शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेसपाको घोषणापत्र : प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद् (पूर्णपाठसहित)

आइतबार, ०६ कात्तिक २०७९, १५ : ४३
आइतबार, ०६ कात्तिक २०७९

‘नेपाल समाजवादी पार्टीको दूरदृष्टि ! सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि !’ भन्ने मूल नारासहित डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७९– का लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक तीन खण्डमा रहेको घोषणापत्रमा नेसपाले हालको निर्वाचन प्रणाली र शासकीय त्रुटिपूर्ण रहेको भन्दै त्रुटि नसच्चाएसम्म राजनीतिक स्थिरता, सुशासन र समृद्धि सम्भव नहुने उल्लेख गरेको छ । घोषणापत्रको खण्ड १ मा विचार र राजनीति – सुशासन र समृद्धि शीर्षकामा  नेपालमा विकास नहुनुका कारण र समस्याबारे उल्लेख गरिएको छ । जसमा

पहिलो कडी–संविधान संशोधन मार्फत लोकतन्त्रको लोकतान्त्रीकरण गर्नुपर्ने उल्लेख छ भने दोस्रो अहिले अभ्यास गरिरहेको लोकतन्त्र सीमित र औपचारिक प्रकारको लोकतन्त्र भएकाले मुलुक भित्रका सम्पूर्ण नागरिकलाई वास्तविक रूपमा सार्वभौमसत्ता सम्पन्न नबनाईकन लोकतन्त्र सबल, सक्षम र कामयाबी नहुने उल्लेख छ । ‘यो औपचारिक लोकतन्त्रलाई पूर्ण लोकतन्त्रमा रूपान्तरण गर्न वर्तमान संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लगायतका निम्ति संशोधन गर्नु पर्दछ’, सो पार्टीले संविधान संशोधनमा जोड दिएको छ ।

त्यसै गरी राष्ट्रिय स्वाधीनता, सङ्घीय शासन प्रणाली, समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्र, सुशासन र सदाचार एवं समतामूलक समृद्धिको योगफल नै समुन्नत समाजवाद रहेको उल्लेख छ । ‘यी आयामहरूको सही तरिकाबाट गरिने कार्यान्वयनबाट मात्र मुलुकको दिगो आर्थिक–सामाजिक विकास हुनेछ र नेपाल समृद्ध बन्नेछ’, नेसपाको ठहर छ ।

‘२०७४ सालमा भएको आम निर्वाचनपछि बनेको झन्डै दुई तिहाइ बहुमत नजिकको सरकारले पनि पूरा कार्यकाल पूरा गर्न नसकेबाट हाम्रो निर्वाचन प्रणाली र शासकीय स्वरूपमा गम्भीर त्रुटि छ र त्यो त्रुटि नसच्याएसम्म देशमा राजनीतिक स्थिरता हुन्न र राजनीतिक स्थिरताबिना देशमा सुशासन र समृद्धि आउन्न भन्ने पुष्टि भैसकेको छ’, नेसापाले भनेको छ, ‘यही तथ्यलाई आत्मसात् गर्दै हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्को माग उठाएका छौँ र समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको ध्येय अनुसरण गर्ने नेपाल समाजवादी पार्टी (नेसपा)को रूपमा वैकल्पिक शक्ति निर्माण गरेर तपाईंहरू समक्ष उपस्थित भएका छौँ ।’

नेसपाले शैशवकालमै रहेपनि पार्टीको दृष्टिकोण र लक्ष्य प्रस्ट भएको जनाएको छ । ‘आगामी दिनमा देशमा प्रगतिशील लोकतान्त्रिक र समाजवादी शक्तिहरूको वृहत् ध्रुवीकरण गरेर भरपर्दो वैकल्पिक शक्ति निर्माण गर्ने हाम्रो लक्ष्य छ । तत्काल हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराशायी पार्ने प्रतिगमनकारी शक्तिहरूकाविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको वृहत् गठबन्धनको हिस्सा बनेर यो आम निर्वाचनमा प्रस्तुत भएका छौँ’, सो पार्टीले भनेको छ ।

नेसपाले घोषणापत्रमा लोकतन्त्रको लोकतान्त्रिकरणका लागि १० बुँदे संकल्प अघि सारेको छ । जसमा राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुरूप प्रदेशहरूको पुनर्संरचना, अन्तरपार्टी लोकतन्त्र सुदृढ गर्न सबै दलका सबै तहमा प्राइमरी इलेक्सन, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखमा एक व्यक्ति एक कार्यकालभन्दा बढी हुन नपाउने, स्वतन्त्र मन्त्रीमण्डल गठन, सांसदको भुमीमा विधायकीमात्र, राष्ट्रिय जीवनका महत्त्वपूर्ण सवालमा जनमत सङ्ग्रह, निर्वाचनमा राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था र आर्थिक पारदर्शिता सङ्कल्पका रूपमा अघि सारेको छ ।

नेसपा मङ्सिरको निर्वाचनमा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह ‘गोलाकारभित्रको हँसिया र हतौडा’ चुनाव चिह्न लिएर चुनावमा जाँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप