शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारको भ्रष्टाचारविरोधी एजेण्डा, सुशासन र सदाचारमा जोड

आइतबार, ०६ कात्तिक २०७९, १० : ३८
आइतबार, ०६ कात्तिक २०७९

चुनावको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । सोही निर्वाचन क्षेत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित स्वतन्त्रबाट रञ्जु दर्शनालगायतको उम्मेदवारी रहेको छ । 

काठमाडौं क्षेत्र नम्बर ५ मा रोचक भिडन्त हुने आँकलनका बीच सबै उम्मेदवारले आफ्नो चुनावी अभियानलाई गति दिएका हुन् । यहीबीच सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले भ्रष्टाचारविरोधी एजेण्डा अघि सारेका छन् । उनले सुशासन र सदाचारमा जोड दिँदै असल संस्कारयुक्त राजनीति हुनुपर्ने धारणा राख्दै आएका छन् । चुनावी अभियानका क्रममा उनले राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने भन्दै युवा सहभागितामा समेत जोड दिँदै आएका छन् । 

यहीबीचमा पौडेलले ‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ ! भ्रष्टाचार’ नामको चुनावी एजेण्डासहितको नारा सार्वजनिक गरेका हुन्। सार्वजनिक नाराको अन्त्यमा ‘डिस्लाइक’ चिन्ह प्रयोग गरिएको छ। डिसलाइक चिन्हको अर्थ भ्रष्टाचारलाई डिसलाइक भन्ने रहेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भ्रष्टाचार गर्ने व्यक्तिलाई समाजले मन नपराउने र अहिले सामाजिक सञ्जालको दुनियाँमा ईमोजी को प्रयोग बढी हुने हुँदा सामाजिक सञ्जालकै भाषामा डिसलाइक ईमोजी प्रयोग गरिएको हो। 

पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि राज्यको कार्यकारी भूमिकामा रहेकाहरुको अख्तियारले सम्पत्ति छानविन गर्न पाउनुपर्ने समेत बताउँदै आएका छन्। ‘सुझबुझ सहितको निष्ठा, इमान्दारिता र जवाफदेहिताको राजनीतिले मात्रै सुशासनको ग्यारेन्टी गर्न सक्छ र देश र नागरिकका तमाम समस्याहरुलाई पार लगाउन सक्छ’ पौडेलको भनाइ छ, ‘मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक संस्कारको सकरात्मक रुपान्तरणका लागि सुशासन र सदाचार आधारभूत सर्त हो ।’

पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ‘बिसिडी’ मोडल पनि अघि सारेका थिए।  ‘बी’ अर्थात ब्रेन ड्रेनको समस्या समाधान गरेर नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यबाट गराउन नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्ने, ‘सी’ अर्थात करप्सन (भ्रष्टाचार) अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने र अन्तिम मोडल अर्थात ‘डी’ डेभलपमेन्ट (विकास) र यसको व्यवस्थापन गरी व्यवस्थित ढंगबाट कम खर्चमा धेरै उपलब्धिहरू हासिल गर्न सकिने उनको धारणा छ । 
यही एजेण्डाका साथ पौडेलले घरदैलोदेखि विभिन्न व्यक्तित्वहरुसँग छलफल चलाउँदै आएका छन् । जसअनुसार पौडेलले शनिबार वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गीय नेता उज्जवल थापाका परिवारसँग भेटवार्ता गरेका थिए। 
यसअघि पौडेलले कलाकार हरिवंश आचार्यलगायतसँग पनि भेट गरेर छलफल गरेका थिए । 

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप