मङ्गलबार, ०४ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनमोर्चाको गढ मानिएको प्यूठानमा दुर्गा पौडेललाई एमालेको चुनौती कति ?

मङ्गलबार, ०१ कात्तिक २०७९, १७ : ३६
मङ्गलबार, ०१ कात्तिक २०७९

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सत्ता गठबन्धनका तर्फबाट प्यूठानमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेकी छन् । २०७४ को निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनको समर्थनमा सोही क्षेत्रमा उम्मेदवार बनेर निर्वाचित भएकी थिइन् । यस पटक भने उनलाई सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको हो ।

सो क्षेत्रमा नेकपा एमालेले पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । जिल्लामा एमालेको प्रभाव राम्रै रहे पनि उम्मेदवार चयनका विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि चुलिएका कारण एमालेको मत बाँडिने कतिपयको आकलन छ ।

गठबन्धनबाट उम्मेदवार बनेकी पौडेल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमतीसमेत हुन् । २०७४ सालको चुनावमा भारी मतका साथ विजयी उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको साथ पाएर प्रमुख दाबेदारका रुपमा स्थापित भएकी छन् ।

अर्कोतिर एमालेबाट उम्मेदवार बनेका थापा भने केपी शर्मा ओली प्रधानमन्त्री रहँदा प्रेस सल्लाहकारको भूमिकामा थिए । रुखो बोली–व्यवहारका कारण एमालेभित्रकै एउटा पंक्तिले उनलाई रुचाउँदैन भने ओलीसँगको सम्बन्धकै कारण जिल्लाका सिनियर नेतालाई पन्छाएर प्रतिनिधिसभातर्फ उम्मेदवार बनेको भन्दै एमालेका कतिपय पुराना नेता–कार्यकर्ता उनीप्रति असन्तुष्ट देखिन्छन् ।

एमालेबाट मणि थापा र हरि रिजालले प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि दाबी गरेका थिए । थापा प्रत्यक्ष र समानुपातिक कतै समेटिएनन् भने रिजाल प्रदेशसभामा खुम्चिए । थापा र रिजाल दुवैलाई उछिनेर सूर्य थापाले उम्मेदवारी हात पारेपछि एमालेमा असन्तुष्टि बढेको स्थानीय एक नेताले बताए । थापाको बोली र व्यवहारले पार्टीभित्र र बाहिरका मतदाता चिढिने भएकाले त्यसको असर पर्न सक्ने ती नेताको भनाइ छ ।

यसै निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ तर्फबाट गठबन्धनबाट माओवादीका कृष्णकुमार अधिकारी र प्रदेशसभा ‘ख’ बाट कांग्रेसका सरोज थापा (रोज राणा) उम्मेदवार छन् । एमालेबाट भने प्रदेशसभा ‘क’ बाट तुलसीराम शर्मा र प्रदेशसभा ‘ख’ बाट हरिप्रसाद रिजाल उम्मेदवार छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्यूठानका ९ स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतलाई आधार मान्ने हो भने जिल्लामा सत्तारुढ गठबन्धन तुलनात्मक रुपमा एमालेभन्दा बलियो देखिन्छ । यहाँ एमालेको पक्षमा ३८ हजार ५४३ मत खसेको थियो भने गठबन्धनको पक्षमा ५२ हजार ५०३ मत थियो । यद्यपि गठबन्धनको सबै मत पौडेलको पक्षमा खस्छ कि खस्दैन भनेर अहिले नै किटान गर्न सक्ने अवस्था छैन ।

प्यूठानमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले पनि दाबी गरेको थियो । अन्तिममा पौडेल नै गठबन्धनका तर्फबाट उम्मेदवार बनेपछि कांग्रेसका नेता कार्यकर्ता उत्साहित हुन सकेका छैनन् । त्यसैमा प्रदेशसभा ‘ख’बाट रोज राणाले टिकट लिएपछि स्थानीय कांग्रेस नेता कार्यकर्ता चिढिएका छन् । राजनीतिक पृष्ठभूमिका नेताले उम्मेदवारी पाउनुपर्नेमा फिल्म क्षेत्रका व्यक्तिले टिकट हात पारेपछि कांग्रेस एक ढिक्का हुन सकेको छैन ।

तर सत्ता गठबन्धनकी साझा उम्मेदवार पौडेलले चुनावी माहोल आफ्नो पक्षमा भएकाले निर्वाचन जित्ने दाबी गरिन् । ‘अहिले चुनावी प्रचारको दौरानमा गाउँगाउँ पुगेकी छु । चुनावी माहोल हेर्दा राम्रै देखिन्छ,’ उनले भनिन्, ‘गठबन्धन भएकाले सजिलै चुनाव जित्ने आधार देखिन्छ ।’

अघिल्लो निर्वाचनमा प्यूठानबाट निर्वाचित भएपछि आफूले जिल्लाको विकास निर्माण, शिक्षा, स्वास्थ्य र कोरोनाको बेलामा मेडिकल सामग्री उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको चर्चासमेत गरिन् । ‘संसदको सुरुको अवधिमा प्यूठानको विकास र समृद्धिमा राम्रैसँग काम भयो । पछिल्लो अवधिमा केपी ओलीले २÷२ पटक संसद विघटन गरेपछि यो व्यवस्था नै नरहने अवस्था भयो । त्यसपछि प्रतिगमनका विरुद्धको आन्दोलनमा होमिएँ,’ उनले भनिन् । आफू सांसद हुँदा र नहुँदा पनि प्यूठानको समृद्धिका लागि काम गरेको उनको भनाइ छ ।

तर, एमाले उम्मेदवार थापाले गठबन्धनकी साझा उम्मेदवार पौडेलले प्यूठानको विकास निर्माणमा कामै नगरेको आरोप लगाएका छन् । ‘प्यूठानमा एमालेले चुनाव नजितेर कसले जित्छ ? चुनाव जित्ने एमालेले हो, मैले नै हो,’ रातोपाटीसँग कुरा गर्दै थापाले भने, ‘दुर्गाजी निर्वाचित भएर गएपछि प्यूठानको विकास निर्माणमा वरको सिन्को पर लगेर भाँच्नुभएन । त्यो ५ वर्षे कार्यकाल पूरै खेर फाल्नुभयो ।’

प्यूठानको भाग्य र भविष्य फेर्न र जिल्लाको पूरै स्वरुप फेर्न आफू निर्वाचित हुनैपर्ने थापाको भनाइ छ ।

प्यूठानमा यस्तो छ निर्वाचनको इतिहास

प्यूठान राष्ट्रिय जनमोर्चाको प्रभाव भएको जिल्ला हो । त्यसैले पनि गठबन्धनले जनमोर्चालाई प्यूठानमा प्रतिनिधिसभातर्फ सिट दिएको हो ।

यद्यपि, २०४८ सालको संसदीय चुनावमा प्यूठानका दुवै क्षेत्रबाट कांग्रेसका उम्मेदवार विजयी भएका थिए । सो निर्वाचनमा एउटा क्षेत्रबाट कांग्रेसका शिवराज सुवेदी र अर्को क्षेत्रबाट मुक्तिप्रसाद शर्मा विजयी भएका थिए । त्यतिबेला जनमोर्चाले निर्वाचन बहिष्कार गरेको थियो ।

२०५१ सालको चुनावमा प्यूठान–१ बाट कांग्रेसबाट शिवराज सुवेदी र २ बाट नवराज सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।

यस्तै २०५६ सालको चुनावमा प्यूठानको दुवै क्षेत्र जनमोर्चाले जितेको थियो । त्यतिबेला एउटा क्षेत्रमा जनमोर्चाका हरि आचार्य र अर्को क्षेत्रमा जनमोर्चाकै नवराज सुवेदीले चुनाव जितेका थिए ।

२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा माओवादी विजयी भयो । एउटा क्षेत्रबाट दीपकबहादुर केसी र अर्को क्षेत्रबाट नारायणप्रसाद अधिकारी निर्वाचित भएका थिए ।

२०७० सालमा एमालेले जितेको थियो । त्यतिबेला एउटा क्षेत्रबाट वामदेव गौतम र अर्को क्षेत्रबाट हिराबहादुर केसी विजयी भएका थिए ।

२०७४ सालको चुनावमा भने जनमोर्चाले जित हासिल गरेको थियो । त्यतिबेला जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले वाम गठबन्धनको सहयोगमा ४१ हजार ५१४ मत ल्याएर जित हासिल गरिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा गोविन्द पोखरेलले ३१ हजार २८६ मत पाएका थिए ।

त्यतिबेला वाम गठबन्धनबाट प्रदेशसभा ‘क’मा एमालेका हरिप्रसाद रिजाल र प्रदेशसभा‘ख’मा माओवादीका कृष्णध्वज खड्का निर्वाचित भएका थिए ।

स्थानीय तहको यस्तो छ अंकगणित 

प्यूठानका नौ स्थानीय तहमध्ये प्यूठान नगरपालिकाको प्रमुख माओवादीले र उपप्रमुख कांग्रेसले जितेको छ । यस्तै स्वर्गद्वारी नगरपालिका प्रमुख कांग्रेसले र उपप्रमुख जनमोर्चाले जितेको छ ।

ऐरावती गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनमोर्चा, गौमुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीले जितेको छ । झिमरुख गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्ष कांग्रेसले जितेको छ भने मल्लरानी गाउँपालिकाको अध्यक्ष जनमोर्चा र उपाध्यक्ष कांग्रेसले जितेको छ ।

यस्तै, माण्डवी गाउँपालिकाको अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले जितेको छ । नौवाहिनी र सरुमारानी गाउँपालिकाको प्रमुख÷उपप्रमुख दुवै एमालेले जितेको छ ।

प्यूठानका ९ स्थानीय तहका वडा अध्यक्षको मत गणना गर्दा गठबन्धन अघि देखिएको छ । एमालेको पक्षमा ३८ हजार ५४३ मत छ भने गठबन्धनको पक्षमा ५२ हजार ५०३ मत देखिन्छ । एमाले भन्दा गठबन्धनको मत १३ हजार ९६० बढी देखिएको छ । यदि गठबन्धनको सबै मत एकत्रित हुने हो भने प्यूठानमा एमालेलाई चुनाव जित्न कठिन हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप