मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

देउडा गीतबाटै मागे उम्मेदवारले भोट

मङ्गलबार, ०१ कात्तिक २०७९, १९ : ५७
मङ्गलबार, ०१ कात्तिक २०७९

उम्मेदवारहरूको टुङ्गो लागेसँगै यतिबेला गाउँघरमा चुनावी रौनक तातेको छ । सहर केन्द्रित नेताहरु मतदातासामु भोट माग्नकै लागि गाउँ केन्द्रित बनेका छन् । उनीहरु गाउँघरमा हुने मेला, पर्व, जात्राहरुमा समेत सहभागी भएर आफ्नो प्रसारप्रचार गर्न थालेका छन् ।

दैलेखको आठबीस नगरपालिका–१ वडा कार्यालयले शुक्रबार आयोजना गरेको सात्तला जात्रु (मेला) मा केही उम्मेदवार पनि सहभागी भएका थिए । उनीहरुले देउडा गीतबाट मतदातासँग भोट मागे । झण्डै ५ हजार हाराहारीमा मानिस सहभागी रहेको मेलामा ठुलो देउडा खेल खेलिएको थियो ।

देउडा खेलमा दैलेख क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार जयाबहादुर थापा पनि सहभागी रहे । उनी नेपाल मजदुर किसान पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् । देउडा गायकसमेत रहेका थापासँग देउडा प्रतिस्पर्धा गर्न आएकी थिइन् अछामकी देउडा गायिका पानसरा थापा । ठुलो घेरामा खेलिएको देउडा खेलमा रोचक दोहोरी चलेको थियो ।

जया : दैलेख २ प्रदेश (ख) बाट चुनाव लड्याको छु

दाहिने हुन् मावला देउता भर पड्याको छु

पानसरा : प्रदेशका उम्मेदवार जति अगाडि सर्छन् कि

सबै आफ्ना भयापछि काँइ घात अर्छन् कि ?

उक्त हरफमा उम्मेदवार थापाले आफू पहिलो पटक प्रदेशको चुनाव लडेको र देवी देवताले रक्षा गर्लान् भनेर आशा व्यक्त गरेका छन् । ठाटीकाँध गाउँपालिका ६ निवासी थापाको मावली घर सात्तला भएको हुनाले उनले आफ्नो मावली देवता दाहिने भएर चुनाव जिताउने विश्वास देउडामार्फत लिएका छन् ।

जवाफमा पानसराले उता (कांग्रेस, माओवादी, समाजवादी) गठबन्धन भएकाले जयालाई चुनाव जित्न कठिन हुने कुरा गीतमा उल्लेख गरेकी छन् । साथै उनले आफ्नैबाट पनि चुनावमा घात, अन्तर्घात हुने भएकाले सचेत रहन थापालाई आग्रहसमेत गरेकी छन् ।

जया : गाउँ डुलु कि घरै बसु भनौ न क्या मामा

रुनी छौ कि हास्याकी छौ म जन्माउने आमा

पानसरा : सबै महिला हाँस्याकी छन् जयालाई भोट दिन

सबै मिली गर्ने हुन् कि यो मुटु चोट दिन

उम्मेदवार थापाले चुनावमा घात हुने भए गाउँमा भोट माग्दै डुलेर के गर्ने ? भनेर आफ्ना मावली परिवारलाई सम्झिएका छन् भने स्वर्गबास भइसकेकी आफ्नी आमालाई समेत सम्झिएका छन् । आफ्नो उम्मेदवारीले आमा रोइरहेकी होलिन् कि हाँसिरहेकी होलिन् भनेर जन्मभूमिलाई सम्झिएका छन् ।

पानसराले उनको मनलाई शान्त पार्न जनताले त तिमीलाई भोट दिने नै हुन्, त्यसैले सबै मुहारमा मुस्कान देखिन्छ भनेर सम्झाएकी छन् । तर अन्य सबै दल मिलेर तिमीलाई पराजित गर्ने पो हुन् कि भनेर चिन्ता पनि व्यक्त गरेकी छन् ।

जया : संघबाट केशेन्द्र कार्की प्रदेशबाट जया

 देउडा खेल्ने देउडा हेर्ने सबै मान्या दया

 चुनाव चिन्ह मादलै हो भोट माग्न्या जयाई हो

जयाको निर्वाचन जित्न्या मस्त भोट भयाई हो

मस्त भोट बनाउने पनि हजुरकै दया हो

पानसरा : कैका अनुहार गोरा धेक्तो कै का अनुहार काला

 चौका माथि मौका हान आफ्ना पाला–पाला

उम्मेदवार थापाले आफ्नो दलबाट प्रतिनिधिसभाको उम्मेदवारको पनि उल्लेखित हरफमा चर्चा गर्न भ्याए । प्रतिनिधिसभामा नेमकिपाबाट केशेन्द्र कार्की उम्मेदवार भएको बताउँदै उनले मेलामा देउडा खेल्न आएका र हेर्नेहरुसँग पुनः भाेट मागे । थापाले दया मानेर भए पनि जयालाई यो पटकको चुनावमा विजयी गराइदिन अनुरोधसमेत गरे ।

पानसराले भने अन्य ठुला भनिएका दलका नेताहरुप्रति जनताको वितृष्णा जागेको बताएकी छन् । जनताका अनुहारमा आशा र खुसीको त्यान्द्रो नदेखिएकाले जनताले विकल्प खोज्न सक्छन्, मौकामा चौका हान्नु भन्दै उनले उम्मेदवार थापालाई हौसला प्रदान पनि गरेकी छन् ।

उम्मेदवार थापा यसअघि ०७४ मा ठाटीकाँध गाउँपालिकाको अध्यक्ष पदमा पनि उम्मेदवार बनेका थिए । उनी पराजित भए । अहिले उनले गठबन्धनबाट साझा उम्मेदवार माओवादीका योगेन्द्र शाही र एमालेका विनोद कुमार शाहसँग प्रतिस्र्धा गर्ने भएका छन् । उम्मेदवार थापा र देउडा गायिका थापाबीचको चुनावी देउडा दोहोरीको चर्चा अहिले सामाजिक सञ्जालमा समेत भइरहेको छ । उक्त सात्तला मेलामा आठबीस नगरपालिका, ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका बासिन्दाको सहभागिता थियो ।

पराम्परादेखि नै सात्तलामा लाग्दै आएको उक्त मेलाको आफ्नै लोक सांस्कृतिक महत्त्व छ । आठबीस नगरपालिका–१ का वडाअध्यक्ष बलबहादुर रावत भन्छन्, ‘अहिले हाम्रो लोक, देउडा संस्कृति हराउँदै गएको छ, हामीले विगतकै बिँडो थाम्ने प्रयास गरिरहेका छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप