बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभावका बीच गाउँको उज्यालो जीवन

शुक्रबार, ०४ कात्तिक २०७९, १२ : २७
शुक्रबार, ०४ कात्तिक २०७९

सानो घटना हुने वित्तिकै सबैजना भेला हुने, सान्त्वना दिने, सहयोग गर्ने र भविष्यको योजना बनाउन योगदान गर्ने । यस्तो सहयोगी भावना सहर बजारतिर पाइदैन । मान्छे मर्दा पनि सम्बन्धितका आफन्तबाहेक धेरैजनालाई के भइरहेको छ भन्नेसम्मको चासो राखेको पाइँदैन ।

गाउँमा सरसमानहरु एकैचोटी जम्मा हुन्छ, जे छ त्यो मज्जाले आदान प्रदान हुन्छ । दुःख परेको बेला होस् वा अन्य उत्सवमा, मानिसहरूका बीचमा सहयोगी भावना अझै जीवित छ गाउँमा । पकाउने भाडाकुँडीहरु, ओढ्ने ओछ्याउने कपडा लिएर आउँछन्, काम सकिएपछि फिर्ता लिएर जान्छन् । यो गाउँले जीवनको निकै सुन्दर पक्ष हो जस्तो लाग्छ ।

अभाव र गरीबीका बीचमा मानवीयता सुन्दर छ । मान्छेका मनहरू सहयोगी छन्, भावना र विचारहरु असल छन् । पैसा र सम्पत्ति कम होला तर सहयोग गर्ने हातहरु अझै पनि गाउँमा जीवित छन् । साचो माया गर्छन्, एक अर्कालाई । काममा अर्मपर्म गरेर सबैको काममा सहयोग गर्छन्, आपतविपदमा सहयोग गर्छन् । यो नै त हो, असल सम्बन्ध, जीवन्त मानवीय पक्ष ।

हो, गाउँमा सबैसंग पैसा छैन । बैंक खाता हुनेहरु कम छन्, गाडी मोटर छैनन् । न त महँगा घरायसी सरसामानै छन् तर सहयोगी ब्यवहारले एकअर्काप्रतिको अन्तरनिर्भरताले गाउँले जीवन सुन्दर छ ।

कुलो लगाउँदा, धान रोप्दा, मकै र कोदो गोडमेल गर्दा सरसहयोगले गाउँमा एकखालको आनन्द रहेको महसुस हुन्छ । जीवन बाँचुन्जेलसम्म नातागोता भन्दा छरछिमेकीहरुले सहयोग गर्छन् । सुखदुःखको बेलामा संगै हुन्छन्, यो गाउँले जीवनको सुखद अनुभूति हो जस्तो लाग्छ । गाउँमा सामान्य कुरामा छलफल हुन्छ, सामान्य निष्कर्ष र निर्णय गरेर कामकाज अघि बढाइन्छ । यी सुखद र असल अभ्यास हुन् । यिनलाई बचाएर राख्नु जरुरी छ जस्तो लाग्छ ।

 एक अर्काको घरमा उत्पादन हुने तरकारी, दाल र गेडागुडी सबै साटासाट, ऐचोपैचो गरेर खान्छन् । बीउबिजन वाडफाँट गर्छन् । सरसापटी चलाउँछन् र मनका पीरमर्काहरुको साटासाट पनि गर्छन् । एक अर्कालाई मद्दत गर्ने यो स्वभाव र बानीले गाउँमा एक्लै भएको, कमजोर भएको महसुस न्यून हुन्छ । गाउँका अधिकांश मानिसहरु आनन्दको निन्द्रा निदाउछन् र मानसिक तनाव ज्यादै न्यून हुन्छ । घरेलु जडीवुटीवाट उपचार गर्छन्, मेलापर्वहरुमार्पmत् पर्याप्त मनोरञ्जन लिन्छन् । साँच्चै गाउँले जीवन सुन्दर र असल छ । एक अर्काप्रतिको आदर सम्मान, विश्वास र धैयर्ता गाउँको जीवनको प्राण हो ।

छलकपटबाट टाढा, इष्र्या, रिस र कलहबाट टाढा मित्रताको झल्को दिने ग्रामीण जीवन गुमाएर विदेशमा जोखिमपूर्ण श्रम गर्न बाध्य नेपाली युवाहरुको जीवन कष्टसाध्य छ । जीवन बाँच्ने आधारभूमिलाई छोडेर हिँड्दा, आफन्त, इष्टमित्र, साथीभाइ, परिवार सबै छोडेर टाढा पुगेर बस्दा कस्को मनमा शान्ति हुन्छ र ? नेपालमा काम नपाइने कारणले बाध्य भएर नेपाली युवाहरु बाहिरिएका छन् । उर्जाशील जनशक्ति बाहिरिएर बस्दा नेपालमा जारी विकास प्रयासमा बाधा नै सिर्जना भैरहेको छ । गाउँमा बस्ने जेष्ठ नागरिक, वालवालिका र महिलाहरुले जेनतेन जीवन चक्र सञ्चालन गरिरहेका छन् । पीडा तब हुन्छ, जब आफन्तको दुःखद मृत्यु भई शव समेत नेपाल ल्याउनका लागि कठिनाई उत्पन्न हुन्छ ।

छोरो विरामी छ भनेर भन्दाभन्दै पनि घरमा बस्न नपाउनु श्रीमतीले गर्ने गुनासो स्वाभाविक छ । छोरालाई उपचार गर्न उनले आफै दुःख गरिन् । घरको कामकाज, बच्चा हुर्काउने, सासुससुराको सेवा गर्ने, अनि गाईबस्तु, खेतीपाती काम त निकै बोझिलो हुन्छ नै । महिलाहरु साँच्चै मेहनती हुन्छन् । यदि महिलाले एकदिन घरको कामकाजमा सघाएनन् भने त्यो परिवारको हालत के हुन्छ होला ? दुःख गाह्रो, आराम विराम केही पनि नभनी मेसिनका रुपमा निरन्तर काममा जुट्ने महिलाहरुले संसार चलाएका छन् । पुरुषहरुको तुलनामा महिलाहरुले तीन चौथाई बढी नै काम गर्छन् होला । महिलाहरु इमान्दार र मेहनती नभएको भए हरेक परिवारले सोच्नै नसक्ने दुःख पाउँथे होलान् जस्तो लाग्छ ।

गाउँघरमा स्वदेशमा रोजगारीको अभावले कामको खोजीमा जाने नेपाली युवाहरुलाई तिनका अभिभावकले विवाह नगरी विदेश जान दिदैनन् वा मान्दैनन् । घरमा बुहारी राखेर मात्रै जान पाउँछस् भन्दै एक खालको बलपूर्वक विवाह गर्न बाध्य पारिने भएकोले अधिकांश युवा विवाह गरेरै मात्र विदेश कामको खोजीमा जान्छन् ।

घरमा श्रीमती राखेर विदेश जाने अवस्थाले एकातिर घर परिवारलाई सहयोग नै हुन्छ । तर, भरखर विवाह गरेर जाने युवाहरु पाँच सात वर्ष उतै बस्ने भएपछि घरमा श्रीमतीका दुःखका दिन सुरु हुन्छन् । बाहिरवाट बाबुआमालाई पैसा पठाउने हो भने बुहारी र वालवालिकाको अवस्था दयनीय बन्छ भने श्रीमतीको नाममा पैसा पठाउने हो भने घर फर्किदा श्रीमती र पैसा दुवै गुम्ने खतराका बीचमा युवाहरु पिल्सिएका छन् । बाहिर गएर जोखिमपूर्ण श्रमवाट प्राप्त गरेको कमाईको सदुपयोगको सवाल ज्यादै गम्भीर रुपमा प्रकट भएको छ ।

बाहिरवाट आउने पैसालाई उत्पादनमूलक क्षेत्रमा लगाउने कुराको सहजीकरण गर्नका लागि कसैले पहल गरेको देखिदैन । खाली घरजग्गा जोड्ने र गाउँवाट विस्थापित भएर सहरमा भीड लाग्ने अवस्थाले गाउँमा निकै नकारात्मक प्रभाव सिर्जना गरेको छ । गाउँको खेतीयोग्य जमिन बाँझो हुदै जाने र सहरमा एक टुक्रा जग्गामा वर्षौ कमाएको रकम खर्च गरी जीवनमा एउटा घर बनाउने प्रवृत्तिले कहीँकतै पनि उत्पादनमुलक कामहरु अघि बढ्न सकेका छैनन् ।

देशको अर्थतन्त्रमा रेमिट्याण्स देखिए पनि त्यसले उत्पादनमूलक, रोजगारमूलक काम अघि बढ्न नसक्दा खासै फाइदा दिइरहेको छैन । नेपालमा रोजगारी सिर्जना गर्ने र बाहिर गएर सीप सिकेर आएका युवालाई आवश्यक काम गर्ने वातावरण निर्माणमा समेत सरकारले निर्माण गर्न सकेको छैन । फर्केर फेरि विदेशै जानुपर्ने बाध्यतामा नेपाली युवा रहेका छन् ।

भएका स्थापित उद्योग पनि बन्द छन् । उता घरेलु उद्योगसमेत एकपछि अर्को बन्द हुदै गएका छन् । उपभोक्ताले बाहिर उत्पादन भएका सरसामाग्रीको उपयोग बढ्दै गएको छ । आवश्यकता भन्दा पनि अरुलाई देखेर सरसामाग्री खरीद गर्ने प्रवृत्ति बढ्दो छ । देखासिकीमा बाँचेका हामी नेपालीको आम्दानी भन्दा चार गुणा बढी फजुल खर्च गर्ने बानीको विकासले हरेक वर्ष ऋणमाथि ऋण थपिने अवस्थामा कुनै परिवर्तन आएको छैन ।

 शिक्षा र स्वास्थ्य अत्यन्त खर्चिलो बन्दै गैरहेको छ । बजारमा खाद्यान्न तथा लत्ताकपडाको मूल्य वृद्धिले खर्च घट्ने स्थिति नै छैन । यात्रा खर्च निरन्तर बढिरहेको छ । घरमा उतदित दूध र अण्डा बजारमा बेचेर चाउचाउ र विस्कुट किनेर ल्याउने नेपालीको प्रवृत्तिले वालवालिकामा कुपोषण बढ्दै गएको छ । विरामी हँुदा विशेषज्ञ डाक्टरको अभावले झोले डाक्टरहरुको औषधी किनेर खाने र वेडबाट उठ्न नसकेपछि मात्र अस्पतालमा चेकजाँच गर्ने वानी र ब्यवहारले स्वास्थ्य समस्या दैनिक रुपमा बढिरहेको छ ।

अहिलेका केटाकेटीहरु, उनीहरुलाई देश दुनिया, घरसंसार केही थाहा हुँदैन । तर, सबै जान्ने भएका ठान्छन् । हाल सञ्चार क्षेत्रमा भएको विकास, सामाजिक सञ्जालका कारण केटाकेटीहरु त साह्रै पो बिग्रिएका छन् । हुन त केटाकेटी मात्रैलाई किन दोष दिनु, पाको उमेरका महिला पुरुषहरुको अवस्था पनि उस्तै छ । गाउँमा रहेका धेरै महिला छोराछोरी छाडेर भागेका छन् । घरमा केटाकेटी र जेष्ठ नागरिकको पीडा झन बल्झिएको छ । हेरचाह गर्नेहरु घरमा छैनन् । श्रीमान्ले विदेशमा दुःख गरेर पठाएको पैसा सबै लिएर हिँडेका घटना बढिरहेका छन् । 

आफूहरु त दश कक्षा पढ्दा केटीसाथीहरुसंग बोल्न पनि सक्दैनथ्यौ । अहिलेका केटाकेटीहरु त टाप कस्न पो लागे । खै के भएको हो ? वातावरण नै विग्रिएको हो कि वा बाध्यतामा यस्ता निर्णयमा पुग्छन केटाकेटीहरु ? हुन त हामीले हाम्रो पालामा टिभी, फोन, मोवाइल केही पनि देखेका थिएनौ । अहिले सबैको हात हातमा मोवाइलहरु भएर पो बिग्रिएका हुन् कि ?

हाल कोहलपुर अड्डा जमाए पनि मेरो पहाड घर डडेलधुरा हो । कहिलकाहीँ गाउँमा घुम्दै जाँदा अनौठो मससुस हुन्छ । कति घरमा बाख्रा, कुखुरा, कति घरमा गाईभैंसी पालेर राम्रै आम्दानी भैरहेको र घरखर्च राम्रैसंग चलिरहेको देखिन्छ । बेसार, अदुवा, लसुन, कागती, सुन्तला, पिडालु, भटमास, केराउ, चना आदिको उत्पादन र विक्री तथा वस्तुहरुको साटासाटवाट मज्जाले ब्यवहार चलाएको सुन्दा मनमा आनन्द लाग्छ । केटाकेटीहरु साँझ विहान घरको काममा सघाउने, दिउँसो विद्यालय जाने रुटीन नै हुन्छ । सर सापट, अर्मपर्मले काममा सहयोग गर्ने संस्कार अहिले पनि गाउँमा विद्यमान रहेको छ ।

अहिले युवाहरु प्लस टु पास गर्ने वित्तिकै घरवाट बाहिर कामको खोजीमा जाने प्रचलन बढ्दै गएपछि युवा जनशक्तिको अभाव बढ्दै गएको छ । प्रौढ, महिला तथा वालवालिकाहरु अधिकांश गाउँमा रहेका छन् । गाउँमा कतिपय खेतीयोग्य जमिन बाँझो हुदै गएको छ । जन्ती, मलामी जस्ता कार्यमा महिला, वालवालिका तथा प्रौढको संख्या बढ्दै गएको छ ।

हरेक दिनजसो विदेशमा जोखिमपूर्ण कामको सिलसिलामा जीवन गुमाउने नेपाली युवाहरुको शव नेपाल आइरहेको छ । यति हुदा समेत न त स्वयं युवाहरु सजग बन्न सके, न त हाम्रो राज्य जिम्मेवार बन्न सक्यो । युवाहरुको विदेशमा गएर काम गर्ने रहर भन्दा बढी बाध्यता भएको उनीहरुले बताउदै आएका छन् ।

घर खर्च चलाउन नसक्नु, नेपालका रोजगारीका अवसरहरु प्राप्त नहुनु, कृषिमा काम गरेर गुजारा चलाउन गाह्रो हुनु, कृषिलाई सम्मानित पेशाका रुपमा अघि बढाउन नसक्नु, श्रम गरी खाने वर्ग अपमानित हुनु जस्ता धेरै समस्याहरुले युवाहरुलाई नेपाल भन्दा बाहिर गएर काम गर्नु बाध्यता बन्दै आइरहेको छ । यी सबैका बीच अभावमा पनि सहरको तुलनामा गाउँको जीवन उज्यालो छ ।

–लेखक भण्डारी सामाजिक अभियन्ता हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चम्फासिंह भण्डारी
चम्फासिंह भण्डारी
लेखकबाट थप