सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

‘तिहार सम्झाउने देउसी, भैलो गीत’

आइतबार, ०६ कात्तिक २०७९, १५ : २९
आइतबार, ०६ कात्तिक २०७९

नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वषौँदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरूले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।
    
तिहारै आयो लौ झिलिमिली ...

नेपाली पुरानो चलचित्र स्वर्गमा रहेको यो गीतको पहिलो धुन बजेपछि बल्ल तिहारको रौनक बढ्छ । यो गीतको धुनसँगै हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको सम्म आइपुग्दा माहोल उल्लासमय हुन्छ र हरेक नेपालीले तिहार आएको अनुभूति गर्छन् । यो गीत तिहारका लागि त मुख्य गीत नै हो । त्यसैले यस गीतलाई तिहार, देउसी भैलोमा बज्ने गीतमा सम्झिनै पर्छ । लोचन भट्टराई र नूतन प्रधानले गाएको यस गीतमा सङ्गीत यादव खरेलको छ । विशेषगरी भैली गीत रहेकाले यसमा चेलीहरुको भैली गीतको सुगन्ध पाइन्छ । यस गीतलाई नेपाली चलचित्रको गीतहरुमा चाडबाड समेटिएको उत्कृष्ट गीतमा पनि लिन सकिन्छ । हरेक देउसी भैलो खेल्ने समूहले यो गीतलाई प्राथमिकतामा बजाउँदै नृत्य गर्ने गरेका छन् ।

सिमल बारुलै...

नवीन खड्का, पुस्तका खड्का र साथीहरुको स्वरमा सजिएको देउसी गीत सिमल बारुलै सम्भवतः एक दशकदेखि नेपालका गाउँ सहर जतातै बढी घन्किने देउसी गीत हो । यो गीत घन्किन थालेपछि धेरै देउसी समूहले यसै गीत बजाएर देउसी खेल्ने गरेका छन् । करिब १८ मिनेटको यो गीतमा देउसी खेल्न आउनेहरुले घर प्रवेश गरेदेखि बिदा हुनुपूर्वका सबै भाका र शब्दहरुलाई सयपत्रीको माला उनेजस्तै गरी उनिएको छ । एकान्त रातमा देउसी, भैलोको आवाजसँगै कुकुर भुकेपछि घरमा हुने बूढाबूढीको संवादबाट सुरु हुने देउसी रोचक छ । भट्याउने देउसी भन्नेसँगै बीचबीचमा आएका पूर्वेली भाकाले छुनसम्म मन छुन्छ । यसकारण पनि यो गीत देउसीको सदावहार गीतभन्दा फरक पर्दैन  ।  

     ढक र मक फूलैमा र फुल्यौ सिमल बारुलै फूलबारी हजुर बगानमा 
        नाचनी र आयौ खेलनी र आयौं सिमल बारुलै लक्ष्मी हजुर आँगनमा 
        ए आ है ...हहाहहाहहाहहा...

देउसी नृत्यका रुपमा दर्शकमाझ ल्याइएको यो गीतको सङ्कलन लक्ष्मी पराजुलीले गरेकी हुन् । नेपाली लोक सांस्कृतिक केन्द्रले ल्याएको यो गीत हाम्रो भाका हाम्रो संस्कृत एल्बमको भाग २ मा समावेश छ । यस गीतमा सांस्कृतिक केन्द्रलाई मरुवा माझगाउँ सङ्खुवासभाका स्थानीयवासीले देउसी खेल्न सघाएका छन् । यसर्थमा यो पूर्वेली माटोको सुगन्धले भरिएको भाका हो । तर विस्तारै यो भाकाले देशभरका गाउँगाउँ सम्म घन्किने र मन छुने गरेको छ । देउसीको सुरुआतदेखि आशिक दिने र बिदा हुनेसम्मका सवै विषयलाई लय मिलाएर भाका बनाइएकाले पनि यो गीत देउसी खेल्नका लागि पूर्ण गीत हो । 

फूलको थुङ्गा टपक्कै टिपी ....
फूलको थुङ्गा टपक्कै टिपी देउराली चढाउँदै
देउसीमा आयौँ भैलेनी आयौँ तिहार मनाउँदै

अरुण उपत्यकाको यो गीतमा पनि नवीन खड्का, पुस्तका खड्का र साथीहरुको स्वर सुन्न सकिन्छ । पूर्वेली लोकसंस्कृति संरक्षणमा अब्बल अरुण उपत्यकाको लोकसुसेलीहरुको संरक्षणमा लामो समयदेखि कृयाशील खड्काको स्वरमा सजिएको यो गीत पनि नेपाली माटोको सुगन्ध बोकेको देउसी गीत हो । यस गीतको अध्ययन सङ्कलन नवीन खड्काले गरेका हुन्। सङ्गीतमा खड्कालाई यस गीतमा शिलाबहादुर मोक्तानले पनि सघाएका छन् । आधा दशक अघिदेखि स्रोत दर्शकमाझ आएको यो गीत पनि पूर्वेली माटोको गीत हो । १३ मिनेट बढीको यो गीत पनि देउसीको लागि तयार गरिएको पूर्ण गीत हो । देउसी सुरु, मध्य र आशिक दिंदै देउसी घरबाट बिदा हुने प्रकृयालाई समेटिएको यो गीत पनि देउसीका लागि महत्वपूर्ण गीत हो ।

    यसपालिको तिहारै रमाइलो...

पछिल्लो समय देउसीसँगै नृत्य गर्ने परम्परा बढ्दो छ । नृत्य बिनाको देउसी समूहको आकर्षण नै घट्न थालेको छ । यसर्थमा सामूहिक रुपमा आयोजना हुने देउसी कार्यक्रमहरुमा नृत्य राखिएकै हुन्छ । यस्ता नृत्यमा छुट्दै नछुटेको गीतमा यो गीतलाई पनि लिन सकिन्छ । कोहिनुर चलचित्रको यो गीत चलचित्रसँगै धेरैले मन पराएको गीत हो । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको यो गीत शम्भूजित बास्कोटाले सङ्गीत भरेका छन् । नेपाली देउसीको समयलाई दृष्यमा देखाइएकाले र समसामयिक तिहारसँग जोडिएको यो गीत पनि देउसीमा बज्ने उत्कृष्ट गीतमा पर्दछ । 

देउसी, भैलो गीत देउसिरे भन साथी हो ...

नेपाली गीत सङ्गीतमा चाडबाडलाई लक्षित गरी नयाँ सिर्जना ल्याउने चलन कायम नै छ । नयाँदेखि चलेका पुराना सर्जकहरु यस्ता सिर्जना बनाउन लोभिन्छन् । यसैक्रममा यसवर्षका लागि भर्खरै मात्रै पशुपति शर्मा, शान्तिश्री परियार, सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको नयाँ देउसी गीत सार्वजनिक भएको छ । यसले पनि छोटो समयमा दर्शक स्रोताहरुको मन जितिरहेको छ । गुडलक नेपाल युट्युव च्यानलमा सार्वजनिक भएको यो गीतले १० दिनमै करोड ‘भ्युज’ पाइसकेको छ । मुख्यगरी पशुपति शर्माले मुख्य भूमिका निर्वाह गरेको यो गीतले पनि तिहारमा रमाइलो दिन थालेको छ । 

यी गीतहरुका अलावा तिहार भन्ने बित्तिकै अन्याय चलचित्रको अधरमा आज उनकै छ गीत, आशा भोस्लेको दियो बाली साँझको, विजय पराजय चलचित्रको निधारमा लर्काएर सप्तरङ्गी टीका, राजु लामाको स्वरमा रहेको भाइटिकामा भेट्न आउँला बोलको गीतले पनि देश विदेशमा रहेका नेपालीको मन बिझाँउछ र बेस्सरी तिहार सम्झाउँछ । त्यस्तै टङ्क बुढाथोकीको भन भन भाइ हो, धर्मेन्द्र सेवानको देउसिरे, एक्स व्याण्डको देउसी भैलोलगायतका थुप्रै गीतलाई तिहारमा बज्ने गीतहरूका रुपमा लिन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप