कञ्चनपुरका घरवासमा आउन थाले पाहुना
पछिल्लो समय कञ्चनपुरका घरवासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरवासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरवासमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा घरवास भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताए ।
“कोरोना महामारीले गर्दा दुई वर्ष बन्द नै भए अहिले पाहुना आउन थालेका छन्”, उनले भने, “अहिले त अग्रिम बुकिङ हुने गरेका छन् ।” उनले अहिले पोखरालगायतका ठाउँबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको रोजाइ घरवास हुने गरेको बताए। “होटलमा महँगो र होहल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्छन्”, उनले भने, “अहिले पोखराबाट विद्यार्थीहरू आएका छन्, सबै पाहुनाघर भरिभराउ छन् ।”
अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताए । “कोरोनाले त सुनसान भएको हो अहिले पाहुनाहरू बढ्न थालेका छन्”, उनले भने, “पाहुना आउने समय पनि यही हो ।” विशेषगरी चाडपर्वको बेला र फागुनमा पाहुनाहरू बढी आउने गरेको उनले बताए ।
पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि हुन थालेको रानाले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरवास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आय स्तरमा समेत वृद्धि हुन थालेको चेतरा रानाले बताए । “राना थारू बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ”, उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेका छन् ।”
घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणसँगसँगै प्रचारप्रसारसमेत भएको रानाले बताए । “यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरूले खानाका परिकारदेखि नाचगान देखाउँछौँ”, उनले भने, “यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा समेत टेवा पुगेको छ ।”
पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार विसं २०७५ मा दुई सय ६६ विदेशीले भ्रमण गरेका छन् भने एक सय ९३ जना सार्क मुलुकका नागरिकले भ्रमण गरेका छन् । त्यसैगरी विसं २०७६ मा सार्क मुलुकका तीन सय आठ जनाले भ्रमण गरेका छन् भने तीन सय ५० विदेशीले भ्रमण गरेका छन् । विसं २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ । एक हजार छ सय ५१ विदेशीले भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् । त्यसैगरी २६ हजार तीन सय ८२ स्वदेशीले शुक्लाफाँटा भ्रमण गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताए । “शुक्लाफाँटाको फाँटमा देखिने बाह्रसिङ्गाको झुण्ड पर्यटकको आकर्षण हो”, उनले भने, “यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ ।” शुक्लाफाँटा छेउमै रहेको रानाथारू समुदायको घरवासमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा रानाथारू नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
-
दुर्गा प्रसाईंको ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन : ओली
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन