आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको चुनाव चिह्नमा भोट माग्दै बाबुरामका १२ बाचा, मतदातालाई 'एक पन्ने' पत्र

आइतबार, ०६ कात्तिक २०७९, १३ : ००
आइतबार, ०६ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडामा चुनावी गतिविधि गर्दै आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले  मतदाता सामू १२ बाचा गरेका छन् । उनले माओवादीको गोलाकारभित्रको हँसिया हथौडामा भोट माग्न मतदातालाई ‘एक पन्ने’ पत्र नै तयार गरेका छन् । 

समाजवादी पार्टी निकट स्रोतका अनुसार ‘सबैलाई लोकतन्त्र सबैलाई समृद्धि’ भन्न मुल नाराका साथ भट्टराईले तयार गरेको चुनावी घोषणापत्रमा मतदाता सामू विभिन्न १२ बाचा गरिएको छ । 

जसमा प्रविधि र व्यवहारिक सीपयुक्त शिक्षाको सरकारी स्कुलमा व्यवस्था गर्ने, सदस्यता र सुधारिएको स्वास्थ्य सेवा उपलब्ध गराउने, लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारीको सिर्जना गर्ने, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीको लागि पहल गर्ने बाचा गरिएको छ । 

यस्तै भ्रष्टाचारलाई जरैबाट निर्मूल गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्ने, हरियो, सफा र खुला शहरको अवधारणा ल्याउने, उद्यमीलाई देशभर प्रोत्साहन गर्ने, व्यवसायिक कृषिलाई प्राथमिकता दिने, भौतिक पूर्वाधारमा विशेष पहल गर्ने, प्रविधि र अनुसन्धानलाई जोड दिने, बिजुलीलाई प्रमुख ऊर्जाको रुपमा लिने र महिला सुरक्षाको ग्यारेन्टी गर्ने बाबुरामको पार्टीको बाचा छ । 

भट्टराईले घोषणापत्रमार्फत मतदातालाई एक पन्ने पत्र समेत तयार गरेको एक नेताले जानकारी दिए । पत्रमा भट्टराईले देशको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि आफूले निरन्तर राजनीतिक प्रयोग गर्दै आएको उल्लेख गरेका छन् । अहिले आफू चुनावी अभियानबाट अलग भएको तर राष्ट्र निर्माण अभियानको संकल्पमा अडिग रहेको उल्लेख गरेका छन् । 

पत्रमा भट्टराईले प्रगतिशील राष्ट्रवादमा आधारित स्वाधीनता, संघीयताको सुदृढीकरण अनि समावेशी, समानुपातिक सहभागितामूलक लोकतन्त्रको लक्ष्य हुनुपर्नेमा पनि जोड दिएका छन् । नैतिक नेतृत्व, सुशासन र सदाचार सबैको संकल्प हुनुपर्नेमा जोड दिँदै भट्टराईले सडक, सदन  सरकारका मोर्चाहरुबाट एकीकृत रुपान्तरणकारी अभियानले मात्रै लक्ष्यमा पुग्न सकिने बताएका छन् । 

‘सम्भावनापूर्ण व्यावसायिक करिअरलाई छोडेर पूर्णकालीन राजनीतिमा होमिँदा, जनयुद्धको नेतृत्व गर्दा वा शान्तिप्रक्रियामा सहभागी हुँदा पनि म कहिल्यै निजी आकांक्षाले प्रेरित भइनँ’, भट्टराईको पत्रमा भनिएको छ, ‘एउटा सामान्य किसानको छोरो देशवासीको प्रेम पाएर प्रधानमन्त्रीसमेत बनेँ । त्यो प्रेमको ऋण तिर्न मेरो बाँकी जीवन पनि राष्ट्र निर्माणमै समर्पित गर्ने मेरो संकल्प छ । हामीले राजनीतिक क्रान्ति आधारभूत रुपमा पूरा गरेका छौँ । अब आफ्नै जीवनकालमा आर्थिक क्रान्ति गरेर समतामूलक समृद्धिको प्रत्याभूति मेरो जीवनको लक्ष्य हो ।’

पत्रमार्फत उनले  आम निर्वाचनमा प्रतिगमनकारी शक्तिहरूका विरुद्ध अग्रगमनकारी शक्तिहरूलाई विजयी गराउन अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप