आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सशस्त्रको लेखा स्टोरमा आगलागी प्रकरणमा नयाँ मोडः विशेष अदालतले मागेको थियो डकुमेन्ट, १२ लाखको मदिरा पनि नष्ट

आइतबार, ०९ पुस २०७४, १५ : ४९
आइतबार, ०९ पुस २०७४

काठमाडौं– सशस्त्र प्रहरी मुख्यालय बलम्बुस्थित प्रहरी महानिरीक्षकको सचिवालय मातहत रहेको ‘केन्द्रीय लेखा स्टोर’मा भएको आगलागीको घटना भवितव्य थियो वा योजनाबद्ध ?

कसैले भवितब्य मानेका छन्, कसैले योजनाबद्ध ।

भवितव्य वा योजनाबद्ध, जे सुकै भएपनि घटना चाहिँ शंकाको घेरामा छ ।

पुस ३ गते मध्यराती १ बजेर ३० मिनेटमा आगलागी भएसँगै गृह मन्त्रालय र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाए । समिति बनाउनुले पनि घटना शंकाको घेरामा रहेको संकेत दिन्छ ।

गृह मन्त्रालयले सह–सचिव कृष्ण राउतको संयोजकत्वमा समिति निर्माण गरेसँगै घटनाको अनुसन्धान शुरु गरेको महानगरीय अपराध महाशाखाले हात झिकिसकेको छ ।

सशस्त्र प्रहरी मुख्यालयमा आगलागी : दुर्घटना हो कि योजना ?

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा अपराध अनुसन्धानमा अब्बल मानिन्छ । तर, उच्चस्तरीय समितिको नाममा महाशाखालाई उक्त घटनाको अनुसन्धानबाट ब्याक गराएसँगै घट्नै झनै शंकास्पद बन्दै गएको स्रोतको भनाई छ ।

‘महानगरीय प्रहरी वृत स्वयम्भुले मुद्दा चलाउँछ’ अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी रातोपाटीसँग भने, ‘महानगरीय प्रहरी कार्यालयका डीआईजी सम्मिलित समितिले छानबिन गरिरहेको हुनाले अब हाम्रो खासै रोल हुँदैन ।’

आगलागीका कारण अख्तियारको छानविनको क्रममा रहेको ‘भ्रष्टाचार मुद्दा’को महत्वपूर्ण कागजात समेत नष्ट भएको थियो ।

सशस्त्र मुख्यालय स्रोतका अनुसार पुर्व आईजीपी कोषराज वन्तको समयमा खरिद भएको सामानको विवरण र बिल भपाई सोही स्टोरमा राखिएको थियो ।

अख्तियारको छानविनपछि कोषराज वन्त विशेष अदालत काठमाडौंमा मुद्धा खेपिरहेका छन् ।

पछिल्लो समय विशेष अदालतले वन्तले खरिद गरेको सामानको विवरण र सक्कल डकुमेन्ट माग गर्दै सशस्त्र प्रहरी मुख्यालमा पत्राचार गरेको थियो ।

त्यस्तै पुर्व आईजीपी दुर्ज कुमार राईको समयका खरिद गरिएको ६८ लाख मुल्य बरारबरको लत्ताकपडा खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।

छानविनका लागि महत्वपुर्ण प्रमाणको रुपमा रहेको बिल भपाई, तथा अन्य कागजात सोही स्टोरमा राखिएको थियो, तर शंकास्पद ढंगले आगलागी हुँदा राईको कार्यकालमा खरिद गरिएको लत्ताकपडा, जुत्ता लगायतका सामाग्रीे कागजपत्र नष्ट भएको छ ।

छानविन समितिका संयोजकले काठमाडौं छाडे

घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मा पाएका गृह मन्त्रालयका सह–सचिव कृष्ण राउत घटनाको छानविन गर्नुको साटो काठमाडौं बाहिर लागेका छन् ।

आईतबार रातोपाटीले सम्पर्क गर्दा उनले ‘काठमाडौं बाहिर रहेको’ भन्दै एसएमएस गरेका छन् ।

सह–सचिव राउत नेतृत्वको समिति गठन भएको पाँच दिन भैसकेको छ ।

छानविन समितिमा रहेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गणेश केसीले सात दिनको समयसीमामा प्रतिवेदन दिनुपर्ने उल्लेख गर्दै भने, ‘सशस्त्र प्रहरी मुख्यालमा आगलागी भएको घटनामा काम हुँदैछ, अहिले यत्ति भनौं ।’

त्यस्तै सशस्त्र प्रहरी प्रधान कार्यालयले पनि एआईजी प्रेम शाहीको संयोजकत्वमा छानविन समिति गठन गरेको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी बावुराम पाण्डेले बताए ।

उनले रातोपाटीसँग भने, ‘विद्युत्तीय सर्ट पनि हुनसक्छ, किनभने रेफ्रिजेरेटर त्यहाँ अन थियो भन्ने कुरा आएको छ । स्टोर भएको हुनाले कसैको ब्याड इन्टेनशन पनि हुनसक्छ भनेर छानविन समिति गठन भएको छ ।’

कस्को जिम्मामा थियो लेखा स्टोर ?

केन्द्रिय लेखा स्टोर सशस्त्र प्रहरी प्रमुख सिंह बहादुर श्रेष्ठको सचिवालय मातहत रहेको हुन्छ । केन्द्रिय लेखा प्रमुख समेत रहेका डिएसपी ध्रुव केसी, ईन्सपेक्टर दिल कुमार घिमिरे, सई पुष्कर भण्डारी, सई होम बहादुर थापा, असई नगेन्द्र बहादुर रुचाल, बरिष्ठ हवल्दार रमेश खड्का, हवल्दार रामशरण ठकुरी, सहायक हवल्दार मिन बहादुर रोका, सहायक हवल्दार काजिराम श्रेष्ठ, जवानहरु राम प्रधान र शंकर चौधरीको जिम्मामा उक्त लेखा स्टोर सञ्चालनमा रहेको थियो ।

सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार आगलागीको घटनापछि केही प्रहरी कर्मचारी सम्पर्क विहीन भएका छन् भने केहीले यसअघी नै विदा स्विकृत गराईसकेका थिए ।

रक्सी पनि थियो स्टोरमा !

रोचक कुरा त केछ भने, सरकारी बजेटमा प्रहरीले मदिरा खरिद गर्न नपाउने भएपनि स्टोरमा १२ लाख मूल्य बराबरको महंगो मदिरा जलेको पाईएको छ ।

मुख्यालय स्रोतका अनुसार सोही स्टोरमा बसेर केन्द्रीय लेखामा कार्यरत सुरक्षा अधिकारी केही दिनको अन्तरमा राती अबेरसम्म बसेर मदिरा पिउने गरेका थिए ।

केन्द्रीय लेखा शाखा र लेखा स्टोरमा लामो समयदेखि एउटै व्यक्ति बस्ने गरेको र बर्षैसम्म उनीहरुको सरुवा नहुँने गरेको पाइएको छ ।

डिएसपी ध्रुव केसी, ईन्सपेक्टर दीलकुमार घिमिरे, सई पुष्कर कार्कीबाहेक अन्य सुरक्षा अधिकारी १० बर्षदेखि सोही शाखामा काम गर्दै आएको बताईएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप