बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सप्तरी–२ : चर्चामा उपेन्द्र र सीके, बलिया ठाकुर !

सत्ता गठबन्धन र एमाले– जसपा गठबन्धनबीच दोब्बर मतको फरक
मङ्गलबार, ०१ कात्तिक २०७९, १५ : ३२
मङ्गलबार, ०१ कात्तिक २०७९

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । 

जसपाका अध्यक्ष यादव एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार हुन् भने लोसपाबाट ठाकुर सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार हुन् । जनमत पार्टीका अध्यक्ष राउत भने एक्लै प्रतिस्पर्धामा छन् । 

उपेन्द्र यादवको क्षेत्रमा सीके राउतले उम्मेदवारी दिएकाले यो क्षेत्रको बढी चर्चा भइरहेको छ । लोसपाका उम्मेदवार जेपी ठाकुरको नाम भने ओझेलमा छ । तर सो क्षेत्रमा विगतको मत, स्थानीय तहको मतलाई हिसाब गर्ने हो भने सबैभन्दा बलियो ठाकुर नै देखिन्छन् । दोस्रो स्थानमा उपेन्द्र यादव छन् भने उनीहरूभन्दा धेरै नै पछाडि राउत छन् ।

सप्तरी–२ मा एउटा नगरपालिका र तीनवटा गाउँपालिकाहरू रहेका छन् । १६ वटा वडा रहेको राजविराज नगरपालिका जसपाले जितेको छ भने आठवटा वडा रहेको तिलाठी गाउँपालिका काँग्रेसले जितेको छ । लोसपाले दुईटा गाउँपालिका जितेको छ । सातवटा वडा भएको छिनमस्ता गाउँपालिका र छवटा वडा भएको महादेवा गाउँपालिका लोसपाले जितेको छ । 

सो क्षेत्रमा जम्मा ३७ वटा वडा छन् । त्यहाँको स्थानीय तहको चुनावमा सबभन्दा बढी मत जसपाले प्राप्त गरेको छ भने सबभन्दा कम मत नेकपा एकीकृत समाजवादी पार्टीले प्राप्त गरेको छ । सो क्षेत्रमा १३ वटा वडामा जीतसहित जसपाले १५ हजार ४७८ मत ल्याएको छ भने दुईवटा वडासहित काँग्रेसले १३ हजार ३८५ मत ल्याएको छ । ६ वटा वडासहित लोसपाले १३ हजार ६४८ ल्याउँदा सातवटा वडासहित माओवादीले ७ हजार ७७६, तीनवटा वडासहित एमालेले ३ हजार ७९३, तीनवटा वडासहित जनमत पार्टीले ३ हजार २७१, दुईवटा वडासहित नेकपा (एस) ले दुई हजार १८३ मत ल्याएको छ । 

जसपा–एमाले गठबन्धनको मत जोड्दा १९ हजार २७१ मत मात्र पुग्छ तर सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, काँग्रेस, लोसपा र नेकपा (एस) को मत जोड्दा ३६ हजार ९९२ मत पुग्छ । लगभग जसपा–एमाले गठबन्धनभन्दा दोब्बर बढी मत सत्ता गठबन्धनले स्थानीय तहमा ल्याएको छ । जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनबीच दोब्बर मतले फरक हुँदा पनि जसपाका अध्यक्ष उपेन्द्र यादव भने आफूले नै जित्ने दाबी गरिरहेका छन् । 

२०७४ को प्रतिनिधिसभा चुनावमा सप्तरी–२ बाट नै उपेन्द्र यादव विजयी बनेका । उनले २१ हजार ६२० मत ल्याएका थिए । त्यतिबेला यादवले तत्कालीन राजपा (लोसपा) सँग गठबन्धन गरेका थिए । त्यतिबेला बागी उम्मेदवारी दिएका जेपी ठाकुरले ९ हजार ४५९ मत ल्याएका थिए । माओवादी केन्द्रले सुरुमा आफ्नो उम्मेदवार उठाएको थियो । तर पछि उपेन्द्र यादव र प्रचण्डबीच सहमति हुँदा माओवादी केन्द्रले उमेश यादवलाई उम्मेदवारी फिर्ता लिन लगाएको थियो । तर उनले त्यसलाई अस्वीकार गरेका थिए । 

यादवलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि समर्थन थियो । तैपनि उमेश यादवले ११ हजार ५८० मत ल्याएर दोस्रो भएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रको गठबन्धन थियो ।

भनिन्छ, नेपाली काँग्रेससँग गठबन्धन नभएपनि आन्तरिक रूपमा काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि उपेन्द्र यादवलाई नै सहयोग गरेका थिए । काँग्रेसका कमजोर उम्मेदवार त्यहाँ खडा गरेको त्यहाँका स्थानीय नेताहरू बताउँछन् । काँग्रेसका सकलदेव सुतियारले एकहजार ८४० मत ल्याएका थिए भने नेकपा मालेले एक हजारभन्दा बढी मत ल्याएको थियो ।

जसपाका नेताहरूले भन्छन्, ‘हेर्नुहोला उपेन्द्र यादवले नै जित्नु हुन्छ ।’ उपेन्द्र यादवले पाँच वर्षको अवधिमा सो क्षेत्रमा जति काम गरे त्यति काम विगतमा कहिल्यै पनि नभएको उनीहरूको दाबी छ । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको पूर्वाधार संरचना निर्माण, नर्सिङ कलेज, कृषि विश्व विद्यालय, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत थुप्रै काम भएको जसपाका नेता श्यामकुमार यादवले बताए । 

सडक स्तरोन्नतिमा उपेन्द्र यादवले ऐतिहासिक काम गरेको यादवको भनाई छ । राजविराज लगायत विभिन्न ठाउँमा पक्की सडक निर्माण उनकै पहलमा भएको बताउँदै यादवले अध्यक्ष उपेन्द्र यादवले एक्लै पनि चुनाव जित्ने अवस्थामा रहेको दाबी गरे । 

तर जसपाबाट लोसपामा आएका नेता शम्भु यादव भन्छन्, ‘सत्ता गठबन्धनका साझा उम्मेदवार जेपी ठाकुरको जित सुनिश्चित छ । अहिले नै विजयी घोषणा गरिदिए हुन्छ ।’ उपेन्द्र यादवसँग दोब्बर मतले जेपी ठाकुर जित्ने उनले दाबी गरे । उनले भने, ‘उपेन्द्रजीले अहिले विकास गरेका जेजति नाम लिएर हल्ला गरिरहनु भएको छ, त्यो उहाँको पालामा भएको होइन ।’

उनी सरकारमा आउनुभन्दा पहिले सबैको टेन्डर भइसकेको र उनले शिलान्यास मात्र गरेको नेता शम्भु यादवले दाबी गरे । ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उहाँको कुनै योगदान छैन । बरु मन्त्री भएपछि काममा हस्तक्षेप मात्र गरे । लोसपाका नेता लक्ष्मणलाल कर्ण १८ दिनको लागि मन्त्री भएको बेला सो प्रतिष्ठानका लागि जमिनको लालपुर्जा प्राप्त भएको हो,’ उनले भने । 

प्रतिष्ठानको भवन उपेन्द्र यादव मन्त्री हुनुभन्दा पहिला नै टेन्डर भएको र उनले शिलान्यास मात्र गरेको उनी बताउँछन् । ‘राजविराजमा जति पनि सडकहरू बनेका छन् ती सबै आफू मेयर भएको पालामा भएको हो,’ उनले दाबी गरे ।

यता जनमत पार्टीका नेता सूर्यदेव यादव भने सीके राउतको जित सुनिश्चित रहेको दाबी गर्छन् । उनले भने, ‘यदि सप्तरीका जनता पूर्वाग्रही भएनन् भने सीके राउतको जित सुनिश्चित छ ।’ जनमत पार्टी सप्तरीका इन्चार्ज समेत रही सकेका यादवले सीके राउत बौद्धिक व्यक्तित्व हुनुको साथै उनीसँग विकास र रोजगारका लागि भिजन रहेकाले उनले जित्ने दाबी गरे । काठमाडौँमा बालेन शाह जिते जसरी सीके राउतले पनि जित्ने उनले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप