आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपामा ‘सी’ थर लागू

आइतबार, ०६ कात्तिक २०७९, १३ : ५३
आइतबार, ०६ कात्तिक २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताले आफ्नो नामका पछाडि  ‘सी’ राख्न थालेका छन् । पार्टीको नौ महाधिवेशनमा विप्लवले जात व्यवस्थाको अन्त्य गर्न हरेक पार्टी सदस्यले नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेका थिए । 

जातिय व्यवस्थाले जकडिएको नेपाली समाजमा विप्लवले थप अर्को नयाँ थरको नामकरण गरेका छन् । कम्युनिस्ट पार्टीले जात व्यवस्थाबाट हुने विभेदलाई अन्त्य गर्नुपर्नेमा उल्टै जात व्यवस्थालाई प्रसय दिएका छन् । विप्लवले महाधिवेशन हलबाट विशेष प्रस्तावको रुपमा नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेपछि पार्टीका कार्यक्रम, डकुमेन्ट र सामाजिक सञ्जालमा ‘सी’ राख्न थालेका छन् ।

पार्टीका नेता कार्यकर्ताले पार्टीको निर्देशन बमोजिम आ–आफ्नो अनुकूलमा सी राख्न थालेका हुन् । ‘पार्टी महाधिवेशनमा महासचिव कमरेडले विशेष प्रस्तावको रुपमा नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गर्नुभयो । हलबाट डगडगाहट तालिका साथ पारित भयो’ केन्द्रीय सदस्य शेरबहादुर विश्वकर्माले भने, ‘पार्टीको नीति बमोजिम नेता कार्यकर्ताले आफ्नो नामका पछाडि सी लेख्न थालेका हुन् । अब हामी नामका पछाडि कुनै थर राख्दैनौ ।’

नेपाली समाज धेरै वर्षदेखि जातजाति व्यवस्थाको जाँतोमा पिल्सिएकाले नामका पछाडि सी राखेर जात व्यवस्था उन्मुलन गर्न खोजेको विश्वकर्माले जिकिर गरे । ‘हामी कम्युनिस्ट पार्टीमा छौं । हामीले जात, धर्म, धनी, गरिबको विभेदलाई अन्त्य गरेर समतामूलक समाज निर्माण गर्न खोजेका छौ’ उनले भने– ‘पार्टीमा त्यो बाहुन, त्यो क्षेत्री, राई, लिम्बु, मगर तामाङ, दलित भन्ने जस्तो हुनसक्छ । त्यसैले पार्टीका सबै साथीहरुले सी लेख्ने र त्यसपछि पार्टी बाहिर पनि लागू गर्ने भनेका छौ ।’

 कम्युनिष्टलाई इंगित गरेर सी नाम राखिएको सो पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीले बताए । ‘नामको पछाडि सी राख्नुको कारण कम्युनिष्ट अर्थात साम्यवादी विचार प्रतिनिधित्व गर्न राखेको हौं । यसको अर्को अर्थ छैन ।’

तत्कालीन माओवादीले जनयुद्धका क्रममा जात व्यवस्थाको अन्त्य गर्ने भन्दै छदम भेषमा उपनाम राख्ने गरेका थिए । जातमा महिला पुरुष मात्रै हुने भएकाले नामको पछाडि थर नराखेर उपनाम राख्ने गरेका हुन् । अहिले फेरि विप्लवले नामका पछाडि सी राखेर नयाँ थरको नामकरण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप