बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनाको तयारीमा पुलिसको स्वर्णिम डेब्यू

मङ्गलबार, ०१ कात्तिक २०७९, १७ : २०
मङ्गलबार, ०१ कात्तिक २०७९

नेपाली महिला क्रिकेटको प्रभावशाली टोलीमा विभागीय टोली एपीएफको नाम आउँछ । पछिल्लो समय नेपालमा हुने प्रायः घरेलु क्रिकेटमा एपीएफले बर्चस्व कायम गरेको हुन्थ्यो । तर, अहिले अर्काे विभागीय टोली नेपाल पुलिस क्लब महिला क्रिकेटमा चम्किन सफल भएको छ । पुलिस नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यूमा नै स्वर्ण जित्न सफल भएको हो ।

एक महिनाको तयारीमै पुलिस आठौँ संस्करणको च्याम्पियनलाई हराउन सफल भएको हो ।  रुविना क्षेत्रीको कप्तानीमा रहेको पुलिसले मंगलबार भएको फाइनल खेलमा एपीएफलाई ५ रनले हराउँदै जित दर्ता गरेको हो । नेपाल पुलिस क्लबका प्रशिक्षक मञ्जित श्रेष्ठले टीमको लक्ष्य अनुसार नै आफूहरु प्रस्तुत भएको बताए । एक महिनाको तयारीले टीमले सोचे अनुसार नै प्रदर्शन गर्दा स्वर्ण हात पार्न सकिएको बताए ।

विभागीय टोली भएका कारण नै तयारी र प्रतिस्पर्धाको हिसावले धेरै चुनौती हुने र त्यो चुनौतीलाई आफूहरुले सामना गरेर च्याम्पियन बन्न सफल भइएको उनको भनाइ छ । ‘एक महिनाको तयारीमा हामीले प्रतियोगितामा सहभागिता जनाएका थियौँ । १४ जना खेलाडीलाई समेटेर तयार पारेको टीमले सोचेअनुसार प्रदर्शन गर्न सफल भयो । अब यो टोलीलाई झनै बलियो बनाउँदै लिने योजना छ,’ श्रेष्ठले भने ।

श्रेष्ठले पुलिसको टोलीलाई अझै बलियो बनाएर लैजाने योजना भएको बताए । नेपाली क्रिकेटमा नयाँ टोली तयार पार्दा तयारीको समय र टीम कम्बिनेसन मिल्ने कुरामा दुई मत भएपनि टीम एकदमै राम्रो भएर आएको उनको भनाइ छ ।

‘टीम तयार पार्दा सबै खेलाडी मिलाएर ल्याउने भएकाले कम्बिनेसन मिल्दैन भन्ने चिन्ता थियो । तर, अहिले टीमको कम्बिनेसन राम्रो मिलेको देखियो । यसलाई अझै बलियो बनाएर लिने योजना छ,’ मञ्जितले भने ।

श्रेष्ठले पहिलेदेखि राष्ट्रिय टीमबाट र उमेर समूहको टीममा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीहरु भएकाले पनि टीमको प्रदर्शनलाई सहयोग गरेको बताए । ‘राष्ट्रिय टीम र उमेर समूहबाट खेलेका खेलाडीहरु हुँदा टीमको प्रदर्शनमा सहज भयो । खेलाडीहरूले एकअर्काको खेल क्षमतालाई बुझेका थिए,’ उनले भने ।

​पुलिसकी कप्तान रुविना क्षेत्रीले युवा खेलाडीहरुलाई समेटेर टीम तयार पार्ने आफ्नो चाहना पूरा भएको प्रतिक्रिया दिइन् । पुलिसको टीम आफूले सोचे अुनसार भएकाले पनि नतिजामा सहज भएको उनको भनाइ छ । आफूले जति सक्दो युवा खेलाडीलाई हौसलाका साथ अघि ल्याउने गरेकाले त्यसको पछिल्लो नतिजा पुलिसले स्वर्ण जित्नु भएको क्षेत्रीले बताइन् । उनले आउने दिनमा यो टीमलाई झनै बलियो बनाउने योजना भएको बताइन् ।

‘म जहिले पनि युवा खेलाडीलाई अघि ल्याउनु पर्छ भन्ने मान्यता राख्छु । त्यसैअनुसार अहिले पुलिसको टीम बनेको छ । आफूले सोचे अनुसारको टीम बनेकाले प्रदर्शन पनि उसै अनुसार भइरहेको छ,’ रुविनाले भनिन् ।

रुबिनाले टीम तयार पार्दा नै आफूले युवा खेलाडीहरुलाई समेट्नु पर्नेमा जोड दिएको र सोहीअनुसार हुँदा  सफलता हासिल भएको बताइन् । ‘सुरुमा मैले युवा टोली मागेको थिएँ । पुलिसले टीम दियो । टीम तयार पार्दा धेरै चुनौती थियो । तर, प्रतियोगितामा आएर केही खेल खेल्दा टीम राम्रो अवस्थामा आयो,’ रुविनाले भनिन् ।

तयारीका लागि समय धेरै नभएपनि टीमले गरेको प्रदर्शन हेर्दा आफू धेरै उत्साहित भएको उनले बताइन् । पुलिस एकेडेमीले टीम राम्रो बनाउन सहयोग गरेमा थप सफलता हासिल गर्न सकिने उनको भनाइ छ । उनले नेपाली क्रिकेटमा जहिले पनि पुरानो खेलाडीहरु छन् भन्ने थेगोलाई चिर्न पनि पुलिस टोली तयार भएको बताइन् । पुराना र नयाँ खेलाडीहरुको मिश्रण गरेर टीम तयार पार्दा राम्रो हुने उनले बताइन् ।

‘नेपालमा जहिले पनि पुराना खेलाडीहरु भए भन्ने चर्चा चल्छ । त्यसलाई छिचोलेर पुलिसको टीम तयार भएको छ । पुलिसको टीममा पुराना र नयाँ खेलाडीको मिश्रण छ । विषेश गरेर युवा टोलीको बाहुल्यता छ,’ रुविनाले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप