बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ मा रविको पार्टीका गणेश पौडेलले मागे सत्ता गठबन्धनसँग साथ

आइतबार, ०६ कात्तिक २०७९, ०७ : ५६
आइतबार, ०६ कात्तिक २०७९

रुपन्देही २ मा  सत्ता गठबन्धन दलका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले समर्थन खोजेका छन् । शनिवार बुटवलका पत्रकार सम्मेलन गरी पौडेलले आफूसँग सहकार्य गरेर जानको लागि गठबन्धन दलहरूभित्र आन्तरिक रूपमा पनि छलफल चलिरहेको बताए । 

मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्ह रहेको पौडेलले राजनीतिक नेतृत्वमा युवाको आवश्यकता रहेको भन्दै आफूले अगाडि बढेको जनाए । उनले देशभर युवाहरूमा जागरूकता आएको र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि युवाहरूलाई अगाडि सारेको बताए ।

लामो अस्थिर राजनीति र वृद्ध नेतृत्वहरूबाट स्थिरता सम्भव नभएको भन्दै मुलुकमा राजनीतिक स्थिरता र नयाँ सोचअनुसार अगाडि बढ्न युवा नेतृत्व र सहभागिताको आवश्यकता रहेको बताए । प्रदेशसभा खारेजी, निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य, धर्म, संस्कृति र इतिहासको संरक्षण, भ्रष्टाचारीलाई कारबाही, स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण उनका एजेण्डा छन् । 

लुम्बिनी क्षेत्रलाई शान्तिको राजधानी घोषणा गराई विश्वभरका पर्यटकलाई भित्र्याउने, बुटवलको सडक र खानेपानी समस्या समाधान गर्ने, व्यापारी,कृषक, विद्यार्थी तथा युवाहरूसँग हातेमालो गर्ने युवाहरूलाई रोजगारीको अवसर सिर्जना र कृषि औद्योगीकरण गर्ने,रुपन्देहीलाई मौलिकतासहितको अन्तर्राष्ट्रिय स्तरको सहरको रूपमा विकास गर्ने उनले आफ्ना एजेण्डा सुनाए ।

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनाव जित्दै आएका छन् । आगामी निर्वाचनमा उनी मुख्य दाबेदारका रूपमा रहेका छन् । गुरुङको उम्मेदवारी खारेज र चर्चामा रहेका लौरो चिन्हका कमल भुसाल ‘निकोलस’को उम्मेदवारी पनि विचाराधीन रहेको अवस्थामा आफू पनि मुख्य प्रतिस्पर्धी रहेको पौडेलको दाबी छ ।

पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार लक्ष्मी खासु मगर , पार्टीका लुम्बिनी प्रदेश कमिटी कोषाध्यक्ष सालिकराम घिमिरे, प्रदेश कमिटी सदस्य लक्ष्मण खड्का, निर्वाचन परिचालन कमिटी सदस्य पोषण पाण्डे, प्रदेश सदस्य अच्युत कँडेलले युवाबाट परिवर्तन हुने बताए ।

रुपन्देही  २ मा गठबन्धनले सहयोग  गर्ने वातावरण बन्दै गएको उनीहरुको भनाइ छ । राजुको उम्मेदवारी खारेजपछि गठबन्धन दलहरू कसलाई उम्मेदवार बनाउने भन्नेमा आन्तरिक छलफलमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप