आन्दोलित व्यवसायीले भने जसरी ऋणको ब्याजदर घटाउन सम्भव छ ?
यतिबेला देशभरका उद्योगी व्यवसायी बैंकविरुद्ध आन्दोलनमा छन् । कर्जाको ब्याजदर बढी भयो भनेर कर्णाली प्रदेशका उद्योगी व्यवसायीहरूले सुरू गरेको बैंकविरुद्धको आन्दोलन देशैभर फैलिसकेको छ । बैंकहरूले चर्को नाफा राखेर कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएको भन्दै उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
सुर्खेत उद्योग वाणिज्य संघले एक महिना अघिदेखि सुरू गरेको बैंकविरुद्धको आन्दोलनमा मोरङ र सुनसरी तथा भक्तपुरका उद्योगीले समेत साथ दिइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको नेतृत्वले समेत आन्दोलनमा साथ दिइसकेका छन् । खासगरी, चर्को ब्याजदरले उत्पादनमूलक उद्योग नै संकटमा पर्ने भन्दै व्यवसायीहरू एकजुट भएर आन्दोलनमा होमिएका हुन् ।
बैंकविरुद्ध आन्दोलनको घोषणा गर्ने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल तिहारपछि आन्दोलन झनै चर्कने बताउँछन् ।
‘नेपालमा बैंकको ज्याजतीविरुद्ध आन्दोलन सुरू गर्ने हामी हौं, हामीले १ महिना अघिदेखि नै आन्दोलन सुरू गरेका हौं,’ कँडेलले रातोपाटीसँग भने । संघकै आह्वानमा असोज महिनाको ३० र ३१ गते सुर्खेत बजारमा ‘बैंक बहिस्कार’ अभियान समेत चलाइएको थियो ।
उक्त आह्वान अनुसार असोज ३० र ३१ गते बैंकमा पैसा नराख्ने, पैसा नझिक्ने र ऋण तथा किस्ता नर्तिने सहमती अनुसार सम्पूर्ण व्ययवसायी एकजुट भएको कँडेलको भनाइ छ । सुर्खेतबाट सुरू भएको आन्दोलन अहिले काम भएको चर्काे ब्याजदर कम भएपछि मात्रै रोकिने उनको भनाई छ ।
घट्न सक्छ ब्याजदर ?
कात्तिक महिनादेखि वाणिज्य बैंकहरुले लिने कर्जाको व्याजदर १८ प्रतिशतको हाराहारीमा पुगेको छ । आफूहरुको खर्च बढेको र तुलनात्मक रुपमा व्याजदर बढाउन नपाएको भन्दै बैंकहरुले प्रिमियम र सेवाशुल्क समेत बढाउने निर्णय गरेका थिए । यस्तै, निक्षेपको औसत ब्याजदर नै बढेर १२ प्रतिशतसम्म पुगिसकेको अवस्था छ । पछिल्लो समय निरन्तर बढिरहेको ब्याजदर नघटेसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आइरहेका उद्योगी व्यवसायीका अनुसार सरकार र नेपाल राष्ट्र बैंकले चाहेमा विभिन्न ‘टूल’ चलाएर ब्याजदर घटाउन सकिन्छ ।
‘राष्ट्र बैंकले जारी गर्दै आइरहेको रिपोको ब्याजदर ८ प्रतिशत छ, भारतमा यस्तो रिपोको औसतदर साढे २ प्रतिशत हाराहारी छ, राष्ट्र बैंकले रिपोको दर घटाउने वित्तिकै व्याजदर तल आउँछ,’ कँडेलले भने ।
नेपालमा पनि भारतमा जस्तै सस्तो ब्याजमा रिपो जारी गरेर बढ्दो ब्याजदर नियन्त्रण गर्न सकिने उनको भनाइ छ । यस्तै, उनले ठूला कर्पोरेट हाउस (नेपाल टेलिकम, नेपाली सेना र नेपाल प्रहरी, कर्मचारी सञ्चय र नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष) को निक्षेपमाथि भइरहने तानातानलाई तत्काल बन्द गर्नुपर्ने उनको सुझाव छ । कँडेलले भने, ‘ठूला कर्पोरेट हाउसको निक्षेपमा सिमित ब्याज दिने भनेर राष्ट्र बैंकले घोषणा गरेमा निक्षेप तानातान रोकिएर ब्याजदर नियन्त्रणमा सघाउँछ ।’
यसैगरी, वैदेशिक लगानी ल्याउने माध्यम थप सहज बनाउनुपर्ने, बैंकको सेवाशूल्क सिमित गर्नुपर्ने र बैंकहरूको नाफा घटाउनुपर्ने व्यवसायीको माग छ ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल राष्ट्र बैंकले चाहेमा बैंकहरूले बढाइरहेको ब्याजदर नियन्त्रण गर्न सकिने बताउँछन् । प्याकुरेलका अनुसार ब्याजदर निर्धारणको विषय खुला अर्थतन्त्रमा आधारित भएपनि केन्द्रीय बैंकले चाहेमा विभिन्न उपकरण प्रयोग गर्न सक्छ । खासगरी, उत्पादनमूलक उद्योगहरूका लागि आधार दरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम लिन पाइने नीतिगत व्यवस्था गरिनुपर्ने उनको भनाइ ।
अर्थशास्त्री केशव आचार्य सरकारले चाहेमा बैँकहरूमाथि हस्तक्षेप नगरी ब्याजदर घटाउन सक्ने बताउँछन् ।
‘विदेशबाट आउने रेमिट्यान्सलाई व्यवस्थित गर्न सकेमा तरलता अभाव धेरै हदसम्म घट्न सक्छ, हाल अमेरिकी डलरको विनिमयदर १३२ रुपैयाँ रहेकामा सरकारले रेमिट्यान्समा १३५ रुपैयाँसम्म दिनुपर्छ, यसो गर्दा रेमिट्यान्सको आप्रवाह बढ्ने र तरलता अभाव केही हदसम्म समाधान भएर ब्याजदर घट्ने सम्भावना देख्छु,’ नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक समेत रहेका अर्थशास्त्री आचार्यले भने ।
यस्तै, वाणिज्य बैंकहरूलाई कर्पोरेट करमा छुट दिँदा समेत ब्याजदर घट्न सक्ने अर्थविद्हरूको विश्लेषण छ । यसका साथै, अनिवार्य नगद मौज्दात (सीआरआर) घटाउँदा समेत ब्याजदर नियन्त्रणमा आउने आचार्य बताउँछन् । यसबाहेक, नेपालको आयात घटाएर निर्यात बढाउनुपर्ने, वैदेशिक लगानी बढ्नुपर्ने र पर्यटनको आगमन बढेमा तरलता अभाव समाधान हुने र ब्याजदर घट्ने अर्थविद् आचार्यको भनाइ छ ।
अर्थतन्त्रको अनौपचारिक हिस्सालाई सरकारले विभिन्न माध्यमबाट औपचारिक बनाउन सकेमा समेत ब्याजदर नियन्त्रण हुन सक्छ । यसका साथै, विकास निर्माणका ठूला आयोजनाको कामको गति बृद्धि गर्ने र सम्पन्न भइसकेको कार्यको समयमै भुक्तानी दिने कार्य गरेपछि बजारमा तरलता अभावको चाप घट्ने र ब्याजदर नियन्त्रणमा सहयोग पुग्ने आचार्यको भनाइ छ ।