सिन्धुपाल्चोकका मतदाता भन्छन्– विकास गर्नेलाई भोट दिन्छौँ
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा रहेका छन् । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट उनले स्मरण गरे ।
चुनावी रमझमले छोई नसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भने । हालसम्म १२ पटक भोट हालिसक्नुभएका उहाँ गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफुहरुले दुःख पाएको बताउँछन् । छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ ।
“यसपाली सबैले सामूहिकरुपमा भोट हाल्ने सल्लाह भएको छ”, ५० वर्षीय तेजबहादुर माझी भन्छन्, “छोरा नातिका लागि विकास आवश्यक छ ।” साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुईसय नौ माझी परिवारको बसोबास छ । चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भोट दिनेसमेत गरेको शिक्षक गणेश माझी बताउँछन् । अब स्थानीयले मताधिकारबारे बुझ्न थालेकाले पैसा र भोज खाएका आधारमा भोट हाल्ने चलन हट्ने उनको विश्वास छ ।