आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो प्रतिस्पर्धी एमाले हो : अध्यक्ष लिङ्देन

आइतबार, ०६ कात्तिक २०७९, ११ : ५२
आइतबार, ०६ कात्तिक २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा एमालेसँग हुने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित काठमाडौं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् ।

 उनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू १ सयभन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको जिकिर गरे । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा पनि पटक–पटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने बताए ।

उनले काँग्रेस र माओवादी लगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै काँग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए । उनले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गरे । 

उनले भने, ‘यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन । यसपटक राप्रपाको चुनावी प्रतिष्पर्धा नेकपा एमालेसँग भएको छ । अरु पार्टीहरूको त हिसाबकिताब नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । काँग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा तल छन् । अनि सरकार बनाउँछु, सरकारको नेतृत्व गर्छु र आगामी दिनमा प्रधानमन्त्री हुन्छु भन्छन्, नेकपा एमालेको हाराहारीमा उम्मेदवारी प्रस्तुत गर्नसक्ने राप्रपा मात्रै हो । हिजो हामी ४ सिटमा उम्मेदवारी उठाएर हिँडेका थियौँ, आज १४० सिटमा छ । अप्रत्याशित रुपमा परिणाम आउने छ ।’

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताए । अध्यक्ष लिङ्देनले देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको बताए । उनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए । 

उनले भने, ‘जो नेतृत्व पटक–पटकको नेतृत्वमा असफल भइसक्यो, त्यही नेतृत्व र त्यही पार्टीलाई हामीले मेरो पार्टी, पुरानो पार्टी भनेर भोट हालिराख्ने हो भने दुःख हामीले नै पाउँछौँ । यसकारण यसपटक त्यो गल्ती गर्ने छुट कसैलाई छैन । अहिले काँग्रेस, माओवादी पार्टीमा रहेका मतदाताहरू राप्रपाको सक्रियता खोजिरहेका छन् । अहिले काँग्रेस, कम्युनिष्टको झण्डा घरधुरीमा राखेर भएपनि राप्रपालाई भोट दिन मान्छे तयार छन् ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार कुन्तीदेवी पोखरेलले आगामी निर्वाचन राष्ट्रवादीको जित वा हार भन्नेमा नै केन्द्रित हुने बताइन् । उनले नेपाली काँग्रेसका मतदाताहरूले किसुनजी, गणेशमान सिंह र बिपी कोइरालाको सिद्धान्तलाई पछ्याउने वा प्रचण्डपथमा लाग्ने भन्ने तय गर्ने निर्वाचन भएको पनि बताइन् । उनले आगामी निर्वाचनमा राष्ट्रवादी पार्टी राप्रपालाई जिताउनुको कुनै विकल्प नभएको बताइन् ।

उनले भनिन्, ‘किसुनजी, गणेशमान सिंह र बिपी बाबुको सिद्धान्त मान्नुहुन्छ कि प्रचण्डपथमा जानुहुन्छ ? आगामी निर्वाचनले तय गर्नेछ । राष्ट्रवादी व्यक्ति र पार्टी राप्रपालाई आगामी निर्वाचनमा जिताउनुको विकल्प छैन । काठमाडौंको २ नम्बर क्षेत्र कर्णाली भएको छ ।’ उम्मेदवार पोखरेलले काठमाडौं क्षेत्र नम्बर २ विकास निर्माणमा कर्णाली भन्दा कमजोर रहेको जिकिर गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप