बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको राजनीतिलाई ओलीले दुर्गन्धित बनाए : घनश्याम भुसाल

मङ्गलबार, ०१ कात्तिक २०७९, १६ : ३६
मङ्गलबार, ०१ कात्तिक २०७९

नेकपा एमालेबाट विद्रोह गरेर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाएका छन् । सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका भुसालले मंगलबार देवदहमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै भने, ‘प्रधामन्त्रीको कुर्सीमा बसेर संसद र संविधानलाई प्रहार गर्ने ओलीले नै नेपालको राजनीति दुर्गन्धित, धमिलो र फोहोर बनाएका हुन् ।’

संसद र संविधानको रक्षाका लागि आफूले पार्टीमा सधैँ संघर्ष गरेको स्मरण गर्दै भुसालले ओलीले अराजनीतिक गतिविधि नगरेको भए मुलुकको राजनीति अहिले अर्कै अवस्थामा पुगिसकेको हुन्थ्यो भन्ने जिकिर गरे । ओलीले पार्टीभित्र व्यक्तिवाद लाद्ने र बाहिर अराजनीतिक गतिविधि गरेका कारण पार्टीमा विभाजन आएको उनको भनाइ छ ।

संविधान निर्माणपछि देश विकास र समृद्धिको दिशामा अघि बढ्न लागेको बेला ओलीले नेपालको राजनीति धमिल्याउने काम गरेको उनको आरोप छ ।

भुसालले आफ्नो उम्मेदवारीले सिङ्गो देशकै ध्यान रुपन्देही–१ मा केन्द्रित भएको पनि चर्चा गरे । रुपन्देही–१ पूर्वाधार विकासमा पछि परेकाले यसको समृद्धिका लागि अब आफूले पहल गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप