शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा समाजवादीको गुनासो : हामीले गरेको विद्रोहको गठबन्धनले सम्मान गरेन

आइतबार, ०६ कात्तिक २०७९, २१ : ५८
आइतबार, ०६ कात्तिक २०७९

कर्णालीमा नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनले सम्मान नगरेको बताएको छ । सुरुमा प्रतिगामी शक्तिका विरुद्धमा विद्रोह कर्णालीबाट आफुहरुले गरेको भएपनि समाजवादीका नेताहरुले गठबन्धनले उचित सम्मान नगरेको बताएका हुन् । कर्णाली प्रदेश सरकारमा तत्कालीन नेकपाभित्रको अन्तसंघर्षका समयमा नेकपा एमालेभित्रको माधव नेपाल समूह फरक कित्तामा उभिएको थियो ।

२३ फागुन ०७७ मा सर्वोच्च अदालतको आदेशले एमाले–माओवादी पूर्ववत् अवस्थामा ब्युँतिएपछि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन एमालेले फिर्ता लिने निर्णय गर्यो । ५ चैत्र, ०७७ मा एमालेले आफ्नो दलबाट सरकारमा पठाएका तीन मन्त्रीको राजीनामा माग गर्दै समर्थन फिर्ता लिएको थियो ।  

यद्यपि मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा पार्टीको निर्णय विपरित एमालेका सांसदहरुले ‘फ्लोर क्रस’ गरेर शाहीको सत्ता जोगिएको थियो । जसमा ०७४ मा एमालेबाट निर्वाचित सल्यानका प्रकाश ज्वाला, कालिकोटका कुर्मराज शाही, दैलेखमा अमरबहादुर थापा र डोल्पाका नन्दसिंह बुढा थिए ।

उनीहरुले कांग्रेस, माओवादीसँग ११ बुँदे सम्झौता समेत गरेको बताइएको थियो । उक्त सम्झौतामा के थियो भन्ने कुरा बाहिर आएन । यद्यपि माओवादी, कांग्रेस र विद्रोही समूहले पालैपालो सत्ता सञ्चालन गर्ने कुरा भने हल्ला भने बाहिर आएको थियो । पछि एमालेले चारै जनाको सांसद पद बर्खास्त गरिदिएपछि ज्वालाबाहेक तीन जना ६ महिने मन्त्री भएका थिए । 

पछि सोहीअनुसार केन्द्रमा समेत एउटा संयन्त्र बन्यो । पछि केन्द्रमा पनि माधव नेपाल समूहले विद्रोह गरेर नयाँ दल एकीकृत समाजवादी गठन भएको थियो । सांसद पद गुमाएका चारैजना नेताहरु समाजवादीमा लागे भने बाँकी तीन जना सांसदले पनि समाजवादी रोजेका थिए । 

उनीहरु दुवैजना मन्त्री बनिसकेका छन् । तर मुख्यमन्त्री बन्ने अवसर नपाएको समाजवादीले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनले उचित सम्मान नगरेको बताएको छ ।

आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय गठबन्धनको भेलामा समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाले भने, ‘हो, यो गठबन्धन प्रतिगामी शक्तिहरूको विरुद्धमा बनेको हो, संविधानको रक्षाका लागि बनेको हो । तर याद रहोस् हामीले कर्णालीबाट विद्रोह गरिसकेपछि मात्रै केन्द्रमा पाँच दलीय संयन्त्र बनेको हो । हामीलाई दुःख पनि लागेको छ, गठबन्धनले हाम्रो सम्मान गरेन ।’ 

थापाले संविधान रक्षा र प्रदेशमा यामलाल कँडेलहरुको विद्रोहमा आफुहरु उत्रिएर गरेको संघर्षलाई केन्द्रीय गठबन्धनले ध्यान नदिएको बताए । भागवण्डाअनुसार समाजवादीले प्रतिनिधिसभातर्फ ३ र प्रदेश सभातर्फ २ सिट मात्रै पाएको छ ।

थापाले प्रतिगामी शक्तिको विरुद्धमा विद्रोह गर्दा सांसद पद गुमाएका नेताहरुको समेत व्यवस्थापन नभएको गुनासो गरेका थिए । गठबन्धनमा सम्मान नभएपछि नन्दसिंह बुढा र कुर्मराज शाही अहिले पुनः एमालेमै फर्किसकेका छन् । बुढा अहिले उम्मेदवार छैनन् भने कुर्मराज शाही एमालेबाट उम्मेदवार बनेका छन् ।

थापाले आफुहरुकै कारण जम्मा एक सीट जितेको कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरिसक्दा पनि समाजवादीलाई अन्याय नै गरिएको आशय प्रकट गरे । जवाफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णालीमा विद्रोह गरेका साथीहरुको बारेमा गम्भीर रुपमा छलफल भएको बताए ।

उनले भने,‘अमरजीले भनेजस्तै हामीलाई पनि लागेको छ, तपाइँले भनेको सही नै हो, तपाईँहरुले कर्णालीबाट गरेको विद्रोहलाई नै केन्द्रमा एक किसिमको संयन्त्र बनेको हो । अहिले उचित व्यवस्थापन गर्न चाहँदा–चाहँदै पनि केही कमी रहेको पक्कै छ, आगामी दिनमा उचित व्यवस्थापन हुन्छ ।’ 

यस्तै समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि विशेष कारणबस यसमा कमी रहेको बताए । समाजवादीका नेताहरुले गठबन्धनको निर्णय विपरित सुर्खेत क्षेत्र नम्बर २ (१) र (२), कालिकोट र हुम्लामा बागी उम्मेदवारी दर्ता गराएका छन् ।  उनीहरुले पार्टीकै चिन्हबाट मित्रवत प्रतिस्पर्धा गर्ने उद्देश्यसहित उम्मेदवारी कायम राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप