शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तीन मुख्यमन्त्रीका आकाङ्क्षीसहित यी हुन् कर्णालीमा एमालेका २४ उम्मेदवारहरू

बुधबार, ०२ कात्तिक २०७९, १६ : ५६
बुधबार, ०२ कात्तिक २०७९

सुर्खेत । ०७४ मा नेकपा (माओवादी केन्द्र) को बलमा कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १४ सिट जितेको नेकपा एमाले अहिले एक्लै चुनावी मैदानमा होमिएको छ । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी केन्द्र, माओवादी र कांग्रेससहितको गठबन्धन एकातिर र एमाले अर्कोतर्फ छ । 

केन्द्रमा राप्रपासँग तालमेल गरेता पनि कर्णालीमा भने एक्ला–एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा हुँदै एमाले विभाजनको कारक बनेको कर्णालीमा एमाले अन्य प्रदेशको तुलनामा कमजोर छ । उदाहरणका लागि ०७४ मा २७ पालिकाको नेतृत्व प्राप्त गरेको एमाले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा १५ पालिकामा सीमित रह्यो । 

०७४ मा १४ प्रत्यक्षमध्ये ४ जना ‘फ्लोर क्रस’ र पछि २ जनाले एमाले विभाजनपछि समाजवादी रोजेका थिए । प्रदेश सभामा समानुपातिकसहित २० जनाको बहुमत हुँदा पनि सरकार बनाउन नसकेको एमालेले आसन्न निर्वाचनमा परिणाम कस्तो ल्याउला त्यो भने निर्वाचनले नै निर्धारण गर्ला । 

नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ चुनावी मैदानमा होमिएको एमालेले आसन्न निर्वाचनका ३ जना पूर्व माओवादी र एक जना समाजवादीका नेतालाई उम्मेदवार बनाएको छ । २४ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीका सुर्खेत १ (क), दैलेख १ (क) र हुम्ला (ख) मा पूर्व माओवादी नेताहरूलाई चुनावी मैदानमा उतारेको छ । यस्तै ०७४ मा एमालेबाट नै जितेर प्रदेश सभामा आफ्नै पार्टीलाई घात गरेका कुर्मराज शाहीलाई पनि एमालेले नै संरक्षण गरेको छ । प्रदेश सभामा ‘फ्लोर क्रस’ देखि बलात्कारको आरोप खेपेका विवादित व्यक्ति शाही समाजवादीको कालिकोट जिल्ला इञ्चार्ज थिए । रातारात एमालेले उनको हातमा टिकट थमाइदिएपछि पुनः पुरानै घरमा फर्किएका हुन् । पूर्व माओवादी नेताहरूलाई साथमा लिएर चुनावी प्रतिस्पर्धामा उत्रिँदा एमालेले जनाधार बढ्ने अपेक्षा गरेको छ । 

एमालेबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार को–कस्तो ?

एमालेले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) बाट पूर्व माओवादी नेता ठम्मर विष्टलाई अघि सारेको छ । ०७४ मा माओवादीबाट चुनाव जितेका विष्टले जनमतको ख्यालै नगरेर गत चैत्रमा एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनको सांसद पद खोसेको थियो । पाँच वर्षअघि माओवादीबाट १५ हजार ३५२ मत ल्याएर निर्वाचित भएका विष्ट आसन्न निर्वाचनमा एमालेको उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् । विष्ट माओवादीको भोट समेत आफ्नो पक्षमा पार्ने आशा गरेका छन् । विष्टले गठबन्धनबाट साझा उम्मेदवार कांग्रेसका खड्ग पोखरेलसँग प्रतिस्पर्धा गर्ने भएका छन् । कांग्रेस जिल्ला सभापतिसमेत रहेका पोखरेल र विष्टबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

क्षेत्र १ (ख) बाट भने डण्डिप्रसाद शर्मा उम्मेदवार बनेका छन् । पार्टीले पूर्वमन्त्री समेत रहेका खड्ग खत्रीलाई सिफारिस गरे पनि केन्द्रबाट भने शर्माले टिकट प्राप्त गरेका हुन् । सोही विषयलाई लिएर एमाले जिल्लामा विवाद मात्रै होइन शर्मालाई जिताउन नसकिने बताएको थियो । सोही अनुसार शर्माकोविरुद्धमा खत्रीले बागी उम्मेदवारी समेत दिए तर अन्तिममा आएर उनी ब्याक भए । शर्मा तिनै व्यक्ति हुन् जो गत पुसमा भएको पार्टीको अधिवेशनमा जिल्ला अध्यक्षमा पराजित भएका थिए । 

क्षेत्र नम्बर २ (क) बाट पुनः एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल चुनावी मैदानमा छन् । ०७४ मै मुख्यमन्त्री बन्ने अपेक्षासहित प्रदेशमा निर्वाचन लडेका उनलाई पुनः मुख्यमन्त्रीकै दाबेदारका रूपमा हेरिएको छ । कँडेल ३ दशकअघि ०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा आफूसँगै प्रतिस्पर्धामा होमिएका कांग्रेसका कालिप्रसाद शाक्यसँग प्रतिस्पर्धामा छन् । कँडेल ०७४ मा २१ हजार २८२ मतसहित विजयी भएका थिए । २ (ख) मा ताराकेशर गौतमलाई उम्मेदवार बनाएको छ । गौतम पनि एमालेभित्र आशा लाग्दा नेताको रूपमा परिचित छन् ।

४ वटै निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रदेश सभा सदस्य पदका लागि पूर्व माओवादीसहितका नेता मैदानमा छन् । क्षेत्र नम्बर १ (क) बाट धर्मराज रेग्मी पुनः प्रदेश सभा सदस्य पदका लागि चुनावी मैदानमा छन् । रेग्मी एमालेबाट प्रतिनिधि सभामा सिफारिस भए पनि अन्त्यमा आएर प्रदेशमा लड्ने भएका हुन् । रेग्मी तीनै व्यक्ति हुन् तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षमा आफ्नो दलका नेता महेन्द्रबहादुर शाहीलाई छाडेर एमालेको पक्षमा उभिएका थिए । 

अन्ततः ०७७ साल, २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि रेग्मी एमालेमै बसे । माओवादी केन्द्र संसदीय दलले उनलाई पदमुक्त गरिदियो । ०७४ मा क्षेत्र १ (क) बाट १० हजार ३६१ मत ल्याएर निर्वाचित भएका उनी अहिले एमालेबाट उम्मेदवार बनेर सोही क्षेत्रका मतदातासामु भोट माग्दै छन् । रेग्मी एमालेको केन्द्रीय कानुन विभाग उपप्रमुख हुन् । १ (ख) बाट पूर्व जिल्ला समन्वय समितिका सभापति प्रेम थापा उम्मेदवार बनेका छन् ।

यस्तै क्षेत्र नम्बर २ (क) बाट तिलकप्रसाद रिजाल उम्मेदवार बनेका छन् । ०५४ सालमै दुल्लू गाविसको अध्यक्ष बनेका उनी दुल्लू नगरपालिकाका पूर्व मेयर कांग्रेसका घनश्याम भण्डारीसँग प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै (ख) बाट भने एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह उम्मेदवार छन् । शाह तीनै व्यक्ति हुन् जो ०४८ मा नेमकिपाबाट चुनाव लडेर पराजित बनेका थिए भने त्यसपछि एक पटक नेमकिपाबाट नै सांसद जितेका थिए । एमाले बनेपछि अहिलेसम्म लाभको पदमा पुग्न नसकेका उनी गणतन्त्र स्थापनापछि पहिलो पटक चुनावमा भाग लिँदैछन् ।

यस्तै निवर्तमान सांसद गुलाबजंग शाह पुनः प्रदेश सभाकै लागि उम्मेदवार बनेका छन् । एमाले प्रदेश सह–इञ्चार्ज समेत रहेका शाह सल्यान (ख) बाट उम्मेदवार बनेका हुन् । शाहले यो पटक निर्वाचन क्षेत्र फेरबदल गरेका छन् । ०७४ मा (क) बाट १९ हजार ६५८ मतसहित विजयी भएका हुन् यो पटक सो क्षेत्रमा सुरक्षित हुने नदेखेपछि क्षेत्र बदलेका हुन् । सल्यान (क) बाट भने कुलबहादुर गिरी उम्मेदवार बनेका छन् ।

डोल्पा (क) बाट प्रदेशसभा सदस्य पदका लागि एमाले जिल्ला अध्यक्ष शेरबहादुर बुढा चुनावी मैदानमा छन् भने (ख) बाट धनचन्द्र बैजी उम्मेदवार छन् । बुढा यसअघि जिल्ला समन्वय समितिको प्रमुख बनिसकेका व्यक्ति हुन् ।  

गत वैशाख ३० मा कुनै पनि पालिकाको नेतृत्व पाउन नसकेको एमालेले कालिकोट (क) मा कुर्मराज शाहीलाई अघि सारेको छ । ०७४ मा एमालेबाट ११ हजार ९३५ मतसहित निर्वाचित भएका उनी प्रदेश सरकारमा रहँदा सबैभन्दा विवादित पात्रका रूपमा स्थापित बने । मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेका र समाजवादी रोजेका उनको एमालेमै पुनरागमन भयो। समाजवादीको कालिकोट जिल्ला इञ्चार्ज समेत रहेका उनी गठबन्धनभित्र कालिकोट समाजवादीको भागमा नपर्दा रातारात टिकटका लागि एमाले प्रवेश गरेका थिए । उनी एमाले प्रवेश गरेको उनले दर्ता गराएको मनोनयन पत्र सार्वजनिक भएपछि मात्रै जानकारी भएको थियो । यद्यपि ०७४ मा माओवादीको साथले चुनाव जितेका उनी अहिले भने एक्लै गठबन्धनका उम्मेदवारसँग चुनावी मैदानमा छन् । कालिकोट (ख) बाट भने वीरेन्द्रबहादुर बोगटी उम्मेदवार छन् । 

यस्तै जुम्ला (क) बाट प्रदेश सभा सदस्यका लागि एमाले केन्द्रीय सदस्य धीरेन्द्र गिरी उम्मेदवार बनेका छन् । उनी केपी ओली प्रधानमन्त्री हुँदा भूमि आयोग जुम्लाको अध्यक्ष थिए । ०७४ मा पनि प्रदेश सभाका लागि सिफारिस भएका थिए । पछि माओवादी–एमालेबीच गठबन्धन बन्दा माओवादीका नरेश भण्डारीलाई समर्थन गरेका थिए । जुम्ला (ख) बाट भने युवा नेता टेकराज पछाई उम्मेदवार बनेका छन् । विद्यार्थी राजनीति हुँदै एमालेको प्रदेश उपाध्यक्ष बनेका उनी एमालेभित्र आशा लाग्दा नेताको रूपमा समेत चिनिन्छन् । उनी पहिलो पटक चुनावमा भाग लिँदैछन् ।

हिमाली जिल्ला हुम्लामा एमालेले पूर्व माओवादी नेता छक्कबहादुर लामा र एमाले जिल्ला सह–इञ्चार्ज दल फडेरालाई चुनावी मैदानमा उतारेको छ । फडेरा प्रदेश सभा (कं) र लामा (ख) बाट प्रदेश सभा सदस्य पदका लागि चुनावी मैदानमा छन्। फडेरा ०७४ मा अदानचुली गाउँपालिकाको अध्यक्ष बनेर पाँच वर्षे कार्यकाल चलाए भने गत वैशाख ३० को स्थानीय तहको निर्वाचनमा सोही पदमा पराजित भएका थिए । पूर्व माओवादी लामाको राजनीतिक जीवन भने अस्थिर छ । ०७४ मा माओवादीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनी ८ हजार ४९१ मतसहित निर्वाचित भएका थिए । माओवादीको केन्द्रीय सदस्य रहेका उनी टिकट नपाउने भएपछि एमाले अध्यक्ष ओली निवास बालकोटमा पुगेर एमाले प्रवेश गरेका थिए । उनी ०४८ सालमा राष्ट्रिय जनमोर्चाबाट चुनाव लडेका थिए भने तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए । उनको एमाले प्रवेशसँगै हुम्लामा माओवादीलाई घाटा लागेको माओवादी नेताहरूको भनाई छ । उनी कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग प्रतिस्पर्धा गर्दैछन् । शाही–लामाबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

हिमाली जिल्ला मुगुमा (क) बाट जीतबहादुर मल्ल र (ख) बाट कर्णबहादुर मल्ल उम्मेदवार बनेका छन् । यस्तै  जाजरकोटमा एमाले जिल्ला अध्यक्ष खिमबहादुर शाही र केन्द्रीय सदस्य डम्बर सिंह चुनावी मैदानमा छन् । सिंह प्रदेशसभा (कं) र शाही प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेका छन् । यस्तै रुकुम पश्चिम (क) बाट युवा नेता नारायण शाह र (ख) बाट कर्णबहादुर घर्ती उम्मेदवार छन् । २४ जना उम्मेदवारमध्ये यामलाल कँडेल, गुलाबजंग शाह, धर्मराज रेग्मी, ठम्मर विष्ट, कुर्मराज शाही गरी ५ जनाले यसअघि प्रदेश सभाको अनुभव बटुलीसकेका छन् । जसमध्ये कँडेल, शाह र एमाले प्रदेश अध्यक्ष विनोद शाहलाई एमालेबाट मुख्यमन्त्रीको आकाङ्क्षीका रूपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप