शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको प्रश्न : पार्टीको पक्षमा एक शब्द बोलेको होइन, टिकटलाई रुवावासी ?

शनिबार, ०५ कात्तिक २०७९, १८ : ००
शनिबार, ०५ कात्तिक २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरूले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरूले सधैँ टिकट पाउनुपर्ने छ र ? भन्दै प्रश्न समेत गरे । 

शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरूलाई टिकट नदिएर सो अवसर अरूलाई दिइएको स्पष्टीकरण समेत दिए । ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरू एकाधले अरूलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरूले फेरि टिकट नपाउनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराए । 

उनले भने, ‘केही नबुझेर केही बुझिबुझिकन फलानो व्यक्तिले किन पाएन ? दुई जना मान्छेका लागि । असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन्, भएका छन् । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन् । गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र ?’

उनले थपे, ‘काम कस्तो गरेको छ, त्यो नभनौँ । पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरू अरू ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वाभाविक हो नि । पालो गर्नु पर्दैन ? अरूलाई पनि त पालो गर्नु पर्छ नि त । पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भए पनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभईकन पार्लियामेन्ट चल्दैन, उहाँ नभईकन देश हाँकिँदैन भन्ने स्थिति त होइन । यस्ता कुराहरूको पछि नलाग्न पनि म हाम्रो साथीहरूलाई आग्रह गर्न चाहन्छु । कुनै सेन्टिमेन्टमा बग्नुपर्ने आवश्यकता छैन ।’ 

उनले नेकपा एमालेमा न्याय हुने दाबी गर्दै न्याय सापेक्ष हुने जिकिर पनि गरे । ‘वास्तवमा भन्ने हो भने काशीनाथजीले न्याय पाउनु भएको छैन । मैले खाली मैले एउटा दृष्टान्त मात्रै भनेको हो । धेरैले न्याय पाएको छैन । अनि, कतिपय मान्छेहरूले पर्याप्त अवसरहरू पाएका छन् । आवश्यकता भन्दा बढी अवसर पाएका छन् । र, फेरी अवसरकै पछि कुँदेका छन् । काममा पछि होइन । योगदान गर्नुपर्छ भन्ने भावना होइन । मैले पाउनुपर्छ, मैले के पाए ? यो मात्रै हिसाब छ । अरूले पाएनन् । अरू पनि खटेका छन् यतापट्टि होइन । नेकपा एमालेको भावना त्यस्तो छैन हुनु हुँदैन । म साथीहरूलाई आग्रह गर्न चाहन्छु । हामी समृद्ध नेपाल बनाउने सङ्कल्पमा छौँ । पालो त आइहाल्छ । अर्को कुरा हामी निर्वाचन जित्नु पनि परेको छ । निर्वाचन जित्ने, सरकार ठिक ढङ्गले चलाउने, संसद् ठिक ढङ्गले चलाउने र पार्टी भित्र कुनै पनि प्रकारको गुटबन्दी हुन नदिने । अब गुटबन्दी नेकपा एमाले भित्र छैन । हुँदैन, हुन दिइँदैन । कोही काखा, कोही पाखा हुँदैन । कोही नजिक, कोही टाढा हुँदैन । कोही अवसरै अवसरले थिचिने कोही अवसरको नजिक पनि पुग्ने नपाउने यस्तो खालको असमान र विभेदकारी व्यवहार पनि अब हुँदैन । एउटाले पाएपछि पाएको छ, पाएको छ । अर्कोले नपाएपछि नपाएको छ, नपाएको छ । यस्तो पनि हुँदैन । सकेसम्म सबैलाई यथोचित ढङ्गले योग्यता, क्षमता र योगदान सबै चिजको इतिहास को कदर गरेर जिम्मेवारी दिने परिपाटी, मूल्याङ्कनको आधारमा जिम्मेवारी दिने परिपाटी बसालिनेछ,’ उनले दाबी गरे ।

अध्यक्ष ओलीले मङ्सिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरे । उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहोर्‍याउँदै त्यस लक्ष्य प्राप्तिका लागि आगामी मङ्सिर ४ गतेको निर्वाचन सार्थक हुने विश्वास समेत व्यक्त गरे । अध्यक्ष ओलीले परमादेशी सरकार बनाउने गम्भीर गल्ती विगतमा गरे पनि अव न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप