मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

डाक्टर भगवानको ‘हृदय’ छाम्दा

शनिबार, ०५ कात्तिक २०७९, ०७ : ५२
शनिबार, ०५ कात्तिक २०७९

 नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टर हुन् भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवानै मान्दछन् । उनीसँग सम्पर्क र सम्बन्धमा रहेका ब्यक्तिहरु पनि उनलाई निकै रुचाउँछन् । यसो हुनुमा उनको बिषयगत क्षमतामात्रै होइन, उनमा भएको उच्च मानवीय भावना पनि हो ।

उनी एकजना मुटु डाक्टर हुन् । आफ्नो पेशामा उनको क्षमता विशिष्ट छ । तर उनमा भएको मानवीय भावना, सरलता, लगनशीलता र ब्यवस्थापकीय कार्यकुशलताले उनको उचाई अझ चुलिएको छ ।

तिनै भगवान कोइरालाको आत्मकथा ‘हृदय’ हालै प्रकाशित भएको छ । उनको किताब नेपालकै महँगो किताबमा  गणना भएको थियो । एउटा किताबको मूल्य २५ हजार रुपैयाँ । त्यति मूल्यको किताब लेखकको सामाजिक सेवाभावसंग जोडिएर आएको छ । सो रकमले सातै प्रदेशमा बालअस्पतल खोल्ने लेखकको पावित्र उद्धेश्यसंग यो जोडिएको छ । त्यो किताब सस्तो संस्करणमा ५७५ रुपैयामै फेला पर्यो । 

भगवान कोइरालाको जन्म  पाल्पाको दुर्गम भूगोलको एउटा  डाँडामा र मेरो जन्म उनकै गाउँको पारीपट्टिको डाँडामा भएको हो । हाम्रो बाल्यकाल हुर्किएको परिबेश एउटै, हावापानी एउटै , संस्कृति एउटै थियो । उनले  एसएलसी पास भएर पाल्पा छोड्दा म भर्खर बामे सर्ने भएको थिएँ । भगवान कोइराला एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं लागे, उतै बसे । म बा आमा सँगै बसाइँ  सरेर  पाल्पाबाट बर्दिया आएँ, अहिले बाँकेको कोहलपुरमा छु ।

भगवान कोइराला देशकै अग्रणी शल्य चिकित्सक छन्् । उनले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनिय र भरोसायोग्य बनाइ दिएका छन् । त्यसैले पनि आम नेपालीको उनीप्रति अत्यन्त विश्वास र श्रद्वा छ । म पाल्पाली हुनुको भावनात्मक नाताले पनि भगवान कोइरालाको पुस्तकप्रति बढी नै अनुग्रह राखेको हुन सक्छु ।

कोइरालाको आत्मकथामा पाल्पाको सेरोफेरोको डिटेल वर्णन होला भन्ने मेरो अपेक्षा पूरा भएन । उनी किताबमा हुररिएर कुदेका छन् । पाल्पाका घटनाक्रमहरु अत्यन्त छिटा ेछिटो सकिएका छन् ।

उनको जन्म पाल्पाको विकट बस्ती दरुङ्गामा भयो । उनले आठ कक्षासम्म दर्लामको स्कुलमा पढे । नौ र दस पढ्न तानसेन पुगे । २०३३ सालमा  गुड सेकेन्ड डिभिजनमा एसएलसी पास गरेपछि  क्याम्पस पढ्न काठमाडौं गए । त्यहाँ हेल्थ असिस्टेन्ट विषयमा आफ्नो ब्याचको टपर भए । बंगलादेशमा एमबीबीएसको छात्रबृत्तिमा परीक्षा दिए तर नाम निक्लिएन, त्यसैले खिन्न भए । 

३०३८ सालमा काठमाडौंको साँखुमा ईन्द्रायणी हेल्थ पोस्टमा ईन्चार्जको रुपमा जागिर खाए ।

त्यहीबेला रुस पढ्न जाने छात्रवृत्ति खुल्यो ।  परीक्षा दिए, नाम निक्लियो । तर नाम निक्लिएकोमा परिवार खुशी हुनुको सट्टा दुःखी भयो । कारण रसिया गएर पढ्नेहरु गलत संगतमा फस्छन् भन्ने आम बुझाई थियो नेपालमा । 

परिवारको इच्छा विपरीत उनी आफ्नै अडानले २०३९ मा सोभियत संघ उडे । २०४१ मा तीन हप्ते बिदामा नेपाल फर्किए । कस्तो दुर्भाग्य काठमाडौंबाट पाल्पा आउने क्रममा मुग्लिन– नारायणगढको बिचमा बस दुर्घटनामा पर्यो । संयोगले उनलाई केही भएन । उनी फेरि रुस फर्किए । यसरी १९८९ जुनमा उनले रुसमा आफ्नो ग्रयाजुएसन पूरा गरे । 

एमबीबीएस पूरा गरेर उनी २०४६ जेठमा नेपाल फर्किएर शिक्षण अस्पतालमा जागीरे भए । त्यहाँ असिस्टेन्ट लेक्चररका रुपमा काम गर्न चाहन्थे । सोझो सरल र एकदम लो प्रोफाईलमा बसेर काम गर्न रुचाउने स्वभावका थिए । आफ्नो लक्ष्यमा उनी अडिग र प्रस्ट थिए ।

अनायस उनको पक्षको माहोल बिग्रिएर पढाउन पाउने सम्भावना लगभग समाप्त भयो । तर उनले हार खाएनन् । यही क्रममा उनी बंगलादेश पढ्न जाने भए । त्यसैले, जागीरबाट अध्ययन बिदा लिए । आड्रा नेपालले सशर्त उनलाई बार्षिक कम्तिमा एक हजार डलर सहयोग गर्ने भयो । आँशिक नै केही राहत त हुने भयो । अन्ततः उनी कार्डियो थोरासिक सर्जरीमा एमएस पढ्न बंगलादेश गए ।

उनमा पढ्नैपर्छ डाक्टर बनेरै छाड्छु भन्ने दृढ ईच्छाशक्ति थियो । उनले आफ्नो प्रमुख लक्ष्यसँग कहिल्यै कुनै सम्झौता गरेनन् । सन् १९९४ नोभेम्बर १२ मा उनी बंगलादेशबाट एमएस कार्डियो थोरासिक एन्ड भास्कुलर सर्जरीको डिग्री सकेर नेपाल फर्किए ।

उनी हरेक परिस्थितिमा फिट देखिन्छन् । अत्यन्त मिहिनेती आत्मअनुसासानमा बस्ने, जहिल्यै जिज्ञासु देखिन्छन् । जहाँ जान्छन्, त्यहाँ आफुलाई अब्बल प्रमाणित गर्न सक्छन् । साथीभाइ गुरु सबैका प्यारा हुन्छन् ।

२०५३  फागुन १६ मा  उनकै नेतृत्वमा  नेपाली डाक्टरको टिमले नेपालमै पहिलोपल्ट ओपन हर्ट सर्जरी गर्यो, जुन सफल भयो । ती सात बर्षे राधिका नामकी बालिका थिइन् । उनी पछि सत्र बर्षकी हुँदा आफ्ना पितासहित डाक्टरलाई भेट्न आइन् । डा कोइराला उनको विवाहमा समेत उपस्थित भए । उनले विवाहपछि स्वस्थ्य बच्चा जन्माइन् । यस्ता ससाना मिहिन प्रसंग पनि पुस्तकमा उल्लेख छ ।

डा कोइराला मुटुको विशेष अध्ययनका लागि १९९६ जुलाई १४ मा अमेरिका पुगे । काममा लागेपछि छोरा र श्रीमतीलाई पनि उतै झिकाए । अमेरिकाको बसाइँमा ब्यवसायिकतामा झुट र बनावटी कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन भन्ने कुरा स्पस्टसंग सिक्ने र बुझ्ने मौका पाए । अमेरिकामा बिरामीलाई सम्मानपूर्ण व्यवहार गर्ने, के भएको हो डिटेल्ली बुझ्ने कुरा एकदम मन परेछ उनलाई ।

ब्यस्त समयका बाबजुद पनि उनी दैनिक ब्याडमिन्टन खेलेर आफ्नो स्वास्थ्य जहिल्यै  चुस्त दुरुस्त राख्थे । एक बर्ष अमेरिका बसेपछि उनी क्यानडाको टोरेन्टो गए । त्यहाँको बसाइँमा मानवीय सम्बन्धहरु कति महत्त्वपूर्ण हुँदारैछन् भन्ने उनले बुझ्न पाए ।

श्रीमती क्यानडा या अमेरीका बस्न चाहन्थिन् । तर उनमा देशमै फर्किएर केही गर्ने हुटहुटी थियो । त्यसैले, सन् २००० मा नेपाल फर्किए । विदेशमा सिकेको ज्ञान सीप नेपालमै प्रयोग गर्न थाले । उनी पद या अवसरको लोभ राखेर कतै अल्मलिएनन् । अनुभवले मानिसलाई आत्मविश्वासी बनाउँदो रहेछ । कोइरालाको आत्मविश्वास सगरमाथाजस्तै उच्च थियो ।

२०५८ वैशाख १३ मा उनी गंगालाल अस्पतालको कार्यकारी निर्देशक भए । यस क्रममा उनलाई कहिले अख्तियारले बोलायो, कहिले आफ्नो काम गरिदिएन भनेर मन्त्रीले दुःख दिन खोजे । तर, पनि उनी विचलित भएन । सहकर्मीहरुलाई आफ्नो भिजन बुझाउने सामथ्र्य राख्ने उनी जस्तै उनका सहकर्मीहरुले पनि सकेको मिहिनेत गरेकाले आजको व्यवस्थित गंगालाल अस्पताल बनेको हो ।

नेपालमा औंलामा गन्न सकिने केही चिकित्सक छन्, जसको ख्याती नेपालभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि फैलिएको छ । डा उपेन्द्र देवकोटा हामी माझ छैनन् अब । अशोक बास्कोटा, भोला रिजाल,  सन्दुक रुइत आदिकोको  नाम लिन सकिन्छ । भगवान कोइराला त रोल मोडल नै भए । जसले कुनै समय छाला जुत्ता कारखाना रहेको ठाउँमा मुटु अस्पताल स्थापित गरेरै छाडे ।

२०६२ वैशाख १४ देखि गंगालाल अस्पतालमा कोइरालाको दोस्रो कार्यकाल प्रारम्भ भयो । कुनै पनि पदमा पुगेको मान्छेको नियत सही छ भने त्यहाँ धेरै काम गर्न सकिँदो रहेछ । कोइरालाले गंगालाल हृदयरोग केन्द्रलाई देशकै महत्त्वपूर्ण अस्पतालमा रुपान्तरण गरिदिए । उनले अस्पतालभित्र हुने अनेक अनियमितताको कडा प्रतिवाद गरे । 

उपचारमा सहुलियत  खोज्ने मन्त्री, राम्रो कामको लागि समर्थन र प्रोत्साहन दिने प्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द, दरबारमा भएको पार्टीमा गंगालाल अस्पतालको बद्ख्वाई गर्ने दरबारियाको तत्काल प्रतिकार, गलत कर्मचारीको हर्कतको विरोध र उनीहरुप्रतिको शून्य क्षमादान, अस्पतालको जग्गाको संरक्षण, टेन्डरमा हुने कमिसनको रोक,  राजनीतिक दबाबमा हुने नियुक्ति माथिको  रोक जस्ता अनेक बिषयबस्तुमाथि डा कोइरालाले आफ्ना  स्पष्ट  दृष्टिकोण  राखेका छन् । 

उनका तर्कहरु अकाट्य छन् । यस्तो लाग्छ, उनले दिएका सुझाब हुबहु कार्यान्वयन गर्ने हो भने नेपालका कुनै पनि संघसंस्था घाटामा जाने छैनन् ।

म २०५८ सालमा  काठमाडौं  जाँदा राजदरबार हत्याकाण्डका केही महिना मात्रै ब्यतित भएका थिए । हामी  डा  कोइरालालाई भेट्न उहाँको क्वार्टरमा गएका थियौँ । साथमा भान्जीदिदी नेत्रा हुनुहुन्थ्यो । उहाँको  मुटुको  चेकजाँचको लागि गएका थियौँ  । भान्जीदिदीको पारिवारिक नाता सम्बन्ध भएकाले हामी डा कोइरालाको क्वाटरमै खाना खाएका थियौँ । र, कोइराला पत्नी सान्द्राले दरबार हत्याकान्डको बेलाका कैयौ कुरा हामीहरुसँग शेयर गर्नुभएको थियो ।

त्यतिबेला गंगालाल अस्पताल सानो थियो । अस्पताल परिसरमा ठुल्ठुला मसलाका  रुख थिए । त्यतिबेला घरी रुखमा घरी भुइँमा ससाना लोखर्केहरु फुत्रुक फुत्रुक कुदेका दृष्य मैले चाख मानी मानी हेरेको थिएँ । पुस्तकले मलाई गंगालाल अस्पतालका शुरुवाती दिनहरुको याद ताजा गराईदियो ।

२०७४ माघ महिनामा म आमासँग फेरि त्यही गंगालाल अस्पतालमा थिएँ । आमाको मुटुको केही रक्तनली ब्लक भएका थिए र मुटुको सर्जरी गरेर खोल्नु थियो । यस पटक जाँदा म गंगालाल अस्पतालको भब्यता देखेर चकित खाएँ । अस्पताल बाहिरको गार्डेन लोभलाग्दो थियो । अस्पतालमा मानिसहरुको भीड थियो । सबै ब्यस्त देखिन्थे । यहाँ आईसकेपछि बाँचिन्छ भन्ने आत्मबल बिरामीमा आउँथ्यो । मेरी आमा पनि खुशी हुनुहुन्थ्यो । आमाको चेकजाँच सुरु भयो । अपरेसनको लागि तयारी भयो । खर्च के कति लाग्ने हो । ल्याएको खर्चले पुग्ने हो कि होइन ? भन्ने छटपटी थियो ।

कोइराला आफू पदमा हुँदा मुटु रोगको उपचारमा नीतिगत रुपमा धेरै ऐन बनाउन भूमिका खेलेका थिए । जसमध्ये २०६३÷०६४ सालतिर  सरकारले  ७५ वर्ष उमेर  पुगेका ज्येष्ठ नागरिकको हकमा   मुटु  उपचारको  सबै खर्च राज्यले बेहोर्ने निर्णय भएको रहेछ  । २०७४ माघमा मेरी आमाको उमेर  नागरिकताअनुसार   ७५ वर्ष नाघिसकेको रहेछ  । त्यसैले, आमाको मुटुको शल्यक्रिया गरेको सम्पूर्ण उपचार खर्च निःशुल्क हुने भयो । म छक्क परें, ससाना सरकारी  निर्णयले पनि आम सर्वसाधारणलाई कति फरक पार्दो रहेछ भन्ने एउटा उदाहरण यो पनि हो ।

आमाको शल्यक्रिया भगवान कोइरालाले गरिदिए हुन्थ्यो भन्ने सोच थियो । तर कोइराला त्यतिबेला गंगालालमा हुनुहुन्न्थ्यो । उहाँकै सहकर्मी रामेश कोइरालाले आमाको सफल ओपन हार्ट सर्जरी गरिदिनु भएको थियो । अपरेसनको पाँच बर्षपछि पनि आमा अहिले  स्वस्थ्य हुनुहुन्छ । गंगालाल अस्पतालको कथा पढ्दै गर्दा म एक पाठक हृदयबाटै यो अस्पतालको लामो आयुको कामना गर्न पनि भुलिरहेको छैन ।

डा भगवान कोइरालाको हृदय पुस्तक पढेपछि मलाई आफ्नै मुटुको बेस्सरी माया लागेर आयो । यो पुस्तक कोइरालाको जीवनी मात्रै होइन, गंगालाल हृदयरोग केन्द्रको जीवनगाथा पनि हो । यसले मुटु रोगको उपचार पद्धतिको मात्र कुरा गरेको छैन, हृदयबाट उत्पन्न हुने मानवीय सम्बन्धहरुको पनि कथा भनेको छ ।

२०६९ मंसिर ३ मा डा कोइराला  शिक्षण अस्पतालको निर्देशक भए । स्वभाविक हो, त्यहाँ पनि उनको पक्ष विपक्षमा जनमत बन्यो । उनी कसैको पनि दबाब सहन नसक्ने मान्छे । २०६९ फागुन १८ गते निर्देशक पदबाट राजीनामा दिए । चौतर्फी दबाब र साथीहरुको विशेष स्नेह र समर्थनकै कारण  राजीनामा दिएको उन्नाईसौ  दिनमा उनी फेरि काममा फर्किए । 

परिस्थिति कसैको लागि पनि सधँै अनुकुल मात्रै हुँदैन । शिक्षण अस्पताल देशकै चिकित्सा क्षेत्रको केन्द्रबिन्दु । त्यहाँ अनेक स्वार्थ केन्द्रहरु थिए र अझै छन् । मेडिकल कलेजहरुको सम्बन्धनको रस्साकस्सी, डा गोविन्द केसीको अनवरत अनसन, अनि राजनीतिक दलहरु बिचको कहिल्यै नसकिने भागबण्डाको सिलसिला । कोइरालाले शिक्षण अस्पतालबाट २०७० माघमा फेरि राजीनामा दिए ।

त्यसपछि उनी मनमोहन कार्डियो थोरासिक सेन्टरमै बिभागीय प्रमुख भएर काम गरे । उनले आफ्नो जीवनकालमा पन्ध्र हजार बढी मुटुको चिरफार गरे । भन्छन्, मानिस भएर जन्मिएपछि अरुको कल्याणको लागि जीवनको अधिकतम उपयोग गर्नुपर्दछ ।  हामीले जस्तै परिस्थितिमा पनि मिहिनेत गर्न छोड्नु हुँदैन । मिहिनेतले जहिले पनि केही न केही उपलब्धि दिन्छ । जिन्दगीमा समस्याहरु आउँछन् जान्छन् । समस्यादेखि डराएर भाग्ने होइन, सामना गर्नुपर्छ । जिन्दगी जहिले पनि राम्रो कामका लागि सकारात्मक प्रयास गर्नुपर्छ ।

कोइराला अहिले जिन्दगीको ईन्टर्भलमा छन् । यही ईन्टर्भलमा उनको पुस्तक आएको छ । बिरामी उपचारपछि निको भएर घर घर फर्किँदाका खुशी अनुपम हुन्छन् । उपचार क्रममै कोही मरेका क्षणहरु बिर्सनलायक हुन्छन् । उनीसँग तीस बर्षे जागीरे जीवनका अनगिन्ती यादहरु छन् । कति तनावका, कति छटपटी र कति खुशीका छन् ।

दरबार हत्याकाण्डका त्रासद पलको वर्णन छ । खावाले आक्रमण गरेको पल अविस्वशनीय र अविस्मरणीय छ ।

किताब पढ्दै जाँदा कति छिटो सकिएजस्तो लाग्छ । पुस्तकमा उनले आफ्नो चाहना पनि उल्लेख गरेका छन् । उनी उच्चस्तरको बाल अस्पताल खोल्न चाहन्छन् । त्यसका  शाखाहरु सातै प्रदेशमा बनाउने उनको सोच छ । त्यसैका लागि पुस्तकको मूल्य २५ हजार रुपैया राखिएको रहेछ । उनी आब यही सामाजिक काममा समर्पित हुन चाहन्छन् । उनको छोरा पनि काममा लागिसकेकाले आफूलाई अब कुनै तनाव नभएको र सारा जिन्दगी मानवीय सेवामा समर्पण गर्ने उल्लेख गरेका छन् ।

पुस्तकमा आफूलाई चित्त नबुझेका बग्रेल्ती पात्र र घटनाका बारेमा पनि लेखेका छन् । आत्मकथामा मानिस आफूलाई राम्रो नै भन्न चाहन्छ । भगवान कोइरालाको निजी स्वभाव र व्यवहार कस्तो छ त्यतातिर नलागौँ ।

यो पुस्तक हरेक समूहका पाठकका लागि पठनीय छ । नेपालको स्वास्थ्य क्षेत्रमा रहेका तमाम समस्या र सम्भावनाको जीवन्त चित्रण कोरेको छ । धेरै प्रसंगहरु अनुकरणीय छन् । कुनै पनि काम सुरु गरिसकेपछि त्यसलाई जुनै हालतमा सम्पन्न गरिछाड्ने भगवानको शैली जहाँ जुनसुकै क्षेत्रमा पछ्याउन सकिन्छ ।

असम्भव केही रहेनछ । हामी पछि परेको नियम, कानुन नमानेर र अब्यवस्थित र भद्रगोल ब्यवस्थापनले हो । कुनै पनि क्षेत्रको लागि राजनीति संग्लो हुनुपर्छ ।

जीवन भोगाईका तमाम अनुभूतिलाई सुन्दर शैलीमा प्रस्तुत गरिएको छ । किताब पढ्दा कहीँकतै झर्कोफर्को लाग्दैन । एकदम  सरल र सरस शैलीमा नदीजस्तै बगेको छ भाषाशैली । जो कोही पाठकले पुस्तक सकिदा अमृत रसास्वादन गरेको आभाष गर्छ । 

भगवान कोइरालाको नैतिक चरित्र बलियो थियो । उनीसँग विश्वका महत्वपूर्ण ठाउँमा काम गरेको अनुभव थियो । त्यसैले उनमा आत्मबल पनि थियो । उनले आम जनताबाट राम्रो सपोर्ट पाए । उनको जीवनबाट सिको गर्न सकिन्छ कि जनतामा राम्रो छवि भएको युवाले कहिल्यै पछाडि फर्केर हेर्नु नपर्दाेरहेछ । समग्रमा पुस्तक पठनीय र संग्रह गर्न लायक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप