आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

किन चुनावमा सक्रिय छैनन् बादल

आइतबार, ०६ कात्तिक २०७९, १९ : २४
आइतबार, ०६ कात्तिक २०७९

‘माओवादीबाट एमालेमा गएकाहरु कोही खुसी छैनन् । बाहिर नभन्नु अलग कुरा भयो । भन्दा पनि मान्छेहरु आफै हाँस्छन् । वास्तवमा भित्र कोही खुसी छैनन् । बादल, टोपबहादुर, लेखराजलाई यो देशका कसले चिन्या थिएन ? सबैले चिनेको फिगर, देशले सम्मान गरेको नेता । अहिले आएर कोठाबाट बाहिर निस्कने ठाउँ छैन । बाहिर निस्केर पनि गर्ने काम केही छैन । पोष्ट दिएको छ बादलजीलाई एउटा उपाध्यक्ष, काम केही छैन,’ यी शब्द हुन् भर्खरै नेकपा एमाले छोडेका प्रभु साहको ।

एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै साहले थापाको मात्रै होइन, माओवादी समूह भनेर चिनिने एमाले नेताहरुको हालत उस्तै रहेको खुलासा गरे । एमाले उपाध्यक्ष थापालाई कसैले बोलाए बैठकमा गएर बोल्ने, नभए कोठामै थन्किएर बस्ने अवस्था रहेको उनको भनाइ थियो । ‘हामीले यत्रो त्याग गरेरै ओलीजीलाई साथ दियौं । हामीलाई लाग्या थियो– दुःखमा साथ दिएकालाई यति छिटो धोकामा परिणत गर्नुहुन्न । आज आएर सबै छर्लङ्ग भयो,’ साहले भने ।

उनकै भनाइ अनुसार एमालेभित्र पूर्व माओवादी उकुसमुकुस भएकाले भित्र खुसी नभए पनि बाहिर व्यक्त गरेका छैनन् । हुन पनि आसन्न निर्वाचनमा उम्मेदवारसमेत बन्न नपाएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कतै देखिएका छैनन् । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि सबै दलका उम्मेदवार आ–आफ्नो क्षेत्रमा घरदैलो, टोल भेला र प्रशिक्षणमा व्यस्त छन् । सबै पार्टीका शीर्ष नेताहरु पार्टीको पक्षमा माहोल बनाउन देश दौडाहामा छन् । तर, थापा पार्टीका कुनै कार्यक्रममा कहीँ कतै देखिएका छैनन् । चुनावी सरगर्मीमा थापा मौन रहनु अनौठो मानिएको छ ।

यो चुनावमा थापाले चितवन–२ बाट चुनाव लड्ने तयारी गरेका थिए । तर कृष्णभक्त पोखरेलले टिकट पाएपछि थापा चुनावी कार्यक्रममा समेत नदेखिएर चुपचाप लागेका हुन् । ‘बादलजी चितवनको २ वा अन्य कुनै क्षेत्रबाट चुनाव लड्न खोज्नु भएको थियो । केपी कमरेडले बादलजीलाई टिकट दिने बचन पनि दिनुभयो । अन्तिममा प्रत्यक्ष र समानुपातिक कतै समेट्नु भएन,’ थापा निकट एक केन्द्रीय सदस्यले भने, ‘उहाँलाई थामथुम पार्न उहाँकी श्रीमती नैनकला थापालाई समानुपातिक सूचीमा राखिएको छ । त्यही पनि उहाँ सन्तुष्ट हुनुहुन्न । पार्टीबाट धोका भयो भन्न थाल्नु भएको छ ।’

२०७४ सालको चुनावमा पनि थापाले चितवन–२ बाट प्रत्यक्ष चुनाव लड्न खोजेका थिए । उक्त चुनावमा वाम गठबन्धन थियो । त्यतिबेला चितवन–३ बाट प्रचण्ड उम्मेदवार बन्ने र वाम गठबन्धनबाट २ र ३ क्षेत्रमा एमालेले उम्मेदवार दिने भएकाले थापाले चितवनबाट टिकट पाएनन् ।

चितवनबाट टिकट नपाएपछि थापालाई नवलपुर जिल्लाबाट चुनाव लड्न आग्रह गरिएको थियो । अन्तिममा उनले चितवनबाट टिकट नपाए चुनावै नलड्ने अडान लिएपछि प्रचण्डले राष्ट्रियसभा सदस्यमा लगेका थिए । तत्कालीन नेकपा विभाजन भएपछि थापा माओवादी छोडेर एमाले कित्तामा उभिए । आगामी चुनाव लड्ने इच्छा हुँदाहुँदै ओलीले टिकट नदिएपछि उनी चुनावमा उम्मेदवार हुन पाएनन् । ओलीले पुनः थापालाई राष्ट्रियसभामा समेट्ने बचन दिएको उनी निकट ती नेताले बताए ।

एमालेका चितवन अध्यक्ष राम न्यौपानेका अनुसार उपाध्यक्ष थापा चुनाव प्रचारका लागि अहिलेसम्म चितवनका आएका छैनन् । उनले भने, ‘अहिले घरदैलो, भेटघाट, सामान्य प्रचारका कार्यक्रम भइरहेका छन् । तिहारपछि हुने कार्यक्रममा निर्वाचन क्षेत्रमा पक्कै आउनुहुन्छ होला ।’ एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावी कार्यक्रममा थापालाई कम  देखेको स्वीकार गरे । ‘मैले चितवनका कार्यक्रममा उहाँलाई भेटेको छैन । केन्द्रका पार्टी काममा हुनुहुन्छ कि ? बाहिर पनि उतिसारो देखिनु भएको छैन,’ पाण्डेले भने ।

तर, थापा निकट अर्का केन्द्रीय सदस्यले टिकट नपाएपछि उनी उतिसारो सक्रिय भई चुनावी कार्यक्रममा नलागेको बताए । ‘पार्टीबाट टिकट पाउँछु भन्ने थियो, टिकट पाउनु भएन । उतिसारो उत्साही हुनुहुन्न । काठमाडौंमै हुनुहुन्छ,’ थापा निकट ती नेताले भने, ‘चुनावी कार्यक्रममा खासै जान्न भन्नुहुन्छ । भोट होल्न भने चितवन जाने तयारी छ ।’ एमालेमा थापाको यस्तै पोजिसन भएमा उनी राजनीतिबाटै सन्यास लिन सक्ने उनी निकट नेता कार्यकर्ताको आकलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप