बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘टुरिष्ट’ उम्मेदवारका कारण काठमाडौं २ अझै कर्णालीको दुर्दशामा : कुन्तीदेवी पोखरेल

आइतबार, ०६ कात्तिक २०७९, १७ : ४५
आइतबार, ०६ कात्तिक २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार कुन्तीदेवी पोखरेलले ‘टुरिष्ट’ उम्मेदवारका कारण यो क्षेत्र निकै पछि परेको बताएकी छिन् । आइतबार राप्रपा काठमाडौं क्षेत्र नम्बर २ ले बत्तीसपुतलीमा गरेको तिहार, नेपाल संवत् तथा छट पर्वका अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काठमाडौंको २ नम्बर क्षेत्र टुरिष्ट नेताका कारण कर्णालीको दुर्दशामा पुगेको स्मरण गराइन् ।

कार्यक्रममा बोल्दै पोखरेलले हरेक निर्वाचनमा यो क्षेत्रभन्दा बाहिरका उम्मेदवार आएर चुनाव जित्ने र फेरि फर्केर सो क्षेत्रमा नजाँदा विकासमा निकै पछि परेको उल्लेख गरिन् । मत माग्नका लागि घरदैलो कार्यक्रम गर्न जाँदा शंखरापुरका नाङलेभारे, कात्तिके–देउराली जस्ता स्थानहरु अझैपनि कर्णालीको अवस्थामा रहेको, एम्बुलेन्स पुग्ने बाटो नहुँदा जनताहरूले सास्ती पाइरहेको बताइन् । 

काठमाडौं क्षेत्र नम्बर २ मा बाहिरबाट आएका उम्मेदवारहरूलाई भोट नदिइ माला लगाएर बिदा गर्न आग्रह गरिन् ।  माओवादी द्धन्द्धका बेला आफन्तको हत्या गर्ने दललाई काँग्रेसले बोकेर हिँडेको प्रति आपत्ति जनाउँदै हिजो आफन्त मार्ने दललाई आज चुनाव जिताउन ठेक्का लिएको भन्दै प्रश्न गरिन् । 

उनले आफू विश्वेश्वरप्रसाल कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको प्रजातन्त्र प्रतिको आर्दशप्रति प्रतिबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा गठबन्धन नभनी राष्ट्रवादी राप्रपालाई मत दिन आग्रह गरिन् ।  उनले भनिन्–‘म यो देशका प्रजातन्त्रवादी नेता विश्वेश्वरप्रसाद कोइरालाको सिद्धान्त र वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराईको राजनीति जीवनलाई आत्मसाथ गरेर आएकी प्रजातन्त्रवादी युवा नेत्री हुँ । यसकारण प्रजातन्त्रमा विश्वास गर्ने साथीहरुले प्रजातन्त्रवादीलाई नै भोट दिनुपर्छ ।’  उनले प्रजातन्त्रको हिमायती पार्टीले आज प्रजातन्त्र विरुद्ध युद्धमा उत्रिएकाहरुसँग सहकार्यको लागि अपवित्र गठबन्धन गरेको उनको भनाई छ । 

उनले काठमाडौं क्षेत्र नं. २ मा रहेको जहरसिंह पौवामा झन्डै दुई सय रोपनी सरकारी जग्गा अमेरिकी सहयोग परियोजना (एमसीसी)ले कब्जा गरेको प्रति त्यस क्षेत्रका जनता आक्रोशित भएको सुनाइन् । उनले त्यहाँको भौगोलिक अवस्था जनताको आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धनका लागि उपयुक्त रहेको बताउँदै सो भूमी एमसीसी परियोजनाबाट खाली गराउनुपर्ने बताइन् । 

उनले आफू निर्वाचित भएमा ती क्षेत्रमा व्यवस्थित ढंगले विकासका काम गर्ने बताउँदै संसदमा राज्यका लागि नयाँ नीति निर्माण गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गरेकी छिन् ।  कार्यक्रममा प्रमुख अतिथि रहेका राजेन्द्र लिङ्देनले आगामी प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिक तर्फ ३० लाख मत ल्याउने दावी गरेका छन् । 

सो कार्यक्रममा काठमाडौं क्षेत्र नं. २ (क) का प्रदेश उम्मेदवार सुनिल केसी, प्रदेश (ख) का उम्मेदवार राजु विष्ट, राप्रपा काठमाडौं जिल्ला सभापति नवराज सिंखडा लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप