आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ब्याजदर वृद्धिको विरोधमा चरणबद्ध आन्दोलनमा व्यवसायी

बिहीबार, ०३ कात्तिक २०७९, १३ : ४३
बिहीबार, ०३ कात्तिक २०७९

रुपन्देही व्यापार संघले राष्ट्र बैंकले जारी गरेको ‘चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन–२०७९’ र त्यसबाट व्यापार व्यवसायमा परेको प्रभाव एवं ब्याजदरमा भएको वृद्धिको विरोधमा चरणबद्ध आन्दोलनहरु शुरु गरेको छ । संघले पहिलो चरणको आन्दोलन अन्तर्गत बिहीबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामा मार्फत नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे सहितको संघको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रञ्जना पौडेललाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको थियो । ज्ञापन पत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले राष्ट्र बैंकको गलत नीतिका कारण बैंकहरुले व्याज दर बढाएर व्यापार व्यवसाय चलाउनै नसकिने परिस्थितिको सिर्जना भएको भन्दै यथाशक्य समाधानको निम्ति आग्रह गरे । 

पछिल्लो समय नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरूबाट विना कारण व्याज वृद्धि गर्दा व्यवसाय सञ्चालनमा गम्भीर असर परेको भन्दै उनले यसलाई नसच्याएमा व्यवसायीहरु पेशाबाट पलायन हुने अवस्था सिर्जना भएको बताए ।

उनले बैंक वित्तीय संस्थाहरूबाट लिएका ऋणको ब्याज अस्वाभाविक रुपमा वृद्धि गरिनुका साथै त्यसमा कसैको निगरानी नहुनु ज्यादै दुःखद पक्ष रहेको स्मरण गराउँदै त्यसमा राष्ट्र बैंकले ध्यान दिन र व्याज दर घटाउन आग्रह गरे । संघले ज्ञापन पत्रमा नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र बैंकको चर्को ब्याजका कारण व्यवसाय क्षेत्रमा देखिएको जटिलतालाई हटाउन र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि तत्काल बृद्धि गरिएको व्याजदर घटाउनु बाहेक अर्को कुनै विकल्प नभएको उल्लेख गरेको छ ।

संघले आकासिँदो व्याजदर नियन्त्रणको लागि हाल विद्यमान स्प्रेड दर १ प्रतिशतमा घटाउनु पर्ने, बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरिनु पर्ने, नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई प्रवाह गर्ने ऋण ५ प्रतिशत नै कायम गरिनु पर्ने, तरलताको समुचित व्यवस्थापन गर्नका लागि पुँजीगत खर्च समयमै गर्नु पर्ने यदी नभएको खण्डमा सरकारी खातामा रहेको रकम बैंक वित्तिय संस्थामा प्रवाहको व्यवस्था मिलाएर वजारमा पुँजी चलायमान गराउन सुझाव समेत दिइएको संघका महासचिव दयानिधि भण्डारीले बताए । 

ज्ञापन पत्र ग्रहण गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रञ्जना पौडेलले संघले प्रस्तुत गरेको विषयवस्तुलाई सकारात्मक रुपमा आफुले लिएको बताउदै व्यवसायीहरुको मागलाई आफुले इमानदारिताका साथ सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप