बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सयपत्री  प्रति थुङ्गा रु चारमा बिक्री

आइतबार, ०६ कात्तिक २०७९, ०९ : ४१
आइतबार, ०६ कात्तिक २०७९

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूल खेती सुरु गरिन् । तिहारका समयमा उनलाई माग अनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिक रूपमा फूल खेती गर्छु भन्ने सोच पलायो । 

“गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथी भाइलाई पनि पुर्याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उनले भनिन्, “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।” उनले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूल खेती गरेकी छिन्। विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन् । 

“हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैंलाई धिक्कार लाग्यो, हामी पनि फूल खेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो”, उनले भनिन्, “फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूल खेती गरेको हुँ ।”

फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ । “गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूल खेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ”, उनले भनिन् । तिहारका बेला फूलको माग बढी हुने गरेको र पुर्याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ । “तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन”, श्रेष्ठले भनिन्, “तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ ।”

गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ । “यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ”, किसान श्रेष्ठले भने । 

उनले प्रति थुङ्गा रु चारमा फूल बिक्री गर्दै आएका छन्। फूल खेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचार–प्रसार गर्दै आएको उनले सुनाए । “मेरो फूल खेतीका बारेमा त्यति धेरै प्रचार–प्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिदिएको छ”, उनले भने । 

सरकारले केही दिन अगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ । 

सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भने, “विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ । नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ ।” भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिकरुपमा फूल खेती लगाएका छन् । तिहार नजिकिँदै गरेको ७० प्रतिशतमात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताए । विकले भने, “बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पुर्याउनुपर्छ ।”

वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूल खेतीमा लाग्नुभएका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताए । फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताए । 

सोही ठाउँका गोविन्द अधिकारीले विगत केही वर्षदेखि फूल खेती गर्दै आएका छन् । स्थानीयस्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या रहँदै आएको उनको गुनासो छ । तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या हुँदै आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप