मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : एक लडाकुको मनोलाप

शनिबार, ०५ कात्तिक २०७९, ०७ : २९
शनिबार, ०५ कात्तिक २०७९

यतिखेर म अन्तर्राष्ट्रिय विमान स्थलको भित्री परिसरमा छु । यहाँको प्रतीक्षा कक्षमा छिरेको झण्डै एक घण्टा भइसक्यो । लगेज चेकिङको कुनै सुरसार छैन । आजको कतार उडान भर्ने विमान एक घण्टै ढिलो छ रे; यस्तै सूचना आएको छ भित्रबाट । हामी अधीरताका साथ उडानको घडी पर्खिरहेका छौँ । प्रतीक्षा जस्तो पट्यार लाग्दो समय के हुन्छ र ? तर, मलाई स्मृतिको दहमा बल्छी हान्न अपूर्व सुयोग मिलेको छ । आराम–कुर्सीको एक छेउमा बसेर अतीत, आगत र वर्तमानका विद्रुप पलहरू उधिनी रहेछु ।

विगत दश वर्षको जिन्दगी सम्झिन्छु, यसमा अलिकति गौरव छ । तर, धेरै पश्चात्ताप, ग्लानि र अफसोचले भरिएको पाउँछु । हतियार बोकेर अहोरात्र युद्ध लडेँ । कयौँ रात मृत्युलाई सिरानीमै राखेर निदाइयो । कतिचोटि खुकुरीको धारमा टेकेर समर–यात्रा गरियो । तर, उपलब्धि के ? उपलब्धि हुँदै नभएको त कहाँ हो र ? तर, त्यो उपलब्धि मेरो भागमा अलिकति पनि परेन । केही सीमित व्यक्ति, सहयात्री र पात्रको भागमा मैले र म जस्ता लडाकुले लडेको युद्धको उपलब्धि बाँडचुँड भएको दृश्य देखिरहेछु । म भने एक उदासी र गहन वेचैनीका वीचमा दिनचर्या गुजारिरहेको छु । 

 उपलब्धि मेरै भागमा पर्नुपथ्र्यो, त्यो आग्रह पनि किमार्थ होइन । किनभने वैयक्तिक स्वार्थपूर्तिको कामनाबाट मैले बन्दुक उचालेको थिइनँ । एउटा समष्टिगत सुखको लालसाले म त्यो बाटो हिँडेको थिएँ । अर्थात् मेरो दिमागमा कुराहरु त्यसरी नै भरिएको थियो । धर्तीमा सुनौलो सपना अवतरण गराउने धुनबाट म एकोहोरिएको थिएँ । अहिले आउँदा यो सबैकुरा बेकारको कुरा जस्तो लाग्न थाल्यो । 

म वाल्यकालदेखि नै एकसुरा मान्छे थिएँ । म जुन कुरामा विश्वस्त हुन्छु, त्यसलाई कठोरतापूर्वक समात्ने मेरो बानी छ । हृदयमा एउटा मान्यता गढेपछि त्यसबाट टसमस नहुने स्वभाव छ मेरो । यसै स्वभावले पनि कतिपय चोटि मलाई दुःख दिएको छ । शोषणरहित समाजको स्थापना गर्ने एक रुमानी आवेगबाट म युद्धमा होमिएको थिएँ । म मात्र होइन, म जस्ता हजारौँ युवायुवती त्यसै संवेगबाट होमिएका थिए ।

सकल जनगणका खातिर सुख, शान्ति र समृद्धिको निर्झर वर्षा गराउन हिँडेको थिएँ म । त्यही सपनाबाट मलाई दीक्षित गरेका थिए, मेरा अग्रजहरुले मलाई । सकल शोषित जनलाई आनन्ददायी वर्षा गराउन हिँडेको पथिक कहाँ आफ्नोमात्र तिर्खा मेट्ने चाहना राख्छ र ? ऊ आफ्नो क्षुद्रतलको स्वार्थबाट माथि उठिसकेको हुन्छ । समष्टिगत सुखमा नै आफ्नो सुख खोज्ने भैसकेको हुन्छ ऊ । सिङ्गो वनक्षेत्रमा जलप्रपात भैसकेपछि एउटा रुखले भेट्नुपर्ने पानीको मात्रा भेटिहाल्छ । रुखले छुट्टै पानीको याचना गर्नु बेकार छ भन्ने दर्शनबाट निर्देशित थिएँ म । पानी पार्न सकियो भने सँगसँगै सबै गाछी हराभरा हुने हो । वर्षाको मृदुल रसपान गर्ने हो, नसक्ताको घडीमा खडेरीले सुक्ता पनि सबै रुख साथसाथै सुक्ने हो । साथसाथै दाउरा बन्ने हो । कति राम्रो दर्शनबाट प्रेरित थिएँ म ।

त्यो बखतको आवेग सम्झिँदा मन त्यसै त्यसै अमिलो बन्छ । हाम्रा अगुवाहरुले बाटो बिराए कि, बाध्यता वा चेपुवामा पो परे कि, केही भेउ समाउन सकेको छुइन । जतिसुकै अप्ठ्यारोमा परे पनि उनीहरुलाई इतिहासको दायित्वबाट स्खलित हुने छुट पक्कै थिएन । तर, जुन दृश्यको याचना गरिएको थिएन । आँखासामु तिनै दृश्यहरु धमाधम पटाक्षेप हुँदैछन् । यसैलाई भन्छन् क्यार विसङ्गति । मानसिक तहमा त्यही विसङ्गति–वोधको सिकार भैरहेको छु म ।  

अहिले आफू कतारको उडान पर्खिबसेको छु । चारवीस निकट उमेरमा यात्रा गरिरहेका बूढा बा–आमा छन् घरमा । अनि छन् तोतेबोली बोल्ने कलिला लालाबाला । यिनका भविष्य सुरसाको जस्तो मुख बाएर मलाई निल्न खोजिरहेको आभास मिल्छ । 

बा–आमालाई सुविस्तासित आँटो–पिठो खुवाउन सकेको छुइन । उनीहरुका अर्धनाङ्गो आङमा अस्कोट पहि¥याउन सकेको छुइन । छोराछोरीहरुलाई अक्षरको दुनियाँमा उकाल्न सकेको छुइनँ । पत्नी रोगी छे, उसलाई सुविधाका साथ ओखती गर्न सकेको छुइन । त्यसैले भिसा खस्नासाथ गाउँबाट म कतार उड्न आएको छु । 

यतिखेर मेरा ठूला सपना केही छैनन् । बा–आमाको मुखमा बिहान–बेलुका सुबिस्ताको गाँस जुटाउन सकेँ भने त्यही मेरा लागि अहोभाग्य हुनेछ । नानीहरुलाई अक्षरको उज्यालोमा टुकुटुकु हिँड्न सक्ने बनाएँ भने त्यही मेरो महान् सपना हुनेछ। प्राण–पियारीको लागि सहज रुपमा ओखतीको व्यवस्था जुटाउन सकेँ भने अर्थोक मलाई केही पनि चाहिएको छैन । 

पैँतालिस डिग्रीको तप्त गर्मीमा काम गर्दा मेरा यी साना–साना सपना फुल्ने हुन् या त्यहीँको तातो बालुवामा पग्लिएर विलाउने हुन्, केही थाहा छैन । आफ्ना नितान्त निजी सपनालाई मैले साना सपना भनिरहेको छु । किनकि यी सपना मेरा निजी सपना हुन् । यी सपना मेरा आवश्यकताजनित हुन् । यी सपना विलासको महलबाट उठेका होइनन् । यी त धुकधुकी बँचाउने रोजीरोटीको सवालबाट अनुप्राणित छन् ।

ठूला–ठूला सपना हिजैका दिनमा जो देख्नु देखिएछ । जनसमरको कठोर यात्रा छिचोलेपछि यस धर्तीमा एउटा सुक्सुकाउँदो बिहानी ओर्लिने छ । जसले हाम्रा तमाम समस्याका चाङ एक एक गरेर पन्छाउने छ । समाजबाट हरेक प्रकारका विभेदहरुले विदा लिनेछन् । जुगजुगदेखि चल्दै आएका अन्याय अत्याचारका रीतहरु ढल्नेछन् । गरीबका अँध्यारा छिँडीहरुमा पनि उज्याला बत्ती चहचह बल्नेछन् । मानिसलाई खानको दुःख हुनेछैन, लाउनको समस्या पर्ने छैन । टाउको ओताउन हरेक परिवारसित एक थान सुविधायुक्त घर हुनेछ । सबैको घरमा आँटो, अस्कोट र अक्षरको वाल्छ्याल हुनेछ । ओखती र आरोग्यपूर्ण जीवनको प्रत्याभूति राज्यले गर्नेछ । विकास र समृद्धिका अनेकानेक इन्द्रेणी रङहरु जताततै फिँजिने छन् । 

किन लडेछु त त्यति तन्मयताका साथ त्यत्रो युद्ध ? एउटै जवाफ पाउँछु, अर्कालाई धनी बनाउन, अर्कालाई महलपति बनाउन, अर्कालाई मर्सिडिज चढाउन युद्ध लडेछु । आज हिसाब गर्दा मेरो रगत पसिनाको बलिदानमा केही सीमित मान्छे मोटाएछन्, केही सीमित मान्छेले मनचिन्त्य तर मारेछन् । ती मान्छे अहिले करोडपति छन् । म रोडपति भएको छु । ती मान्छे चौविस घण्टा टेलिभिजनको पर्दामा मुक्तिको गफ गरिरहेछन् । तर, खै कहाँ मुक्त हुन सकेँ म ? आफ्ना रोजीरोटीका दैनदिनी आवश्यताको बन्दी बनी तातो मरुभूमिको कारागृहमा थुनिन जाँदैछु । 

चिसो मुलुकमा जन्मी हुर्की गरेको म त्यहाँ काम गर्दा बाँचेर फर्किन्छु कि लाश भएर फर्किन्छु कुनै टुङ्गो छैन । रोज रोज दर्जन भन्दा बढी नेपाली युवाहरुको लाश बाक्सामा बन्द भएर आइरहेका छन् । त्यही नियतिको सिकार नबनूँला भन्ने के ग्यारेन्टी छ र ?

यसरी बेहाल हुने लडाकु म मात्रै हुँ र ? बेगे, प्रभुराम, जगबहादुर, मिथुला, एकनाथ, सिंहेश्वर, आइतमान, कान्तशेर...अनेकन नामहरु मेरो स्मृतिमा अटेस मटेस भएर आइरहेका छन् । उनीहरुले बगाएको खुन पसिना पनि खोलामै गयो । यस्तो नतिजा आउँछ भन्ने जानेको भए को ज्यान हत्केलामा राखेर युद्धमा होमिन्थ्यो होला र ? 

मैले सम्झेका नाम मध्ये कोही खाडीमा शेखको मजरामा मल रोहर्दैछन् । कोही मलेसियामा भाँडा माझ्दैछन् । कोही बहरेनमा बाटो बनाउँदै छन् । कोही सिमलामा स्याउ टिप्न गएका छन् । कोही कालेबुङमा कैँयाको भारी खेप्तैछन् । सोचेर ल्याउँदा साँच्चै बेहाल छ जिन्दगी । बरु मरेर जानेलाई ढुक्क भयो, घाइते अपाङ्गको कुरै नगरुँ । उनीहरुले पाएको सास्ती बयान गर्दा सानो सानो शास्त्र बन्छ ।

अहिले मेरो नाममा न एक धुर जमिन छ । न आकर्षक बैंक व्यालेन्स छ । न जीविकोपार्जनका निम्ति कुनै रोजगारीको मेलोमेसो नै छ । शरीरमा युद्धकालमा गोली लागेका घाउका टाटाहरु छन् । मनमा पश्चातापको ज्वाला र खिन्नता भाव छ । भित्रभित्रै विषादको आगो दन्किरहेछ । त्यही आगोमा दिन परदिन पाकिरहेछु म । 

यो अनन्त दुःख–सागरमा म मात्रै हुँ र दुःख पाउने ? म जस्ता हजारौँ लडाकुहरुले अथाह दुःख पाइरहेका छन् । आफूले दुःख पाइयो भन्ने कुरामा पछुतो होइन मलाई, पछुतो यस कुरामा हो, जुन शोषण दमनको मुक्तिका लागि हामी लडाइँमा लामवद्ध बनेका थियौँ, जुन समृद्धि र विकास आउँछ भनेर हिँडेका थियौँ त्यसको लेश बराबर उपलब्धि हासिल न भै यात्रा छितर बितर बन्यो । आँसुको दहमा डुबेको मानिस आज पनि आँसुकै दहमा पौडिरहेको छ । हिजो हाम्रा डुङ्गा खियाउने नाविकहरु अचिन्त्य सुख सागरमा अईँ अईँ हुने गरी डुबिरहेका छन् । 

अरबको तातो मरुभूमिमा मेरा सहयोद्धाहरु मुरीका मुरी पसिना बगाइरहेछन् । म पनि त्यसमा लामबद्ध हुन जाँदैछु । पराई मुलुकमा रोजीरोटी कमाउन जाने इच्छा पटक्कै थिएन । मजबुरीमा परेर जाँदैछु । संसारका मुलुकहरु कहाँदेखि कहाँ पुगिसके । उनीहरुले कति तरक्की गरिसके । हामी भने झन्झन् बेहाल अवस्थामा गिर्दैछौँ । सदियौँदेखि शासन सत्तामा बस्नेहरु लुट मच्चाउन जाने, विकास गर्न जानेनन् । 

जुन जोगी आएपनि कानै चिरेको भने जस्तो जो सत्तामा पुगेपनि आधारभूत वर्गको हितमा देखिने काम खासै भएको छैन । सिर्फ हातमुख जोड्नका लागि देशमै रोजगारी र गरिखाने व्यवस्था सिर्जना भएको भए कदाचित् त्यो रेगिस्तानमा जाने थिइनँ । धिक्कार छ, हाम्रा नेताहरुलाई जसले नेपाली युवालाई रोजगारी दिनको लागि एउटा पनि कारखाना खोल्न सकेनन् ।

हिजोका मेरा टाठाबाठा सहयोद्धा कमरेडहरुको जीवन अर्कै ढंगमा चलिरहेको देख्छु । उनीहरु मौकामा चौका हान्न औधि सिपालु छन् । परिवर्तित सन्दर्भमा आफूलाई पूराका पूरा परिवर्तन गर्न सके । फलस्वरुप ती साथीका छोराछोरीहरु काठमाडौंका असाध्यै महँगो वोर्डिङ स्कुलमा पढ्छन् । युद्ध बिसाएको केही वर्षमै काठमाडौंको छातीमा पाँच, छ तले महल ठड्याउन सफल भए । फुटपाथबाट अचानक कार चढ्ने हैसियतमा पुगे । उनीहरुको जीवन देख्ता एक जादूमय चमत्कार जस्तो लाग्छ । आखिर यो सब कसरी भयो ?

आफू भने ज्यादै सोझो सफा दिलको मान्छे रहेछु । उनीहरुले उ बेला नै घुमाउरो गरी भनेका थिए– सोझो औँलाले घिउ आउँदैन, घिउ निकाल्न अलिकति औँलो कुप्रो पार्नैपर्छ ।

 हो हर्पेको घिउ निकाल्न औँलो बांगो पार्नु पर्नेरहेछ । आफूले त बांगो पार्ने र बांगो हुने कला जानिएन । औँलो बांगो पारी पारी घिउ खानु पनि परेको छैन । आफ्नै पसिनाको बलमा बा–आमा, पत्नी, बालबच्चालाई आँटो, अस्कोट, ओखती र अक्षर जुटाउन सकेँ भने मेरो जीवन धन्य धन्य हुने थियो । इमान, जमान र निष्ठा बेचेर कमाएको धनले मानसिक शान्ति देला र ? त्यसलाई भौतिक सुख मिल्ला । तर, आत्मिक सन्तोष भने कदापि मिल्दैन । 

 हिजोको यात्राको अभिष्ट यति नै थियो त ? विलासमा रम्ने मित्रहरुले कहिलेकाहीँ आत्मसमीक्षा गर्छन् कि नाईँ ! सँगैको सहयात्रीलाई घोर काँडाघारीमा छोडेर मखमली गद्दामा कसरी मीठो निन्द्रा आउन सकेको होला ! आजसम्म एकरत्ति बुझ्न नसकेको पहेली भएको छ मेरा लागि ।

हिजो हामीले देखेको सपना पनि आफ्नै भूमिमा पसिना सिञ्चन गरी रोजीरोटी कमाउन सक्ने व्यवस्था आओस् भन्ने भावनाबाट निर्देशित थियो । देशमा त्यो थिति बसेको भए, आज मैले त्यो विरानोमुलुकमा उड्नु पर्ने थिएन । मेरो मातृभूमिको माटोले बनेको शरीरबाट बग्ने अनमोल रत्नतुल्य पसिना आफ्नै मुलुकमा बगाउन पाए कति जाति हुन्थ्यो । हिजो हतियार बोकेको थिएँ, आफ्नै मातृभूमिमा पौरख र समृद्धिका फूल फुलाउने वातावरण निर्माण गर्न सकिन्छ कि भनेर । तर, त्यो अभिलाषामा पहिरो धस्किसकेको छ आज । र, त भेडा चराउन र ऊँटको लिदी सोर्हन कतार उड्दैछु म ।

भित्री कक्षबाट आवाज आयो– कतार उड्ने यात्रु महानुभावहरु लगेज चेक गर्न लाइनमा उभिनु होला । यो आवाजले मेरो सोचाइको तन्द्रा टुट्छ । आफ्नो झोला समाल्दै त्यो मानव पङ्तिमा उभिन पुग्छु, जहाँ सिर्फ विप्रेषणका खातिर विरमाइलो अनुहार लाएर रेगिस्तानी भूमि उड्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप