शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

युवालाई निःशुल्क विदेश पठाउँछौँ र हामी वृद्धवृद्धा सधैँ नेता भइराख्छौँ

आइतबार, ०६ कात्तिक २०७९, १२ : २०
आइतबार, ०६ कात्तिक २०७९

हेर्नुस्, जगजाहेर छ– यो देश युवाकै रेमिटेन्सले धानिएको छ । हामी नेता हौँ, हामीलाई विदेश गएर रेमिटेन्स भित्र्याउने युवाप्रति गर्व छ । युवाहरूलाई फ्री भिसा र फ्री  टिकट विदेश पठाउने हाम्र्रो मूल एजेन्डा, मूल लक्ष्य, प्रमुख नीति तथा कार्यक्रम र हाम्रो पार्टी तथा गठबन्धनको महान् घोषणापत्र हो । यही एजेन्डाका साथ हामी राजनीतिमा लागिपरेका छौँ । 

मान्छेहरू भन्छन्– रेमिटेन्स बालुवाको घर हो । हामी भन्छौँ– होइन, यो त हामी वृद्ध नेताका लागि महान् अवसर हो । जुनसुकै मूल्यमा युवाहरू विदेश जानुपर्छ र हामी वृद्धवृद्धा नेता भइराख्न पाउनुपर्छ । हामीसँग भिजन छ, रेमिटेन्सबाट देश चलाउने । हामीले युवा जनशक्तिलाई विदेश पठाएर रेमिटेन्स भित्र्याउँछौँ, अनि भारत र चीनबाट चामल बेसाइरहन्छौ । 

विद्वानहरू गफ गर्छन्– राष्ट्रिय उत्पादन बढाएर देश आत्मनिर्भर बन्छ, यसका लागि विशेषतः कृषिमा जोड दिनुपर्छ, कृषिका लागि युवा जनशक्ति आवश्यक छ । यो बेकारको कुरा हो, हामी वृद्ध नेतालाई सिध्याउने चाल हो । यस्ता दीर्घकालीन योजना बनाएर देश कहिले बन्छ ? आज युवालाई विदेश पठाउने हो भने ऊ गएको दुई महिनादेखि रेमिटेन्स भित्रिन थाल्छ । यस्तो मौका किन गुमाउने ? 

फेरि देश आत्मनिर्भर भयो भने युवाहरू राजनीतिमा आउँछन् । उनीहरूले विज्ञान र प्रविधिमा जोड दिन्छन्, अनि समाज भाँड्छन् । त्यसैले यसपालिको चुनावमा हामीलाई जिताउनुस्, हामी तपाईंलाई नो ढेउवा विदेश पठाउँछौँ । तपाईंलाई तुरुन्तै ढेउवा कमाउने बनाउँछौँ । त्यसैले हामीले ‘नो ढेउवा म्यान पावर’को योजना ल्याएका छौँ । कृपया, तपाईंले हामीलाई भोट दिनुस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप