बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका ५ क्षेत्रमा पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्दै एमालेका उम्मेदवार

मङ्गलबार, ०१ कात्तिक २०७९, १४ : ३७
मङ्गलबार, ०१ कात्तिक २०७९

रुपन्देही । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । एमालेले सत्तारुढ गठबन्धनको सामना गर्न केही सिटमा राप्रपा, जसपा नेपालसँग तालमेल गरेको छ ।

यस क्रममा एमालेले लुम्बिनी प्रदेशका विभिन्न पाँच निर्वाचन क्षेत्रमा आफ्नै पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी अहिले सत्तारुढ गठबन्धनमा आवद्ध छ । सत्तारुढ गठबन्धनभित्र भएको भागबण्डा अनुसार लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादीले पाएको क्षेत्रमा एमालेकै उम्मेदवार मुख्य प्रतिस्पर्धी छन् । त्यस अतिरिक्त २०७४ को निर्वाचनमा एमालेबाटै विजयी भएका केहीले स्वतन्त्र र अन्य दलबाट समेत उम्मेदवारी दिएका छन्, जसले सम्बन्धित क्षेत्रमा एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ लुम्बिनी प्रदेशका २६ सिटमध्ये एमालेले १० सिट जितेको थियो । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएकादेखि लिएर समानुपातिकतर्फबाट प्रतिनिधित्व गरेका, पार्टीका उम्मेदवारलाई जिताउन मुख्य भूमिका निर्वाह गरेकाहरु नै अहिले फरक पार्टीबाट, कोही स्वतन्त्रबाट एमालेकै उम्मेदवारविरुद्ध चुनावी मैदानमा होमिएका छन् । एमालेका लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लोकतन्त्रमा यस्तो परिदृश्यलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् ।

गुल्मी–२ मा विष्ट र झाँक्रीबीच प्रतिस्पर्धा

प्रतिनिधिसभातर्फ गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विस्ट उम्मेदवार छन् । २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

अघिल्लो निर्वाचनमा उनलाई जिताउन भूमिका निर्वाह गरेकी रामकुमारी झाँक्री अहिले सोही क्षेत्रमा सत्तारुढ गठबन्धनको उम्मेदवारका रुपमा मैदानमा उत्रिएकी छन् । उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएकी हुन् ।

एमाले निकट अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदाएकी झाँक्री अघिल्लो निर्वाचनमा एमालेको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादी रोजेकी उनले लामो समय एउटै पार्टीमा रहेर सहकार्य गरेका विस्टसँग चुनावी प्रतिस्पर्धा गर्दैछिन् ।

यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतलाई आधार मान्ने हो भने सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्षका उम्मेदवारहरुले ३१ हजार ५२३ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवारले २९ हजार ८२१ मत पाएका थिए । त्यस्तै माओवादीको १ हजार ८४१, एकीकृत समाजवादीको जम्मा ६५८ मत मात्र छ ।

दाङ–१ : तीन पूर्व सहकर्मी प्रतिस्पर्धामा

प्रतिनिधिसभातर्फ दाङ क्षेत्र नं. १ मा तीन पूर्व सहकर्मी अहिले फरकफरक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो क्षेत्रमा नेकपा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी उम्मेदवार छन् । मेटमणि एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा आएका हुन् । यस बाहेक गङ्गा चौधरी पनि हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी छन् । एमालेले उम्मेदवार नबनाएपछि सो पार्टी त्याग्दै उनी नयाँ दलबाट उम्मेदवार बनेकी हुन् । यसअघि उनी समानुपातिक सूचीबाट सांसद बनेकी थिइन् ।

यी तीनै उम्मेदवार कुनै बेला एउटै दल (एमाले) मा रहेर आपसमा सहकार्य गरेका थिए । अहिले भने यी तीनैले एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत अनुसार यो क्षेत्रमा कांग्रेसको मत २९ हजार ७५७ छ । यस्तै, एमालेको २७ हजार २५, माओवादीको १९ हजार २७६, राप्रपाको २ हजार ३५०, नेकपा एकीकृत समाजवादीको २ हजार ३४१ र जसपाको ८०७ मत छ । यो मत अनुसार दाङ–१ मा एमालेको तुलनामा सत्तारुढ गठबन्धन निकै अगाडि देखिन्छ ।

रुपन्देही–१ मा घनश्याम भुसाल र छविलाल विश्वकर्मा

लामो समय एमालेमा रहेर आपसमा सहकार्य गरेका घनश्याम भुसाल र छविलाल विश्वकर्मा अहिले रुपन्देही क्षेत्र नम्बर १ मा आपसमै प्रतिस्पर्धा गर्दैछन् । एमालेले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्तारुढ गठबन्धनले समर्थन जनाएको छ । विश्वकर्मा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हुन् ।

भुसाल एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बनेका थिए । १०औँ महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवार बनेका उनी पराजित भएपछि स्थायी कमिटी सदस्य थिए ।

भुसाल ०७४ सालको निर्वाचनमा रुपन्देही–३ बाट राप्रपाका दीपक बोहरालाई हराउँदै निर्वाचित भएका थिए । विश्वकर्मा भने क्षेत्र नम्बर १ बाटै निर्वाचित भएका थिए । यो क्षेत्रमा एमालेलाई राप्रपाले साथ दिएको छ । यो क्षेत्रमा देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिकाका केही वडा पर्दछन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतको आधारमा यहाँ कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपा एकीकृत समाजवादीको एक हजार २४३, लोसपाको ३२५ मत छ । भुसालले यस क्षेत्रमा एमालेको समेत केही मत तान्न सक्ने भएकाले यहाँ उनी र विश्वकर्माबीचको प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ ।

पाल्पा–१ मा पाण्डे र गैरे

नेकपा एमालेमा वर्षौंदेखि सँगै काम गरेर पार्टी विभाजनपछि अलग भएका नेतामध्ये पाल्पा–१ मा सोमप्रसाद पाण्डे र ठाकुर गैरे पनि आपसमा प्रतिस्पर्धारत छन् ।

ठाकुर गैरेलाई विद्यार्थी राजनीतिमा प्रोत्साहित गर्ने पाण्डे पटकपटक पाल्पाबाट निर्वाचित भइसकेका छन् । गैरे भने अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै पार्टीमा विभिन्न जिम्मेवारी सम्हालेका नेता हुन्न् ।

नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्षसमेत रहेका पाण्डेको ७ औँ पटक उम्मेदवार बन्दैछन् भने गैरे पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । पाण्डेलाई सत्तारुढ गठबन्धनको समेत साथ छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतका आधारमा जिल्लामा एमाले अगाडि छ । यद्यपि गठबन्धनको मत जोड्ने हो भने यो क्षेत्रमा पाण्डे बलिया देखिन्छन् । स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्ष पदमा उम्मेदवारहरुले यो क्षेत्रबाट ३० हजार ५६६ मत पाएका थिए । यस्तै, कांग्रेसले २९ हजार ३९, माओवादी केन्द्रले ४ हजार ३१३, नेकपा एकीकृत समाजवादीले ४३३, राप्रपाले ३३६ मत पाएको छ ।

रुपन्देही–२ मा विष्णु पौडेल भर्सेस राजु गुरुङ

रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सचिव राजु गुरुङ मैदानमा छन् ।

एमाले उपाध्यक्ष पौडेलले लगातार निर्वाचन जितेको क्षेत्रमा अहिले उनलाई नै कुनै बेला सहयोग गर्दै आएका राजु गुरुङले चुनौती दिएका छन् । उनलाई एमालेको भ्रातृसंगठन अनेरास्ववियुदेखि युवा संघको नेतृत्व गर्दासम्म पौडेलले साथ दिएका थिए ।

विगतका निर्वाचनमा पौडेलले राजुलाई युवा मोर्चाको जिम्मेवारी दिँदै आएका थिए । एमाले पार्टी विभाजनपछि गुरुङ नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेर उनै पौडेललाई चुनौती दिएका छन् । उनलाई सत्ता गठबन्धनको साथ छ ।

स्थानीय तह निर्वाचनको मतलाई हेर्दा यहाँ गठबन्धन बलियो देखिन्छ । यो क्षेत्रका वडामा नेपाली कांग्रेसले ३४ हजार ९५९, एमालेले ३३ हजार १८७, राप्रपाले ३ हजार ९२०, माओवादीले ३ हजार १८८, नेकपा एकीकृत समाजवादीले एक हजार ३८२, जसपाले १८३ मत पाएको थियो ।

यहाँ एमाले, राप्रपा र जसपाको तालमेल छ भने सत्तारुढ ४ दलको साझा उम्मेदवारका रुपमा गुरुङ चुनावी मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप