बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा स्पेस खोज्दै मधेसवादी दल

कस्तो छ काठमाडौँमा  मधेसी दलको उपस्थिति ?
शनिबार, ०५ कात्तिक २०७९, १२ : २९
शनिबार, ०५ कात्तिक २०७९

मधेस केन्द्रित दलहरू मधेसमा मात्र होइन, हिमालदेखि काठमाडौँ उपत्यका पनि आफ्नो उपस्थिति देखाएका छन् । काठमाडौँ उपत्यकामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभा सदस्यका लागि विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । जसपा र लोसपाले १०–१० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् भने जनमत पार्टीले चारवटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ । 

लोसपाले काठमाडौँ जिल्लाको १ नम्बर क्षेत्रमा प्रकाश नायजु, २ नम्बर क्षेत्रमा मधुसुदन पुडासैनी, ३ नम्बरमा मोहन बहादुर बस्नेत, ४ नम्बरमा भानु कुमार खड्का, ५ नम्बरमा दानिन्द्र जोशी, ८ नम्बर क्षेत्रमा सन्तोष देउला र ९ नम्बर क्षेत्रमा प्रजुल जोशीलाई उम्मेदवार बनाएको छ । त्यस्तै ललितपुर जिल्लाको १ नम्बर क्षेत्रमा मनिषबहादुर श्रेष्ठ, २ नम्बरमा लक्ष्मण शाही र ३ नम्बरमा किरण शाहीले लोसपाबाट उम्मेदवारी दिएका छन् ।

लोसपा बागमती प्रदेशका अध्यक्ष तथा काठमाडौँ १ (ख) को प्रदेशसभा सदस्यका उम्मेदवार करण श्रेष्ठले ठुला दलको विकल्पमा लोसपा आएको बताए । उनले भने, ‘ठुला दलहरूले लामो समय सरकार चलाए पनि जनताको समस्या जस्ताको त्यस्तै रह्यो । अब लोसपा अगाडी आउँछ र जनताको समस्या हल गर्छ भन्दै हामी मतदाताको घरघर पुगिरहेका छौँ ।’ मतदातालाई लोसपाले कन्भिन्स गर्न सक्यो भने राम्रै मत आउने उनले दाबीसमेत गरे । 

त्यस्तै जसपाले काठमाडौँ जिल्लाको सातवटा क्षेत्रमा उम्मेदवारी दिएको छ भने ललितपुरमा दुई र भक्तपुरमा एउटा क्षेत्रबाट उम्मेदवारी दिएको छ । दुई नम्बर क्षेत्रमा गोपालबहादुर तन्डुकार, तीन नम्बर क्षेत्रमा मोहनकुमार विश्वकर्मा, पाँच नम्बर क्षेत्रमा भीमबहादुर मगर, छ नम्बर क्षेत्रमा मनोज आचार्य, सात नम्बर क्षेत्रमा राजेन्द्र प्रसाद श्रेष्ठ, आठ नम्बर क्षेत्रमा मनोज कुमार खड्गी (नेवा) र नौ नम्बर क्षेत्रमा शर्मिला सुवाल (डंगोल) ले उम्मेदवारी दिएका छन् । 

जसपाबाट भक्तपुरको एक नम्बर क्षेत्रमा हिरालाल खड्काले उम्मेदवारी दिएका छन् भने ललितपुरको एक नम्बर क्षेत्रबाट गोपाल राज राई र दुई नम्बर क्षेत्रबाट दिलबहादुर तामाङले उम्मेदवारी दिएका छन् । 

जनमत पार्टीले काठमाडौँको चारवटा क्षेत्रमा उम्मेदवार दिएको छ । काठमाडौँ जिल्लाको एक नम्बर क्षेत्रमा हरेन्द्र चौधरी, दुई नम्बर क्षेत्रमा गणेशप्रसाद पुडासैनी, तीन नम्बर क्षेत्रमा गोविन्द नेपाल र आठ नम्बर क्षेत्रमा शान्तबहादुर शाक्यले उम्मेदवारी दिएका छन् । 

जनमत पार्टीका महासचिव चन्दन सिंहले भने, ‘हामीले उपत्यकाका सबै क्षेत्रमा उम्मेदवार उठाउन चाहेका थियौँ, त्यसका लागि सार्वजनिक आह्वान पनि गरेका थियौँ तर उम्मेदवार नै नपाएको कारण चारजना मात्र उठाएका छौँ ।’

यसपटकलाई आफूहरूले ‘ट्रायल’को रूपमा काठमाडौँमा उम्मेदवार खडा गरेको र यसले कस्तो परिणाम ल्याउँछ, त्यसै आधारमा आफू अगामी चुनावमा निर्णय लिने उनले बताए । उनले भने, ‘काठमाडौँमा अन्य मधेसी दलभन्दा हाम्रो पार्टीले राम्रो मत ल्याउँछ ।’

काठमाडौँको तीन नम्बर क्षेत्रमा जनमत पार्टीबाट उम्मेदवारी दिएका गोविन्द नेपाल भन्छन्, ‘जनमत पार्टी विलकुल नयाँ पार्टी हो, अहिले हामीले पार्टीलाई जनतामा परिचित गराउँदैछौँ । जनतालाई जति कन्भिन्स गर्न सकियौँ त्यति नै मत आउने सम्भावना छ ।’ यस पटकको चुनावमा हरेक दल कुनै न कुनै गठबन्धनमा आबद्ध रहेको तर जनमत पार्टी एक्लै लडिरहेको बताउँदै उनले अहिलेका लागि यही नै जित भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप