आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बुटवलमा सत्ता गठबन्धनको  प्रशिक्षण : ओली प्रवृत्तिको विरोधदेखि घनश्याम भुसालको प्रशंसासम्म

शुक्रबार, ०४ कात्तिक २०७९, २२ : १५
शुक्रबार, ०४ कात्तिक २०७९

बुटवलमा सत्ता गठबन्धन दलहरूको आज भएको प्रशिक्षणमा एमालेका अध्यक्ष  केपी शर्मा ओलीको प्रवृत्तिको कडा विरोध भएको छ । प्रशिक्षण कार्यक्रममा शीर्ष नेताहरुले गठबन्धनका उम्मेदवारलाई  काँध थाप्नको लागि कार्यकर्ताहरूलाई  निर्देशन समेत दिए ।

शीर्ष नेताहरूले देश दुई धुव्रमा विभाजित भएको भन्दै एउटा ध्रुवमा गठबन्धन केन्द्रित भएर अघि बढेकोले  संविधान रक्षा गर्न र लोकतन्त्रवादीहरूलाई जिताउनका लागि अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे । बुटवलको एक होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई बचाउँदै लोकतन्त्रको रक्षा गर्नुपर्ने अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताए ।

उनले मंसिर ४ को निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरे । प्रधानमन्त्री देउवाले इमानदारिताका साथ माओवादी, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र लोसपाका उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई अपिल गरे ।

गठबन्धनको खिलाफमा एउटा तागत लागिरहेको प्रस्ट्याउँदै उनले आफूहरूले लडेर ल्याएको व्यवस्थाविरुद्ध अनेक षडयन्त्र भइरहेको बताए । उनले राजावादी राष्ट्रवादी नभएको भन्दै आफूहरू मात्रै राष्ट्रवादी  र लोकतन्त्रवादी भएको बताए । उनले भने, ‘राष्ट्रवादी  पनि हामी हौँ, लोकतन्त्रवादी पनि हामी हौँ, समाजवादी पनि हामी हौँ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले  देशमा  दुई प्रवृत्तिको  लडाई चलेको प्रस्ट्याउँदै  कार्यकर्तालाई  कुनै हालतमा धोका नदिन अपिल गरे । उनले विस्तृत शान्ति सम्झौता गरेको दिनबाटै काँग्रेससँग सहकार्य सुरुवात भएको बताउँदै एमाले अध्यक्ष केपी ओलीभन्दा नेपाली काँग्रेस हजारौँ गुना परिवर्तनकारी र अग्रगामी  भएको बताए । एमालेले संविधान उल्ट्याउने र  परिवर्तन मास्ने गरी राजावादीहरुसँग गठबन्धन गरेको आरोप समेत उनले लगाए ।

उनले भने– ‘विस्तृत शान्ति सम्झौता जुन दिन भयो, त्यो दिनबाटै मैलै रुखमा भोट हालेको हुँ, त्यहि दिन काँग्रेसका तत्कालीन सभापति स्व.गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हाल्न थालेका हुन् ।’ उनले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधव नेपाल नभएको भए शान्ति सम्झौता नहुने र अहिलेको परिवर्तन पनि प्राप्त हुन नसक्ने बताए । अध्यक्ष प्रचण्डले भने– ‘त्यसैले कसैले पनि धोका नदिनुहोला ।’ 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा सबै किसिमका अनुचित काम भएको आरोप लगाए । अध्यक्ष नेपालले ओली काम गर्न नदिएको भन्दै रुँदै हिँड्ने व्यक्ति भएको टिप्पणी गरे । 

आफू र प्रचण्ड ओलीलाई सुधार र राम्रा काम गर्नका लागि सल्लाह दिएको भएपनि कहिल्यै नसुनेको आरोप लगाए । उनले गठबन्धनका विरुद्ध विरोधीहरुले नानाभाती प्रचार भइरहेको भन्दै त्यसलाई सशक्त प्रतिवाद गर्न आव्हान समेत गरे ।

‘संघीय चुनावमा समेत प्रतिगमनलाई पराजित गर्नैपर्छ । यही संकल्पका साथ चुनावी मैदानमा उत्रन आहान गर्छु । हामीले पहल नगरेको भए लोकतन्त्र मासिने, संघीयता समाप्त पर्ने खतरा थियो’, नेपालको भनाइ छ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान संविधान मासेर राष्ट्रियता कमजोर बनाउने षडयन्त्र भएपछि गठबन्धन गर्नु परेको बताए । उनले भने– ‘कांग्रेस कम्युनिस्टको सवाल होइन, पाँच दलले जित्ने हो, त्यसको लागि गठबन्धनलाई भोट हाल्नुहोस् ।’ 

उनले नेपालमा गठबन्धनले जित्दा मात्रै महिला, दलित, मुस्लिम र थारूले पाएको अधिकार रक्षा हुने स्पष्ट पारे ।  कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले अहिले केपी ओलीका कारण संविधान र गणतन्त्र धरापमा परेको बताउँदै गठबन्धनका उम्मेदवार जिताउन अपिल गरे । 

कार्यक्रमका गृहमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले वाम लोकतान्त्रिक गठबन्धन मुलुकको आवश्यकता भएको बताए । उनले लुम्बिनीका २६ वटै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जित हासिल गर्ने अठोट गरेका थिए । उनले १२ बुँदे सहमतिको जगबाट मुलुकमा नयाँ संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र  सम्भव भएको भन्दै अब पनि यो गठबन्धनको आवश्यकता रहेको बताए । 

प्रशिक्षणमा घनश्याम भुसालको प्रशंसा   
प्रशिक्षणमा हालै एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालको प्रशंसा गरिएको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा ओलीको विरोध गर्ने सशक्त नेता घनश्याम भएको भन्दै उनको प्रशंसा गरेका थिए ।  

कार्यक्रममा गठबन्धन दलका शीर्ष नेताहरू पुग्नुभन्दा केही मिनेट अगाडि हलमा पुगेका भुसाललाई स्वागत भाषण लगत्तै नेताहरूले नै मञ्चमा बोलाएका थिए । अध्यक्ष माधव नेपालले ओलीलाई सुधार गर्न बसेका भुसालले पनि उनलाई सुधार गर्न नसकेको टिप्पणी गर्दै ओली कहिल्यै पनि सुधार हुन नसक्ने नेता भएको स्पट पारे ।

यता अध्यक्ष प्रचण्डले हिजो सांसद विघटन गर्दा सँगै रहेका नेता भुसाललाई अहिले गठबन्धनले उठाएको भन्दै सहयोग गर्न आग्रह गरे । उनले भुसाललाई सबैले सहयोग गरेर जिताउनुपर्नेमा जोड दिए । भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको चुनाव चिन्ह त्रिभुज हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप