमा कुकुरलाई अनुसन्धान असहज हुने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । मुख्यतया कुकुरले अपराधी हिँडेको ठाउँको ट्रयाक लिन्छ र सबुत सङ्कलन गर्छ । अनि, सबुतसँग मिल्दो गन्ध भएको व्यक्तिलाई सङ्केत गरेर अनुसन्धान गर्ने गरेको छ ।

हत्याका घटनामा प्रयोग गरिने ट्रयाकर डगलाई प्रहरीले १ वर्ष तालिम गराएपछि अनुसन्धानमा प्रयोग गर्छ । डा. गुरुङ भन्छिन्, ‘ट्रयाकर डग १ वर्ष तालिमपछि बल्ल ड्युटी गर्न थाल्छ ।’

बम पत्ता लगाउन पारंगत बनाउन प्रहरीले कुकुरलाई बारुदसँग खेलाएर तालिम गराउँछ । ‘कुकुरलाई खुसी बनाएर तालिम गराउँछौँ,’ डा. गुरुङ भन्छिन्, ‘लागु औषधसँगै गाँजा सुँघाएर तालिम सुरु गरी कम गन्ध भएका लागुऔषध अनुसन्धानमा सक्षम बनाउँछौँ ।’ 

मानिसको भन्दा कुकुरमा स्मरण शक्ति ४० गुणा बढी हुनाले तालिममा कुकुरले चाँडो उपलब्धि हासिल गर्छ । नेपाल प्रहरीसँग उच्च विष्फोट गर्ने क्षमता भएको ‘आरडीएक्स’ पत्ता लगाउने कुकुर पनि छ । बेल्जियन सेफर्ड प्रजातिको ‘क्लिफ’ सहितका कुकरले बम पत्ता लगाउँछन् । 

अनुसन्धान गर्न नसक्ने भएपछि प्रहरी कुकुरलाई नयाँ ह्याण्डलरलाई तालिम गराउन र ‘डेमो’ देखाउन प्रयोग गर्दै आएको छ । ‘ड्युटी गर्न नसकेपनि पाल्छौं,’ डा. देउती भन्छिन्, ‘किनेर तालिम गराएको कुकुर बाँचुन्जेल पाल्छौं ।’ 

ह्याण्डलरको दर्जा भएपनि अनुसन्धान गर्ने कुकुरको भने दर्जा हुँदैन । 

रामबहादुर ‘वेष्ट ह्याण्डलर’

अनुसन्धानमा प्रयोग गरिने कुकुरको ह्याण्डलर कुकुरपिच्छे फरक हुन्छन् । एउटा कुकुरलाई एउटै मात्र ह्याण्डलरले परिचालन गर्छन् । प्रत्येक कुकुर तिहारमा केनाईन महाशाखाले एकजना ह्याण्डलरलाई ‘वेष्ट ह्याण्डलर’को रुपमा पुरस्कृत गर्ने गरेको छ । 

यस वर्षका वेष्ट ह्याण्डलर हुन्, प्रहरी हवल्दार राम बहादुर गुरुङ । ट्रयाकर डग ह्याण्डलिङ गर्ने रामबहादुर अहिले जर्मन सेफर्ड जातको ‘पप्पी’को ह्याण्डलर हुन् । २०७८ चैतमा ट्रयाकर तालिम लिएको पप्पीले काठमाडौंको शंकरापुर नगरपालिका–७ मा हरि बहादुर श्रेष्ठको शव पत्ता लगाएको थियो । 

चैत २९ मा घरबाट हराएका हरिबहादुरको कपडा सुँघाएर छाड्दा पप्पी शाली नदी किनारमा ढुंगामा रगत भएको ठाउँसम्म पुगेको थियो । सो सङ्केतको आधारमा शाली नदीमा खोजतलास गर्दा हरि बहादुर मृत भेटिए । 

रामबहादुरलाई ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी धीरज प्रताप सिंहले पुरस्कृत गरेका छन् । 

आफूले ह्याण्डल गरेको जर्मन सेफर्ड ‘लिजा’ले चापागाउँमा टेलर मास्टरको हत्या गरेको घटनामा सफल अनुसन्धान गरेको सम्झन्छन्, रामबहादुर । उनले लिजा र पप्पी मात्रै होइन, अरु धेरै तालिमप्राप्त कुकुर ह्याण्डल गरिसकेका छन् । 

‘यस वर्षको वेष्ट ह्याण्डलरको पुरस्कार हवल्दार रामबहादुरलाई दिने निर्णय गरेका छौँ’ डा. गुरुङ भन्छिन्–‘पुरस्कारले ह्याण्डलरको वृत्ति, विकासमा मद्दत गर्छ ।’

(फोटोः सुवास श्रेष्ठ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप