शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा यज्ञराजको ह्याट्रिक रोक्ने रामहरिको कसरत, दोस्रो पटक ‘ब्याटल ग्राउण्ड’मा

मङ्गलबार, ०१ कात्तिक २०७९, १३ : ११
मङ्गलबार, ०१ कात्तिक २०७९

 एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पूर्वी पहाडी जिल्ला ओखलढुंगामा मंसिर ४ गते हुने निर्वाचनमा रोचक हुने देखिएको छ । जिल्लाबाट २०७० र २०७४ सालमा निर्वाचित भएका एमाले नेता यज्ञराज सुनुवार यो पटक पनि आफ्नो जितलाई निरन्तरता दिँदै ह्याट्रिक गर्ने दाउमा रहेका छन् । तर सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामहरि खतिवडाले सुनुवारको ह्याट्रिक रोक्न सम्पूर्ण सामर्थ्य खर्चिरहेका छन् ।

एमालेका ५० वर्षीय सुनुवार र कांग्रेसका ५२ वर्षीय खतिवडा एकै साल अर्थात २०७० सालको दोस्रो संविधानसभा चुनावमा ओखलढुंगा निर्वाचन क्षेत्र नं. १ र २ बाट निर्वाचित भएर संसद भवन प्रवेश गरेका थिए । तर २०७० पछि जिल्लामा एकमात्र निर्वाचन क्षेत्र कायम भएपछि दुवै नेता एकअर्काका प्रतिस्पर्धी बन्न पुगे । 

जिल्लाका पुराना कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको राजनीतिक विरासत पछ्याउँदै राजनीतिमा होमिएका खतिवडा र अनेरास्ववियुको केन्द्रीय राजनीतिबाट उदाएका सुनुवारबीच मुलुकको राजनीतिक समीकरण फेरिएकाले पनि मंसिरको निर्वाचन निकै प्रतिस्पर्धात्मक र रोचक हुने देखिएको हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जिल्लाका दुवै क्षेत्र नेकपा माओवादीले जितेकोमा २०७० को निर्वाचनमा माओवादीबाट खोसेर १ मा सुनुवार र २ मा खतिवडाले कब्जा जमाएका थिए । तर, मुलुकमा २०७२ मा संविधान जारी भएपछि २०७४ को निर्वाचनमा एउटामात्रै निर्वाचन क्षेत्र कायम हुनपुग्दा सुनुवार र खतिवडा आपसमै आमनेसामने हुन पुगेका हुन् ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट खतिवडाले टिकट नपाएपनि सुनुवारलाई भने एमालेले क्षेत्र नं. १ को उम्मेदवारका रुपमा अघि सारेको थियो । त्यसबेला माओवादी उम्मेदवार केशव राईसँग पराजित सुनुवार २०७० र २०७४ का दुवै निर्वाचनमा भने पराजित हुन परेन ।

दोस्रो पटक २०७० सालमा भएको संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट यज्ञराज विजयी हुँदा क्षेत्र नं. २ बाट कांग्रेसका रामहरि निर्वाचित भएर संसद छिरेका थिए । उनीहरु दुवै जिल्लामा आ–आफ्नो क्षेत्र र समुदायमा पकड राख्नसक्ने नेतामा गनिन्छन् ।

युवा पुस्तामा बढी परिचित सुनुवार र खतिवडा आगामी चुनावमा दोस्रो पटक प्रमुख प्रतिस्पर्धीका रुपमा ‘व्याटल ग्राउण्ड’मा छिरिसकेका छन् । खतिवडा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर २०७४ को बदला लिने तयारीमा छन् भने सुनुवार एमालेबाटै ह्याट्रिक गर्ने कसरतमा छन् । त्यसो त २०७४ को निर्वाचनमा सुनुवार माओवादीसहितको मतबाट विजयी बन्दा खतिवडा कांग्रेस मतदाताका भरमा प्रतिस्पर्धामा होमिएका थिए । तर यसपटक परिस्थिति फेरिएको छ । अघिल्लो निर्वाचनमा सुनुवारलाई जिताउन सारथी बनेको माओवादी यसपटक खतिवडाको पक्षमा पुगेको छ । त्यतिमात्रै होइन, माओवादीसहित एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीको मत समेत यो पटक खतिवडालाई जाने निश्चित भएकाले उनी जित्नेमा ढुक्क देखिन्छन् ।

‘अब ओखलढुंगाको यात्रा उज्यालोतर्फ’ भन्ने मुल प्रतिवद्धतासहित जनतामाझ जान लागेका खतिवडा अबको राजनीति राजनीतिवाद भन्दा पनि विकासवादमा जोड्नुपर्ने बताउछन् ।

‘वितेको ५ बर्षमा राजनीतिक अस्थिरतामात्रै भएन ।  एउटा नेताले अर्को नेतालाई गाली गर्ने संस्कृतिको विकास पनि भएको छ’, उनले भने, ‘हामीले अब राजनीतिलाई विकासतर्फ लानुपर्छ । राजनीतिवाद भन्दा पनि विकासवादतिर हाम्रो ध्यान जानुपर्छ । पार्टी भन्दा पनि समग्र जनताको समृद्धि र उन्नतीको दिशामा अघि बढ्नुपर्छ ।’   

खतिवडाले आफू संविधान सभा सदस्य भएकै बेलामा जिल्लामा लगिएका विकासे योजना समेत पूरा नभएको बताए । त्यसलाई समेत निरन्तरता दिन आफूलाई मतदाताले खोजिरहेको उनको भनाइ छ । 

‘म ७० सालमा निर्वाचित हुँदा लिखु र मोलुङ एकवारको बाटो सुरु गरेँ, त्यसबेला नै दुधकोशी हाइड्रोपावरका लागि ६३५ मेगावाट विद्युत उत्पादन गर्न ३ खर्ब ३३ अर्ब रकम छुट्याउने काम भयो । तर काम अघि बढेन’, खतिवडाले भने, ‘जिल्लाले विकास पनि पाएन, राजनीतिक निकास पनि पाएन ।’ उनले समग्र ओखलढुंगाको समृद्धि र प्रगतिका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै चुनाव हार्दा समेत जनतासँगै हातेमालो गरेकाले जनताले मन पराउने विश्वास व्यक्त गरे ।

 ‘चुनाव हार्दा पनि जनताकै बीचमा रहेँ, बाढीपीडित, आगलागी पीडित, कोभिडका बेला लाखौँ लाख मास्कदेखि सेनिटाइजर गाउँगाउँमा पुर्याउने र बिरामीहरुलाई काठमाडौंसम्म ल्याएर उपचारका लागि भूमिका निर्वाह गरेको छु’, खतिवडाको भनाइ छ ।

त्यसो त एमाले उम्मेदवार सुनुवार पनि आफूलाई मतदाताले विश्वास गर्नेमा ढुक्क छन् । सुनुवार पनि आफूले दोस्रो कार्यकालमा सुरु गरेको योजनाहरुलाई पुरा गर्न जनताले आफूलाई विजयी गराउने बताउँछन् ।  

‘समृद्ध नेपाल सुखी नेपाली, संघ र प्रदेशमा एमालेको स्थिर सरकार’भन्ने नारा अघि सारेर चुनावी मैदानमा होमिएका सुनुवार केन्द्रमा नेताहरुबीच गठबन्धन र चुनावी तालमेल भएपनि  जिल्लामा एमाले उम्मेदवारको जनतासँग तालमेल भएको बताउँछन् । राजनीतिक अस्थिरताकै बीचमा पनि जिल्लामा विकास निर्माणका कामहरु सुरु गरिएको र तिनै विकास निर्माणका काम पुरा गर्न पुन जनताबाट ऐतिहासिक मतान्तरकाबीच अनुमोदित हुन लागेको सुनुवारको भनाइ छ ।

‘भुकम्पले भत्काएका २७ हजार ओखलढुंगे जनताका घर बनेका छन् । ५ हजार भन्दा बढी खरका छाना भएका घर जस्ताका छानामा परिणत भएका छन्’, सुनुवारले भने, ‘४१ वटा विद्यालय अत्याधुनिक भवन र सवै पालिका केन्द्रहरुमा पालिका अस्पतालका लागि बजेट छुट्याएर जनतालाई स्वास्थ्य सेवा दिने प्रयत्न गरेको छु ।’ उनले हिजो सञ्चार नेटवर्क अभाव भएका सवै ठाउँमा नेटवर्क पुर्याएको तथा यही वर्षमात्रै १३ वटा टेलिफोन टावर निर्माण गरेको दावी गरे । ‘अबको ध्यान सडक कालोपत्रे, शैक्षिक गुास्तर, मोलुग र लिखु र दुधकोसीबाट ६५० मेगावाट विद्युत उत्पादन गर्नेमा जानेछ’, सुनुवारको भनाइ छ । 

कस्तो छ हिसाव ?

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडागत मत परिणाम हेर्दा ओखलढुंगामा कांग्रेस अघि छ । कांग्रेसले माओवादीसँग गठबन्धन पनि गरेकाले वडाको भोटमा कांग्रेस अघि देखिएको हो । स्थानीय निर्वाचनमा वडागत मत हेर्दा कांग्रेसको सबभन्दा बढी ३२ हजार २८८ मत आएको देखिन्छ  भने दोस्रोमा एमालेको २९ हजार ५९१ मत छ । तेस्रोमा माओवादी केन्द्रको ६ हजार ९६१ मत देखिँदा जसपाको २ हजार १९४ मत, एकीकृत समाजवादीको ५२१ र राप्रपा नेपालको १४६ मत आएको थियो । 

यो हिसाबमा कांग्रेसको ३२ हजार २८८ माओवादीको ६ हजार ९६१ र नेकपा समाजवादीको ५४१ मत जोड्दा ३९ हजार ७९० मत खतिवडाको पक्षमा जाने देखिन्छ । खतिवडाको टिममा प्रदेश ‘क’तर्फ प्रदीपकुमार सुनुवार र बाबुराम गौतम रहेका छन् । प्रदीप कांग्रेसबाट र बाबुराम माओवादी केन्द्रबाट साझा उम्मेदवार बनेका हुन् । 

त्यस्तै सुनुवारको टिममा प्रदेशतफ ‘क’तर्फ अम्बिरबाबु गुरुङ र खतर्फ ज्ञानबहादुर खड्का ‘जीवी’ उम्मेदवार रहेका छन् । जिल्लामा  प्रतिनिधि सभातर्फ सुनुवार र खतिवडासहित जनता समाजवादी पार्टी नेपालबाट जुद्ध बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट     डिकप्रसाद बास्तोला, नेपाल मजदुर किसान पार्टी  कुमार तामाङ्ग,मंगोल नेशनल अर्गनाइजेसनबाट विर्ज वहादुर थापा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चङिमा लमु शेर्पा र  राष्ट्रिय स्वतन्त्र पार्टीबाट शोभा कार्की प्रतिस्पर्धा गर्दैछन् । प्रतिनिधि सभामा ८ जना उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा भने सुनुवार र खतिवडाबीच नै हुने देखिन्छ ।

५ वर्षअघि के थियो हिसाव ?

मुलुकको राजनीतिक समीकरणमा आएको फेरबदलकैबीच हुन लागेको निर्वाचन परिणाम समग्रमा कस्तो आउला भन्ने जिज्ञासा पैदा भइरहेका बेला अन्य क्षेत्रमा जस्तै ओखलढुंगाको निर्वाचन परिणाम पनि कसको पक्षमा जाने हो भन्ने मतदातामाझ थप चासो बढ्न पुगेको छ । सोही चासोलाई मंसिर ४ को मतदानमार्फत नतिजा आफ्नो पक्षमा पार्ने दुवै उम्मेदवारको प्रयास देखिन्छ ।

५ वर्षअघि अर्थात २०७४ मा एमाले–माओवादी गठबन्धन भएकाले माओवादीको साथ पाएका सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याउँदै विजयको माला पहिरिँदा खतिवडा २७ हजार ३ सय २७ मत पाएर पराजित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप