बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका करिब ३ सय मतदानस्थल अतिसंवेदनशील

शनिबार, ०५ कात्तिक २०७९, १३ : ४७
शनिबार, ०५ कात्तिक २०७९

सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीनसय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् । जिल्लाका निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालिकोटमा रहेका छन् । कालिकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।

त्यसमध्ये, सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुम पश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन् । जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील रहेका छन् । जसमध्ये, सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, रुकुम पश्चिमका ४३, डोल्पाका २६, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन् ।
प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य रहेका छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपतका कारणले गर्दा अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको बताएका छन् । अबको केही दिनमै मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन् ।

कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चारसय तीन मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता रहेका छन् ।

कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र पारिएको छ । यता निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थालाई कडाइ गर्नेगरी तयारी गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले बताएका छन् । 

समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अतिसंवेदनशील र संवेदनशील निर्वाचन केन्द्रका लागि सुरक्षा व्यवस्था मजबुद बनाइने बताए । उनले भने, “सुर्खेतका सन्दर्भमा कुराकानी गर्दा सेनाबाहेक तीन हजारभन्दा धेरै प्रहरी निर्वाचनका लागि परिचालन हुँदैछन् । जिल्लामा निर्वाचनका बेला शान्तिसुरक्षा कायम गर्न हाम्रो तयारी तीव्र छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप