बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समयमा फूल नफुल्दा भारतबाट भित्र्याइयो दुई लाख तयारी माला

बिहीबार, ०३ कात्तिक २०७९, १६ : ४०
बिहीबार, ०३ कात्तिक २०७९

धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला तिहारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

ल्याइएका माला व्यावसायीहरुले धरान–१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोर (शतिघर)मा भण्डारण गरेका छन् । हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउँदै गरेको व्यवसायीले कृषि उपजबजारलाई जानकारी गराएको उल्लेख गर्दै उनले नेपाली बजारको फूलबाट एक लाख ५० हजारको माला आउन सक्ने बताए । 

यो वर्ष नेपालमा फूल फुल्ने समयभन्दा अघि नै तिहार आएकाले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भएपछि व्यवसायीले तिहार अगाडि नै फूलको माला व्यवस्थापन गरेका हुन् । विगत वर्ष २५ प्रतिशत धरानमा भारतबाट फूलका माला आयात गरिँदै आएको थियो तर यस वर्ष भने ७५ प्रतिशत नै तयारी माला भारतबाट आउने सम्भावना रहेको व्यवस्थापक भट्टराईको भनाइ थियो । 

उनका अनुसार गत वर्ष रु एक करोड ६२ लाख फूलको व्यापार भएको थियो  तर यस वर्ष रु दुई करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । “ती फूलका माला प्रतिगोटा रु ४०–५० पर्न सक्छ । नेपाल यस क्षेत्रमा समयमै  फूल नफुलेकाले ती माला प्रतिगोटा रु एक सयसम्म पर्न सक्छ”, भट्टराईले भने ।

बढी  फूल उत्पादन हुने क्षेत्र धनकुटा, तेह्रथुम, सुनसरीको पानवारी, ठिङ्गाबारी, मोरङको केराबारीलगायत क्षेत्रमा सयपत्रीफूलका कोपिला मात्र बसेको छ । तिहार यही कात्तिक ५ गतेदेखि सुरु हुँदैछ । यो वर्षको तिहारलाई स्थानीयवासीले रोपेको फूलले  काम नदिएको व्यवसायी विमल थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप