शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको विकल्पमा बुबा चुनावी ब्याटलमा, लालवीरको स्वतन्त्र उम्मेदवारी कति शक्तिशाली ?

छोराकै उम्मेदवारीको विकल्पका रुपमा बर्दियामा स्वतन्त्र उम्मेदवारी दिएको हुँ : लालवीर
मङ्गलबार, ०१ कात्तिक २०७९, १२ : ४३
मङ्गलबार, ०१ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ को चुनावी माहोल तातिएको छ । सोही निर्वाचन क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पनि उम्मेदवारी दिएका थिए । तर, टीकापुर घटनासम्बन्धी मुद्दाका कारण हाल जेलमा रहेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । 

उनको उम्मेदवारी खारेज भएपनि सोही क्षेत्रमा रेशमका बुबा लालवीर चौधरीको स्वतन्त्र उम्मेदवारी भएकाले उनको पक्षमा कस्तो नतिजा आउला भन्ने चासो देखिन्छ । स्वतन्त्र उम्मेदवारी भएपनि रेशमकै विकल्पमा नागरिक उन्मुक्ति पार्टीले उनलाई अघि सारेको बताइन्छ । उसो त लालवीर पनि आफूलाई सो पार्टीको पूर्ण समर्थन रहेको बताउँछन् । 

यद्यपि क्षेत्र नम्बर २ बाट लालवीरलाई चुनावी नतिजा आफ्नो पक्षमा पार्न भने सहज भने देखिँदैन । बर्दिया २ मा सत्ता गठबन्धन रहेको छ भने एमालेको उपस्थिति पनि बलियो छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रले सुरेश पन्थलाई उम्मेदवार बनाएको छ भने  एमालेले पंकज सिंह राठौरलाई मैदानमा उतारेको छ । 

सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय रावल, नेपाल मजदुर किसान पार्टीका धर्मराज जैसी आचार्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अनिरुध्या आर्य, राष्ट्रिय स्वतन्त्र पार्टीका ओम  प्रकाश बसौला पनि उम्मेदवार छन् । यस्तै लालवीरबाहेक राम प्रसाद आचार्य पनि स्वतन्त्र उम्मेदवार छन् । 

अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका सन्तबहादुर थारु ५ हजार ५५५ मतका साथ विजयी भएका थिए । उनले नेपाली कांग्रेसका गोपाल दहितलाई पराजित गरेका थिए । हालै स्थापित नागरिक उन्मुक्ति पार्टीको स्थानीय तहको मत हेर्दा बर्दिया जिल्लामै बलियो देखिँदैन । सो पार्टीले मेयर–अध्यक्षमा तीन स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको थियो । जसमा गुलरिया नगरपालिकामा ५११, गेरुवा गाउँपालिकामा १६६ र राजापुर नगरपालिका १३४८ मत प्राप्त भएको थियो । यसबाहेक ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, बारबर्दिया नगरपालिका, बासगढी नगरपालिका र  मधुवन नगरपालिका सो पार्टीले प्रमुख पदमा उम्मेदवारी नै दिएको थिएन।  नतिजाअनुसार कांग्रेसले ५ स्थानीय तह तथा एमाले र माओवादीले क्रमशः २ र १ स्थानीय तह जितेका थिए । 

तर, नयाँ अनुहार होइनन् लालवीर

यद्यपि कैलाली, बर्दिया लगायतका जिल्लामा लालवीर चौधरी नयाँ अनुहार होइन । उनको आफ्नै परिचय र छवि छ– सामाजिक अगुवाका रुपमा । तर पछिल्लो राजनीतिक अवस्थाले उनको परिचय फेरिएको छ । पूर्व सांसद रेशमलाल चौधरीका बुबाको रुपमा धेरैले उनलाई चिन्न थालेका छन् । जीवनभरि समाजमा लगाएको उनको गुनलाई यो परिचयले छायामा राखेको छ ।

गाउँघरको समान्य लेखनदासको भूमिकादेखि सुरु गरेको सामाजिक जीवनले उनलाई पछि ३५ मौजा ९गाउँ०को लेखनदास बनायो । २०३६ देखि २०४६ सम्म रानीजमरा कुलो समितिको समिति सचिव हुँदै २०४७ देखि २०७९ सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका उनी थारु कल्याणकारिणी सभा (थाकस)को २०३९ देखि २०४८ क्षेत्रीय सभापति हुँदै केन्द्रीय सदस्य भए । यतिमात्रै होइन, उनी २०५४ देखि २०६० सम्म कैलाली जिल्ला सिंचाइ महासंघको अध्यक्ष हुँदै २०६० देखि २०६८ सम्म सिंचाइ महासंघको केन्द्रीय सदस्य भए । उनै ६६ वर्षीय लालवीर चौधरी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार रहेकाले उनको प्रभाव कति देखिन्छ भन्ने चासो हुने स्वाभाविकै हो । 

उनै लालवीर चौधरीसँग उनको उम्मेदवारीबारे रातोपाटीकर्मी लखन चौधरीले गरेको कुराकानीको सम्पादित अंश :

यो उमेरमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएको छ, कस्तो चल्दैछ चुनावी अभियान ?

आमजनताको साथ र सहयोग एकदमै उत्साहपूर्ण छ । म बर्दियाका लागि नयाँ अनुहार पनि होइन, त्यसैले मेरो उम्मेदवारीदेखि नै आमजनताको साथ सहयोगमा कुनै कमी छैन । उहाँहरुको उत्साहले मलाई नयाँ ऊर्जा मिलेको छ ।

तपाईंको स्थायी घर जानकी गाउँपालिका–६ (साविक दुगौली गाविस ९) जगतपुर, मतदाता पनि कैलाली १ कै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र छोडेर बर्दिया क्षेत्र नं. २ रोज्नुपर्ने अवस्था किन आयो ?

मेरो जन्म दाङमा भएको हो । तर मेरो पढाइलेखाइदेखि पूरै जवानी बर्दियामा बित्यो । बर्दियाको गुलरियामा मेरो अझै पनि घरजग्गा छ । बर्दियामा हाम्रो गोतियार (गोत्र) मात्रै ३ सय घरधुरी छन् । जुनकारण म यहाँको लागि नौलो अनुहार होइन । यहाँको परिवेश, विकासको अवस्थासँग राम्रोसँग भिजेको छु । यहाँको जनताको माया र यस क्षेत्रप्रतिको मेरो लगावका कारण नै मैले बर्दिया रोजेको हुँ ।

अर्कोकुरा, राजनीतिक अधिकार, न्यायका लागि आवाज उठाएकै कारण राज्यबाट प्रताडित, अनाहकमा जेल जीवन बिताउन बाध्य भएको मेरो छोराको न्याय र सुरक्षाको लागि पनि मेरो उम्मेदवारी हो ।

तपाईंका छोरा रेशमलाल चौधरीले बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएको थियो । उहाँको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्‍यो । तपाईंको स्वतन्त्र उम्मेदवारी एक हिसाबले आफ्नै छोरा विरुद्ध थिएन र ?

मेरो उम्मेदवारी छोरो रेशमको विरुद्धमा भन्दा छोराको उम्मेदवारीमा देखिएको कानुनी जटिलतालाई मध्यनजर गरी छोराको विकल्पको रुपमा सल्लाह गरेरै स्वतन्त्र उम्मेदवारी दिएको हुँ । रेशमको उम्मेदवारी सुरक्षित नभएकाले विकल्पमा उम्मेदवारी दिएको हुँ । यसमा नागरिक उन्मुक्ति पार्टीको पूरै समर्थन र सहयोग मलाई छ । म आफै पनि नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सल्लाहकार हो ।

अहिले नागरिक उन्मुक्तिको समर्थन छ भन्दै हुनुहुन्छ तर २०७४ निर्वाचनमा रेशम चौधरी तत्कालीन राजपा नेपालबाट चुनाव लडिरहँदा तपाई प्रदेशसभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार हुनुहुन्थ्यो । तपाईको प्रवृत्ति त बलेको आगो तापेजस्तो भएन र ?

होइन, कदापि होइन । कोही अझै पनि थरुहट आन्दोलन र टीकापुर घटनाबारे अनभिज्ञ छ भने यसका पृष्ठभूमि अध्ययन गर्न अनुरोध गर्न चाहन्छु । २०७४ को निर्वाचनताका रेशम प्रहरीको ‘मोस्ट वान्टेड’को सूचीमा थियो । जतिबेला पनि उसलाई इन्काउन्टर गर्न सकिने अवस्था थियो । त्यसका बाबजुद उम्मेदवारी थियो रेशमको । उसको उम्मेदवारी न्यायका लागि थियो । जनताले उसलाई सहर्ष स्वीकार गरे । आफ्नो नेताको रुपमा छाने ।

त्यसबेला नेकपा प्रमुख राजनीतिक शक्ति थियो । म रेशमको बुबा हो, सन्तानको रक्षा गर्नु अभिभावकको दायित्व हुन्छ । छोराको सुरक्षाका लागि मैले नेकपा एमालेबाट उम्मेदवारी दिएको थिएँ । अर्को कुरा, मेरो प्रवृत्तिको कुरा उठाउनुभयो, वास्तवमा मलाई यहाँ सामाजिक अगुवाको रुपमा चिन्छन् सबैले । न कि, यो वा त्यो दलको मान्छेको रुपमा । राजनीतिक दल माध्यम होला तर मेरो यहाँ आफ्नै छवि पनि छ ।

आखिर तपाईको उम्मेदवारी किन ?

ग्रामीण क्षेत्रको विकास र सेवामा मैले मेरो जीवन समर्पित गरेको छु । कैलालीमा भन्दा बर्दियामा मेरो जीवनको बढी समय बितेको छ । मेरो सामाजिक तथा कार्यक्षेत्र बर्दिया हो । सामान्य गाउँको लेखनदासदेखि ३५ मौजा (गाउँ)को लेखनदास यसै क्षेत्रमा भएँ । सामाजिक संघ संस्थामा रहेर पनि लामो समय सेवा गरेको पनि लुकेको छैन ।

तर राज्यले जहिल्यै पनि थारुसहित उत्पीडित वर्गलाई राजनीतिक अधिकार दिनबाट बञ्चित गरेको छ । अधिकार माग्दा दमन गरेको छ । २०७२ कै कुरा गर्दा संविधान लेखनकै क्रममा राज्यबाट भएको दमन जग जाहेरै छ । दुनियाँले देखेको छ । रेशमसहित राजबन्दी निर्दोष हुँदाहुँदै पनि अनाहकमा जेलमा कोच्ने काम गरेको छ । अधिकार माग्दा यो हदसम्मको महाअन्याय हामीले कहाँसम्म सहने ? जुनकारण मेरो उम्मेदवारी राजनीतिक अधिकार प्राप्तिका लागि हो । न्यायका लागि हो । पहिलो नम्बरमा राजबन्दी रिहाइका लागि हो । दोस्रो नम्बरमा राज्यले दमन गरेको थरुहट आन्दोलनलाई माथि उठाउनलाई हो । तेस्रो नम्बरमा यहाँको वैभवशाली संस्कृति संरक्षणका लागि हो । यहाँको नदी कटान नियन्त्रण, बाढी प्रभावित जनताकाको उत्थानका लागि हो । यहाँकै नमूना सर्वाङ्गीण विकासका लागि हो । ठूला–ठूला राजनीतिक दलभन्दा कसरी पृथक र मौलिक मोडलमा विकास गर्न सकिन्छ भनेर मेरो उम्मेदवारी हो ।

यहाँ हेर्नुस्, जता हेर्‍यो, उता भ्रष्टाचारको गन्ध आउँछ । तर मेरो जीवनकालमा यति धेरै संघ संस्थामा काम गरियो । एउटा पनि मैले गरेको गलत काम देखाइदिनुस् । त्यो देखाउन सक्नु भयो भने म राजनीति नै गर्दिनँ, समाज सेवा गर्दिनँ । २०३६ देखि २०४६ सम्म रानीजमरा कुलो समितिको समिति सचिव हुँदै २०४७ देखि २०७९ सम्म अध्यक्ष भएँ । जुन २७ अर्बको प्रोजेक्ट हो । प्रोजेक्ट सम्पन्न भए अढाइ लाख जनता लाभान्वित हुनेछन् । यो प्रोजेक्ट अन्तर्गत थाइल्याण्ड र इन्डोनिसिया भ्रमणका लागि समितिमार्फत गएका थियौ । यो प्रोजेक्टमा रहँदा मैले कुनै गलत काम गरेको छु भने देखाइदिनुस् ।

आधुनिक टीकापुर सिटी प्लानिङमा पनि मेरो योगदान छ । जुन स्वर्गीय खडकबहादुर सिंह तत्कालीन गृहमन्त्री हुँदा भएको हो । म उहाँको दाहिने हात थिए । टीकापुर विकास समितिमार्फत ३ हजार ३७२ बिगाहा जमिन टीकापुर सिटीको लागि प्लानिङ गर्‍यौं । जुन देशमै नमूना प्लानिङ हो । त्यो बेला मैले आफ्नो व्यक्तिगत स्वार्थको लागि जे पनि गर्न सक्ने अवस्था थियो । जत्ति पनि जमिन स्वामित्वमा लिन सक्थेँ तर मैले कहिल्यै पनि व्यक्तिगत स्वार्थ हेरिनँ । यसरी मैले भन्न खोजेको के हो भने, मेरो उम्मेदवारी राजनीतिक, सामाजिक न्याय र समुन्नत विकासका लागि हो । सुशासनको लागि हो । मौलिक, पृथक विकासको लागि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप