आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोटरी स्क्वायरमा पालाको ताँती, प्रजापतिहरू भन्छन्– ‘माटो नहुँदा पेसा संकटमा पर्‍यो’

आइतबार, ०६ कात्तिक २०७९, १० : २३
आइतबार, ०६ कात्तिक २०७९

भक्तपुरको ‘पोटरी स्क्वायर’ (कुमाले टोल) यतिखेर माटोको पालाले ढाकिएको छ । तिहार नजिकिएसँगै यहाँका प्रजापतिहरू माटोको पाला, धुपौरो लगायत सामग्री बनाउन व्यस्त छन् ।  

आइतबार ४७ वर्षीय  सहदेव प्रजापति चक्र (नेवारीमा चाखा)मा पालालाई आकार दिँदै थिए । उनले १५ वर्षको उमेरदेखि माटोका भाँडा बनाउन थालेका हुन्  । विशेषतः तिहारका बेलामा पालाको माग बढी हुने भएकाले यतिखेर उनको दम्पती पाला बनाउनै व्यस्त छ । ‘कोरोनाका कारण पालाको माग घटेको थियो, यो वर्ष भने माग बढेको छ,’ उनी भन्छन्, ‘लक्ष्मीपूजाका लागि  बाहिरी जिल्लाबाट पनि पालाको माग बढी आउन थालेको छ ।’ 

यो दम्पतीले यतिखेर दिनमै एक हजार पाला तयार गर्छन् । यसपालि उनले सात हजारजति पाला बनाउने अर्डर लिएका छन् । उनका अनुसार, व्यापारीले अर्डर गरे मात्रै उनीहरूले पाला बनाउने गर्छन् । अहिले एउटा पालाको पाँच रुपैयाँ पर्छ । 

माटोको भाँडा बनाउने उनको पुख्र्यौली पेसा हो, यही पेसाबाट उनले चारजनाको परिवार धान्दै आएका छन् । उनका दुई सन्तान भने अहिले पढ्दै छन् ।

माटोको समस्याका कारण अहिले आफूहरूको कमाइ घटिरहेको उनी बताउँछन् ।  ‘पहिलाभन्दा अहिले काम गर्न सजिलो छ, हातले घुमाउनुपर्ने चक्रलाई अहिले बिजुलीले  घुमाउँछ, आधुनिक भट्टीमा पोलिन्छ,’ उनी  भन्छन्, ‘तर बजारिया प्लास्टिकका भाँडाका कारण माटोका भाँडाको चलन घटेको छ ।’ 

६८ वर्षका तुलसीराम प्रजापति चक्रमा सानो आकारको घैँटो (जसमा दही जमाउने वा कलशको लागि पनि प्रयोग गरिन्छ) बनाउँदै थिए । उनले १५ वर्षको उमेरदेखि उनी माटोका सामग्री बनाउन थालेका हुन् । यसपालि भने उनले पाला बनाउने अर्डर लिएनन् । ‘अर्डर लिँदा दिनरात भन्न पाइँदैन, टाइममै दिनुपर्छ, त्यसैले अर्डर लिइनँ,’ उनी भन्छन् ।

उनका अनुसार, पाला तयार हुन तीन दिनसम्म लाग्छ । चक्रबाट तयार भएको पालालाई दुई दिन घाममा सुकाइन्छ, त्यसपछि त्यसलाई भट्टीमा आठ घन्टा पोल्नुपर्छ । उनका अनुसार, नेवार समुदायमा भने पहिलेदेखि नै नसुकेको अर्थात् काँचो पालामै बत्ती बाल्ने प्रचलन थियो ।

यो उनको पुर्ख्यौली पेसा हो, अहिले उनी र उनकी पत्नी मात्रै यो पेसामा छन् । माटोको समस्याका कारण आफ्ना छोराछोरी यो पेसामा नआएको उनी बताउँछन् । 

‘पहिला पहिला यतै नजिकैबाट माटो ल्याउन पाउँथ्यौँ । अहिले ती ठाउँमा बस्ती बसेको छ । उनीहरूले माटो दिँदैनन्,’ उनी भन्छन्, ‘माटो किन्नुपर्छ तर पैसा परेअनुसारको माटो पाइँदैन ।’ 

आफ्नो परिवारसँग बसेर काम गर्न सकिने र अरुको अधिनमा काम गर्ननपर्ने भएकाले उनलाई आफ्नो पेसा राम्रो लाग्छ । माटोको समस्याका कारण व्यवसाय नै छाड्नुपर्ने हो कि भन्ने  चिन्तामा उनी छन् ।  

धनकी देवी लक्ष्मीको पूजाको दिन दियो बाल्न पालाको प्रयोग हुँदै आएको छ । पछिल्लो समय भने तिहारको समयमा घर–आँगनमा बिजुलीबाट बल्ने ब्लब बजारमा आएका छन् । यद्यपि पालाको अर्डर र चलन अझै पनि कायम रहेको उनी बताउँछन् । 

४८ वर्षीय रोशन प्रजापति यस वर्ष पालाको माग बढेको बताउँछन् । यो वर्ष आठ महिना अघिदेखि उनलाई पालाको अर्डर आउन थालेको थियो । यो आठ महिनामा उनले चार लाख पाला तयार गरी बिक्री गरिसके । यतिखेर उनको चारजनाको परिवार अर्डरका पाला तयार गर्न लागिपरेको छ । उनलाई पाला बनाउन श्रीमती र दुई छोराछोरीले सघाउँदै आएका छन् । उनले पनि अरुले जस्तै माटोको समस्या खेप्दै आएका छन् । उनी भन्छन्, ‘महानगर वा अन्य निकायले अरु देशमा जस्तो माटोको स्टोर गर्ने हो भने आउने पुस्तालाई यो पेसा अपनाउन सहज हुने थियो ।’ 

यही टोलका ४७ वर्षीय शिवप्रसाद प्रजापति पनि यतिखेर पाला बनाउनमै व्यस्त छन् । यसपालिको तिहारका लागि उनले ४० हजारजति पाला तयार गरिसके । पछिल्लो समय मट्का चियाका लागि माटोको कपको माग बढेको उनी बताउँछन् । पछिल्लो समय सहरका चियाघरहरूमा मट्का चिया (माटोको कपमा दिइने  चिया)को प्रचलन बढेको छ । ‘यस्तो कप काठमाडौं र पोखरामा बढी जाने गरेको छ,’ उनले भने, ‘काभ्रेको बनेपा, धुलिखेल, हेटौँडा, चितवनका व्यापारीले पनि माग गर्छन् ।’ 

तिहारमा पालाको महत्त्व

हामीकहाँ विशेषतः तिहारका बेला पालामा दियो बाल्ने गरिन्छ । संस्कृतिविद् चुन्दा बज्राचार्यका अनुसार, लक्ष्मी सधैँ सफा सुग्घर भएको झलमल ठाउँमा मात्रै बस्छिन् । लक्ष्मीपूजाको दिन घरघरमा पालामा तेलको बत्ती बालेर लक्ष्मीलाई बाहिर आँगनबाट भित्र्याउने गरिन्छ । उनको  पुस्तक ‘नेवाः सांस्कृतिक चाडपर्व’मा उल्लेख भए अनुसार, घरको चेलीले लक्ष्मी भित्र्याउने भनी मूल ढोका अगाडिको आँगनदेखि लक्ष्मी पूजा गर्न कोठासम्म लिपेर सफा गर्ने गर्दछन् । ‘लक्ष्मी भित्रिऊन् भनी लिपेको ठाउँमा बढारेर फूल अक्षेताले पूजा गर्दछन् । बेलुका साँझ परेपछि माटोको पालामा तेल र बत्ती राखी बत्ती बालेर लक्ष्मी भित्र्याउने ठाउँबाट पूजा गर्ने कोठासम्म, घरबाहिर, झ्यालमा, कौसी आदि सबैतिर बत्ती बाल्ने गर्दछन् । जहाँ बत्ती झिलीमिली बलेको हुन्छ, जहाँ सफा सुग्घर हुन्छ, लक्ष्मी त्यहीँ भित्रिन्छिन् भनिन्छ । त्यसकारण सबैले सकुञ्जेल सफासुग्घर राखी बत्ती बाल्ने गर्दछन्,’ उनले पुस्तकमा  लेखेकी छन्, लक्ष्मी मातालाई कार्पेट ओछ्याइदिएझैँ मूलढोका बाहिरबाट लिपेर सयपत्री फूल र अक्षता छरी राख्ने मात्र नभई मूलढोकादेखि हरेक झ्याल ढोकाहरूमा सयपत्रीको माला सजाई लक्ष्मीलाई स्वागत गर्ने गर्दछन् । यसरी झलमल उज्यालो घरमा लक्ष्मी भित्रिने जनविश्वास छ ।’

‘माटोको समस्या समाधानका लागि अनुसन्धान गरिरहेका छौँ’

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति कम माटोबाट धेरै सामग्री उत्पादन गर्ने प्रविधिका सम्बन्धमा अध्ययन भइरहेको बताउँछन् । ‘माटोको भाँडा बनाउनु यहाँका प्रजापतिको पुख्र्यौली पेसा हो, यसलाई जोगाउनुपर्छ । पहिला पहिला माटो झिक्ने ठाउँमा अहिले घर–घडेरी बनेका छन्,’ उनी भन्छन्, ‘माटाको भाँडा बनाउनेहरूलाई माटोको समस्या भएको छ । कसरी माटोको समस्या समाधान  गर्न सकिन्छ भन्नेमा हामीले अध्ययन गरिरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमिला भट्ट
प्रमिला भट्ट

भट्ट प्रशिक्षार्थी पत्रकार हुन् । 

लेखकबाट थप