शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नवौँ राष्ट्रिय खेलकुद : पोखरा महानगरद्वारा समापनमा विशेष विदा

बुधबार, ०२ कात्तिक २०७९, २१ : ३९
बुधबार, ०२ कात्तिक २०७९

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले भोलि एक दिन विशेष विदा दिएको छ ।  महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।

महानगरले समापन समारोहमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सहभागी हुनसमेत आग्रह गरेको छ । नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत आम नगरवासीलाई दिउँसो २ बजे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।

प्रदर्शनी केन्द्रबाट जम्मा भएर बृहत् सहभागिताबीच पोखरा रङ्गशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडामा रहेका खेल मैदानमा प्रमुख खेल सञ्चालन भइरहेका छन् ।

राष्ट्रिय खेलकुद आयोजना पोखरा महानगरपालिका र पोखरेलीका लागि गौरवको विषय रहेको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार समारोहमा आमनगरवासीको उल्लेखनीय सहभागिता रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप