बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मजदुरले ‘बन्धक’ बनाएका त्रिवेणी उद्योगका प्रमुखसहित कर्मचारीको उद्धार

बिहीबार, ०३ कात्तिक २०७९, २० : १७
बिहीबार, ०३ कात्तिक २०७९

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स प्रालिका प्रमुखसहित व्यवस्थापकलाई प्रहरीले उद्धार गरेको छ । उद्योगमा कार्यरत मजदुरहरुले चाडपर्वमा बोनस नदिएको भन्दै  उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठसहित ८ जना कर्मचारीलाई थुनेका थिए ।

बुधवार दिउँसो १ बजे मजदुर र उद्योग प्रशासनबीच भएको वार्तामा सहमति नभएपछि साँझ ५ बजेदेखि आज (बिहीबार) दिउँसो ३ बजेसम्म उद्योगमै बन्धक बनाएर राखेको उद्योग व्यवस्थापक प्रेमकुमार सिंहले जनाएका छन् । बन्धक बनाइएका सबैलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेर ईलाका प्रहरी कार्यालय सिमरामा लगेर राखेको सिंहले जनाए । ‘उहाँहरुको माग चाडपर्वको बेला बोनस चाहियो भन्ने थियो, हामीले श्रम ऐन र बोनस ऐन अनुसार नै बोनस बाँड्छौं भनेका थियौं, तर वार्ता नमिलेपछि एक्कासी हामीलाई बुधबार साँझ ५ बजेदेखि आज दिउँसो ३ बजेसम्म कोठाभित्रै थुनेर राख्नुभयो,’ सिंहले भने ।

त्रिवेणी स्पेनिङ मिल्स प्रालि जीतपुरसिमरा उपमहानगर–९ छातापिपरामा पर्दछ । सो उद्योग बारा–पर्सा औद्योगिक करिडोरमध्येकै सबैभन्दा धेरै मजदुर कार्यरत छन् । प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले उद्योग प्रमुख, व्यवस्थापक र कर्मचारीलाई उद्धारको क्रममा अश्रुग्याँस समेत प्रयोग गर्नुपरेको बताए । ‘दोहोरो झडपको अवस्था सिर्जना भएपछि हामीले उद्धारको क्रममा अश्रुग्याँस प्रहार गरेका हौं,’ उनले भने ।दोहोरो झडपको क्रममा ११ जना प्रहरी र केही मजदुरसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप