पुष्प मेलामा अवलोकन कर्ताको गुनासो : विदेशी फूल धेरै देखिए

ललितपुरको जावलाखेल खेल मैदानमा शुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आयातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरूले गुनासो गरेका छन् । कात्तिक ३ गतेदेखि शुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको फूलहरु बढी प्रदर्शनीमा राखिएको अवलोकनकर्ताहरुले गुनासो गरेका हुन् ।
अवलोकनकर्ताहरुका अनुसार काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाएपनि यसवर्ष विगतको तुलनामा ३० प्रतिशतभन्दा धेरै फूलको मूल्य महंगो रहेको बताए । दक्षिणकालीबाट मेला अवलोकनका लागि आइपुगेका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भएपनि नेपालमै उत्पादन भएका फूलहरु भन्दा विदेशबाट आयात गरिएका फूलहरुको मेलामा धेरै भेटिएको बताए ।
उनले फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी स्थान उचित फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको बताए । उनले भने, ‘यस्तो फूलसम्बन्धी मेला राख्नु राम्रो हो तर धेरैजसो विदेशबाट आयात गरेको फूलहरु देखियो । नगरपालिकाहरु कुन बिरुवालाई प्रोत्साहन गर्न सकिन्छ त्यसको अध्ययन भएर, नेपालकै बीउलाई प्रोत्साहन गर्ने हो भने गाउँगाउँमा गएर सरकारले अध्ययन गर्न जरुरी छ ।’
त्यस्तै अर्का अवलोकनकर्ता जीवन श्रेष्ठले मेलामा पुरै काठमाडौंका नर्सरीहरुको अवलोकन गर्न सकिने भएकाले राम्रो लागेको बताए । उनले मेलामा विदेशबाट आयात गरिएका महंगा फूलहरु पनि राखिएको बताए । त्यस्तै अवलोकनकर्ता पुष्पा सिंहले विगतको तुलनामा यसवर्ष २५/३० प्रतिशत भन्दा बढी फूलहरुको बजार महंगी रहेको बताए । उनले गत वर्ष ५ सय रुपैयाँमा पाउने फूल यसवर्ष हजार रुपैयाँसम्म परेको बताए ।
त्यस्तै व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताउँछन् । ओम नर्सरीकी पुष्पा घिमिरे पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताउँछन् । उनले नेपालमै फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यक रहेको त्यसमा सरकारले सहयोग गर्नुपर्ने बताए । त्यस्तै अर्का व्यवसायी सुमन महर्जन अहिले पुष्प व्यवसायमा गुणस्तरमा प्रतिष्पर्धा भन्दा पनि मूल्यमा धेरै प्रतिष्पर्धा भइरहेको गुनासो गर्छन् । त्यस्तै अर्का व्यवसायी सुवास लामा मेलामा नयाँ ग्राहकका लागि चिन्ने अवसर हुने बताए । मेलाहरुले ग्राहकहरुलाई पनि एकै ठाउँमा रोजिरोजि फूल किन्न पाउने अवसर प्रदान गरेको बताए ।
फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । तिहारको (पाँच दिन) मा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ । मेला आजसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु