बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

शुक्रबार, ०४ कात्तिक २०७९, २१ : १५
शुक्रबार, ०४ कात्तिक २०७९

आज मिति २०२९ साल कात्तिक महिनाको ४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१.देउसी भैलोमा प्रशासनको अंकुश
तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।

२. राजु गुरुङ उम्मेदवार बन्ने च्याप्टर क्लोज

सर्वोच्च अदालतले रुपन्देही २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङले उम्मेदवारी कायम गरिपाऊँ भनि माग गर्दै दायर रिटमा यसअघि सर्वोच्चको अन्तरकालीन गरेको आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै निवेदकको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

३. लुम्बिनी बौद्ध विश्वविद्यालयको बेथिति

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको बुटवलस्थित सिटी कलेजमा स्नातक तहअन्तर्गत कानुन विषय पढ्ने विद्यार्थी भर्खरै चौथो सेमेस्टरको परीक्षा दिएर पाँचौ सेमेस्टरमा पुगेका हुन् । त्यस्तै, भर्खरै प्लस २ पास गरेर नयाँ विद्यार्थी प्रथम सेमेस्टरमा भर्ना भएका छन् । अहिले उक्त कलेजमा साढे ४ सयको हाराहारीमा कानून विषय पढ्ने विद्यार्थी छन् ।

अहिले चार सेमेस्टर पढेका विद्यार्थीहरूले भने शिक्षकबिनै पढ्न बाध्य भएका छन् । प्रत्येक वर्ष कानून संकाय पढ्न ९० जनाको सिट क्षमता हो । सिटीमा २ जना शिक्षकले कानुन संकाय पढाइरहेका छन् ।

​४. राष्ट्र बैंकले बेच्ने असर्फीका कुरा

तिहारका अवसर पारेर नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का, असर्फी र टक्सारहरु धमाधम बिक्री गरिरहेको छ । बबरमहलस्थित बैंकको टक्सार विभागबाट भइरहेको असर्फीको बिक्री आइतबारसम्म जारी रहने छ ।

बिहीबारदेखि २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका सिक्कासहित १ हजार रुपैयाँ अंकित चाँदीको सिक्का उपलब्ध गराइरहेको बैंकले यसवर्ष १० हजार पिस सिक्का बिक्रीका लागि मौज्दात रहेको जनाएको छ । अघिल्लो वर्ष यस्तो सिक्काको अभावका बीच बैंकले ४ हजार पिस मात्र बिक्री गरेको थियो ।

​५. राष्ट्र बैंकको रिपोर्ट

अघिल्लो वर्षको तुलनामा यस वर्ष मुलुकको चालू खातामा उच्च सुधार आएको । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अघिल्लो असार महिनाको तुलनामा भने २० अर्ब ९२ करोड रुपैयाँले घाटा बढेको छ ।

​भदौ मसान्तसम्म राज्यको ढुकुटीमा ९ अर्ब ३५ करोड अमेरिकी डलर सञ्चितिमा रहेको छ । यस्तो सञ्चिति नेपाली रुपैयाँमा ११ खर्ब ८९ अर्ब १६ करोड रहेको र यसले ९ महिनाको वस्तु आयात र ७।७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

​थप आर्थिक समाचार

६. लजका मेनेजरको कर्तुत

लजमा बस्न गएका युवती र जोडीको अन्तरङ्ग तथा नग्न भिडियो रेकर्ड गर्न म्यानेजर आफै संलग्न भएको खुलासा भएको छ ।  काठमाडौं महानगरपालिका वडा नम्बर–३ स्थित बाँसबारीमा रहेको ‘बाँसबारी रेष्ट्रो क्याफे एण्ड लज’मा बस्न आउने ग्राहकहरुको अन्तरङ्ग तथा अश्लील भिडियो गोप्य रुपमा रेकर्ड गरेको अभियोगमा प्रहरी वृत्त महाराजगन्जले लजका म्यानेजरलाई पक्राउ गरेपछि यो खुलासा भएको हो ।

​७. एमाले र सत्ता गठबन्धनका नेताहरुबीचको अभिव्यक्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति बढ्ने बताएका छन् । शुक्रबार जनजाति आदिवासीहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यो सरकारले विकासका काम नगरेको भन्दै मंसिरको निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले रेलको गतिमा विकासका काम गर्ने बताएका हुन् ।

​प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु अति आवस्यक रहेको बताएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलिका दिनमा पनि गठबन्धनकै सरकार बन्ने बताए । गठबन्धनले पोखरामा पनि यस्तै कार्यक्रम गरेको थियो । सो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका गठबन्धनका नेताहरुको सहभागिता रह्यो ।

८. स्पष्टीकरण सोध्ने क्रम जारी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रवार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले महामन्त्री शर्माविरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

​निर्वाचन आयोगले आचारसंहिता विपरीत विभिन्न दलका नेता, उम्मेदवारले चुनावी सभालाई सम्बोधन गर्दै आयोग र आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले ती दलका नेता र उम्मेदवारले दिएको अभिव्यक्ति विषयमा अलग अलगरुपमा पत्र पठाइ स्पष्टीकरण माग गरेको हो ।

​निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूले शनिवार पनि निर्वाचन खर्च बुझाउन सकिने जनाएको छ । शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनावी खर्च नबुझाएका तर मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेको उम्मेदवारले भोलि शनिवार पनि खर्च विवरण बुझाउन सक्ने जनाएको हो ।

९. पाकिस्तानको खबर

पाकिस्तानको निर्वाचन आयोगले तोशा खाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न अयोग्य ठहर गरेको छ । निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारबारे अधिकारीहरूलाई भ्रमित गरेको बताएको छ।

​१०. यो पनि...

चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतिमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् ।

​कमेडियन अपूर्व क्षितिजले आफुले मुद्दा जसरी पनि जितेर छोड्ने बताएका छन् । आफुलाई परेको समस्या केबल आफ्नो मात्र नभएर सबै नेपालीको भएको उनको धारणा रहेको छ । बिहीबार २ लाख ५० हजार धरौटीमा रिहा भएका क्षितिजले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु देश समेत नछोड्ने बताएका छन् । उनले अगाडि भन्छन्– ‘मानिस किन देश छोडेर विदेश जान्छ भन्ने म अहिले बुझ्दै छु ।’

​आज शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘के घर के डेरा’ र ‘नालापानी’ । फ्राई डे रिलिजको परम्परा धान्दै दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

​वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले आ–आफ्नो मेन्युमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकम सहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्न निर्देशन दिएको छ ।

 त्यसरी उल्लेख गरिएको मूल्यमा कुनै किसिमको अतिरिक्त रकम नलिन र सो गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारवाही हुने चेतावानीसमेत दिएको छ ।

​अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र  ७ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको छ ।

​थप हेडलाइन्स



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप