शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन भ्याइनभ्याई

आइतबार, ०६ कात्तिक २०७९, २० : ४०
आइतबार, ०६ कात्तिक २०७९

देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासी लक्ष्मी कुमाईंले बताइन् ।

जुम्लामा मात्र उत्पादन हुने अति लोकप्रिय मार्सीधान यो वर्ष गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षाले क्षति पुर्याउँदा विशेषगरी सिञ्जा क्षेत्रका किसान मर्कामा परेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । सिञ्जाका सबै धान उत्पादन हुने खेतमा वर्षाले पूर्णरूपमा क्षति भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । 

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन जिल्लाका चन्दननाथ, तातोपानी, गुठीचौर, तिला र पातारासी गाउँपालिकामा यतिबेला घरमा धान भित्र्याउन सुरु भएको छ । मौसममा सुधार आएपछि जिउलोभरि मार्सीधान भित्र्याउन किसान लागिपरेका छन् । उनीहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त हुने गरेका छन् । एक हप्तासम्म वर्षा नभएको भए सबै धान घरमा ल्याइसकिने तातोपानी गाउँपालिकाका स्थानीयवासी पूर्णप्रसाद चौलागाईंले बताए ।

जुम्लामा चैतदेखि धान खेती सुरु हुन्छ । चन्दननाथ बाबाले प्रतिपादन गरेको भनिएको मार्सीधान निकै लोकप्रिय धान बाली हो । पछिल्लो समय रोगकिराको सङ्क्रमण र बीउ पुरानो भएकाले उत्पादनमा कमी आउन थालेको छ । अहिले जुम्ली किसान जिउलोमा धान काट्न र चुट्न व्यस्त छन्  । 

मार्सी धानको चामल प्रतिकेजी रु एक सय ५० देखि दुई सयमा बिक्री हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए । जुम्ली मार्सीधानका लागि किसानको आफ्नै प्रकारको क्यालेन्डर छ । सोहीअनुसार प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने गरिन्छ । सो दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ ।  चैत १६ गते भिजाएको बीउ सुकाउने र चैत २० गते ब्याडमा लगेर छर्ने गरिन्छ । 

जेठ पहिलो सातादेखि धान रोप्न सुरु गर्ने, असारमा पहिलो सातामा गोडमेल गर्ने र २० दिनपछि दोस्रो गोडमेल हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष नौ सय ५० हेक्टरमा धान खेती गरिएकामा छ हजार सात सय ८५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

एक हजार तीन सय हेक्टर क्षेत्रमा मार्सीधान उत्पादन हुने गरेको कार्यालयका प्राविधिक सुकिराम नेपालीले बताए । जिल्लाका किसानलाई चन्दननाथ–१, ३ र लेकाली जातको धान सिफारिस गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।  विश्वकै उच्च स्थानमा रहेको यहाँको पातारासी गाउँपालिकाको छुमचौर जिउलोमा मार्सीधानको खेतीसमेत हुने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप