आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतको राजस्थानमा उच्च जातिको ज्यादतीबाट आक्रोशित २५० दलितले हिन्दू धर्म छाडेर बौद्ध धर्म अंगाले

शनिबार, ०५ कात्तिक २०७९, २२ : ४७
शनिबार, ०५ कात्तिक २०७९

राजस्थानको बारान जिल्लामा उच्च जातिको कुटपिटबाट पीडित २५० दलितले हिन्दू धर्म त्यागेर बौद्ध धर्म अंगालेका छन् । तिनले बौद्ध धर्म अंगालेपछि घरमा रहेका हिन्दू देवी–देवताका मूर्ति र चित्रहरू बेथली नदीमा विसर्जन गरिदिएका छन् ।

धर्म बदलेका दलित परिवारले १५ दिनअघि दुर्गाको आरतीका क्रममा दुई दलित युवालाई उच्च जातिले निर्घात कुटेको र प्रशासनले पनि बेवास्ता गरेको आरोप लगाएका छन् ।   दलित समाजले न्यायका लागि राष्ट्रपतिदेखि जिल्ला प्रशासनसम्म गुहार लगाए पनि कुटपिटका आरोपितमाथि कारबाही हुन नभएको बताएको छ । घटना छाबरा क्षेत्रको भुलोन गाउँको हो ।

दुर्गाको आरती गरेकोमा दलित युवालाई कुटपिट

अक्टोबर ५ मा भुलोन गाउँका दलित समुदायका युवा राजेन्द्र र रामहेत ऐरवालले दुर्गाको आरतीको आयोजना गरेका जिल्ला बैरवा महासभा युवा मोर्चाका अध्यक्ष बालमुकन्द बैरवाले जानकारी दिए । यी युवालाई राहुल शर्मा र लालचन्द लोढाले कुटपिट गरेका थिए ।

निर्घात कुटपिट विरुद्ध उनीहरुले प्रहरी प्रशासन, मुख्यमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म निवेदन दिए । तर कतैबाट कारबाही नभएपछि समाजका जनताले सामूहिक रुपमा धर्म परिवर्तन गर्ने निर्णय गरेको उनीहरुले बताए । शुक्रबार गाउँमा आक्रोश र्याली निकालिएको थियो । त्यसपछि नदीमा देवताका मूर्ति र तस्बिरहरु विसर्जन गरियो । 

बालमुकन्द बैरवाले मुख्य आरोपीलाई अझै पक्राउ गर्न प्रशासनले आनाकानी गरेको आरोप लगाए । उनले आफूहरु न्यायको लागि छाबरा एसडीएम कार्यालयमा प्रदर्शन गर्ने योजनामा रहेको बताए । बैरवाले राज्यमा शान्ति सुरक्षाको अवस्था ठप्प भएको र दलितमाथि हुने अत्याचारका घटना बढेको आरोप लगाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप