बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई महानगरको सम्मान

मङ्गलबार, ०१ कात्तिक २०७९, २१ : १४
मङ्गलबार, ०१ कात्तिक २०७९

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ जना पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेका हुन् । 

पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगिताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीहरूले ५ स्वर्ण पदक जितेका छन् भने २ वटा कास्य तथा ५ रजत पदक जितेका छन् । यी सबै इभेन्टमा सहभागी ४१ जना खेलाडीहरूलाई महानगरपालिकाले नगदसहित सम्मान गरेको हो । 

स्वर्ण पदक विजेतालाई प्रति पदक नगद रु.१५ हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु.५ हजार, कास्य पदक विजेतालाई प्रति पदक रु.१० हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु.५ हजार र रजत पदक विजेता खेलाडीहरूलाई प्रति पदक नगद रु.पाँच हजारका दरले सम्मान गरिएको हो । 

हलसम्म पुरुष ह्यान्डबल बल (समूह), फुल कनट्र्याक्ट करातेका अभिषेक तामाङ र अनीश बुढा, बडि बिल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै फुल कनट्र्याक्ट कराते कै रूपक नेपाली र शिव भुजेलले कास्य पदक प्राप्त गरेका छन् । केही खेलमा सहभागी समूहहरूले ५ रजत पदक प्राप्त गरेका छन् । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीहरूलाई प्रतियोगिता समापन लगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । 

खेल कै दौरानमा खेलाडीहरूलाई गरिएको सम्मानले थप हौसला मिल्ने उनले विश्वास व्यक्त गरे । खेलाडीहरूमा सकारात्मक ऊर्जाको प्रवाहका लागि यस्ता प्रकारका सम्मानहरू आवश्यक हुने तर्क समेत गरे । पोखरा महानगरपालिका सदैव खेलाडी तथा खेलकर्मीहरूको साथैमा रहेको उनले विश्वास दिलाए । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीहरूको असल अभिभावकको भूमिकाका रूपमा महानगरपालिका रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप